साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजिनामा

Nepal Telecom ad

खाइपाई आएको स्वाद, भोगी आएको सुख–सुविधा र शान–शौकतलाई सजिलै समाप्त गर्न को चाहन्छ ? मनले नमान्दा नमान्दै वा आफू समाप्त हुन्छु भनेर जान्दा जान्दै पनि कतिपय पदीय व्यक्तिहरूले आफ्रनाे पद छोड्पत्र गरिदिने गरेका छन् । यसरी छोेड्पत्र गरिदिने क्रिया विशेषलाई राजिनामा भन्ने गरिएको छ । राजिनामा नामको छोड्पत्रको अर्थ त राजीखुसी मनोमानीस“ग छोडिएको हुनु पर्ने हो । तर भ्रष्टाचारको बात लगाई घोक्रेठ्याक लागेका हुन् वा दुराचारको आरोपमा गर्धनमा हात लगाई विदा गरिएका हुन, यी सवै खाले मनुवाको पद छोडाइ राजिनामाको कारनामा मार्फत प्रकट भएको पाइन्छ । राजिनामा राजीखुसीले गरिँदै गरिन्न । आफूभन्दा नैतिक, योग्य एवं क्षमतावानको निम्ति पद छोड्ने सिद्धवावाहरू न हिजो थिए न आज छन् न भोलि नै हुने छन् ।

जमाना त धूर्त र लुच्चाहरूको हो । यस्ता धूर्त र लुच्चाहरू खुटृामा टाँसिएका खरीजुका भन्दा कम हुन्नन् । उनीहरूबाट राजिनामाको आस गर्नु भनेको डोकामा दूध दुहुन खोज्नु जस्तै हो । यति हुँदाहुँदै पनि पदवालाहरूद्वारा गरिएका राजिनामाका जानकारी बेला मौकामा सरकारी मिडिया मार्फत पाइने गरेको छ । खसोखास भन्ने हो भने जुनसुकै राजिनामा पनि वास्तविक राजिनामा नभएर धम्कीपत्र पनि बनेको हुन सक्छ । बन्ने र भन्ने जस्तो सुकै भए पनि छोटो मोटो भूमिका बाँधी मैले भन्न खोजेको एउटै कुरो के हो भने आशयका आधारमा वर्गीकरण गर्दा राजिनामा चार किसिमका हुन्छन् ।

नाक जोगाउन गरिने राजिनामा पहिलो किसिमको राजिनामा हो । वद्मासी र बेइमानीको पोल खुली मनुवाले जब आफ्नो नाक भाँचिने स्थिति देख्छ तब ऊ– हतार हतार राजिनामा रुपी खुँडा चलाउँछ । साना मान्छेको नाक सानै हुन्छ र ठूला मान्छेको नाक पनि ठूलै हुन्छ भन्ने कुरा यहाँ उल्लेख गरिरहनु पर्दैन । जति ठूलो नाक छ त्यसलाई जोगाउन पनि उत्तिकै ठूलो करामतको आवश्यकता पर्दछ । काटिन लागेको नाक जोगाउन उनीहरूको निम्ति राजिनामा ठूलै करामत सावित हुन्छ । विजातीय नानीसँग छोराले प्रेम गरी रगडा पर्यो भने नाक जोगाउनका निम्ति वावुआमा छोरासँगको सम्वन्धलाई राजिनामा गरिदिन्छन् । इज्जतदारहरूको इज्जत भन्नु नै नाक हो । नाकको धाक र रवाफ कायम राख्न पनि उनीहरूले राजिनामारुपी औजार चलाउनै पर्दछ । यी सवै कारणले यस किसिमको राजिनामा केवल नाकसँग सम्वन्धित हुने नै भयो । अत यस किसिमको राजिनामालाई नाके राजिनामा भनिदिँदा पनि फरक पर्दैन ।
नाक जोगाउने अर्को उपाय पनि छ, त्यो हो धाक लाउनु । ‘धाकभन्दा धक्कु ठूलो, हिंड्न लाग्यो खुटृा लुलो’ भन्ने उखान नाकसँग सम्वन्धित छ कि राजिनामासँग ? यसको जवाफ उखान विशेषज्ञ, नाक विशेषज्ञ वा राजिनामा विशेषज्ञमध्ये कसैले दिनेनै छ । नाक जोगाउने कर्ममा धाकधक्कुको महत्व र भूमिकालाई कम आँक्न सकिन्न । धाकका पनि अनेकौँ रुप हुन्छन् भन्ने कुुरा यहाँ बिर्सनै हुन्न । आत्म प्रशंसा, प्रवञ्चना, घमण्ड, फुइँ अदि धाकधक्कु कै अनेक रुपहरू हुन् । पदीय कुर्सीमा विराजमान महाशयहरू धाक देखाउन, धाक लाउन वा धाक जमाउन राजिनामा नामको अश्त्र प्रयोग गर्ने गर्दछन् । यो दोश्रो किसिमको राजिनामा हो । पदत्याग गर्ने उद्धेश्यसँग यस किसिमको राजिनामाको कुनै साइनो नाता पर्दैन । ‘म मात्रै यो पदको निम्ति सर्वाधिक योग्य व्यक्ति हुँ’ भन्ने धाक लाउन नै यस खाले राजिनामाको प्रसङ्ग प्रशारित हुने गर्दछ । नाक जोगाउन गरिने राजिनामा भन्दा धाक देखाउन गरिने राजिनामाको गन्ध कडा हुन्छ । तुलनै गर्ने हो भने नाक जोगाउन गरिने राजिनामा भन्दा धाक लाउन गरिने राजिनामा बढ्ता प्रभावकारी एवं असरदार हुनु त्यति अस्वाभाविक होइन र हुन्न पनि ।

मुलुक अहिले अपराधकरणको कब्जामा परेर कक्रक्क भएको छ । अपराध कर्मले नछोएको कुनै क्षेत्र भेटिन्न । तपाइँलाई लाग्न सक्छ, यो लठुवा त राजनीतिक भाषा पो बोल्न थाल्यो । अहँ त्यस्तो हुँदै होइन, राजनीतिक भाषा बोल्ने काम राजनीतिक पार्टीहरूको हो, त्यसमा पनि मौसम पर्नु पर्छ । यहा“ भाषा मात्र होइन, पद पदावली वा शव्द शव्दावली कुनैले पनि राजनीति ओकलेको छैन । जहाँसम्म अपराधकरणको कुरा छ, तपाईं नै भन्नोस् त अपराधकरण कहा“ छैन ? शिक्षण संस्थाहरूमा राजनीतिकरण हुनु के अपराधकरण होइन ? अस्पतालहरूमा राजनीतिकरण हुनु के अपराधकरण होइन ? विकास निर्माणका काममा राजनीतिकरण हुनु के अपराधकरण होइन ? वित्तीय विभागदेखि विधुतीय विभागसम्म, भन्सारको संसारदेखि सरकारी सञ्चारसम्म राजनीतिकरण हुनु के खुल्लमखुल्ला अपराधकरण होइन् ? हत्या–आत्महत्या, कुटपिट र लुटपिट, बलात्कार अपहरण व्याप्त भैरहेको यो मुलुकको वर्तमान अपराधकरणको आहालमा डुवुल्की मारी रहेको छ । सवै कुरा राजनीतिकरणतर्फ र राजनीति स्वयं चाहिँं अपराधकरणतर्फ उन्मुख हुँदै गएपछि मुलुकको हविगत के हुने हो, सजिलै अनुमान लगाउन सकिन्छ ।

यही अपराध कर्ममा बडे–वडे विद्वानदेखि नामी–नामी नेतासम्म निर्लिप्त भएर लागेका छन् । अपराधै त हो, कामनपा (काठमाडौं महानगरपालिका) को फोहर झैं ठस्ठस् गन्हाउन थालिहाल्छ । कानुनी अपराध होस् या गैरकानुनी, अपराध अपराधै हो । अनि गन्हाउँदै बाहिर निस्कन थालेपछि अपराधकर्ममा सरिक पदीय आशनाधीश बाबुहरू त्यसलाई छोप्ने उदेश्यले राजिनामा रुपी खास्टो ओडाउन तम्सन्छन् । बस् तेस्रो थरी राजिनामाको मार्मिक मर्म नै यही हो । अर्थात अपराधको घैंटो नफुटोस् वा अपराधको कुइगन्ध गन्ध बाहिर ननिस्कियोस् भन्ने उद्धेश्यले गरिने राजिनामा तेस्रो किसिमको राजिनामा हो । यस किसिमको राजिनामा पनि हाल विघ्नै चल्तीमा चलिरहेको छ ।

चौथो किसिमको राजिनामा अथवा भाँडभैलो मच्चाउन गरिने राजिनामाको अरु सवै राजिनामा भन्दा अलि भिन्दै प्रकृति छ । यस खाले राजिनामाले संघ–संस्था, संघ–संगठनदेखि माथिका दल–दल विशेषका पनि उपल्लो तहसम्म खैलाबैला ल्याउने गरेको पाइन्छ । कहीं कतै कसैसँग रिस् उठ्यो, कसैलाई उचाल्नु पर्यो या कसैलाई खसाल्नु पर्यो, कसैको पत्ता साफ पार्नु पर्यो या कसैको प्रतिष्ठालाई कवाफ बनाएर चपाउनु पर्यो भने फुत्त एउटाले टिमुर्किएर राजिनामा रुपी डण्डा तेस्र्याइ हाल्छ । डण्डाको अगिल्तिर झण्डा त झुक्नु पर्छ, झुकिरहेको छ भने अरुको त के दैया ! बस् शुरु हुन्छ त्यहाँ भाँडभैलो, थाह हुन्न कता जस्केलो कता दैलो । जो जताबाट पायो उतैबाट हाम्फालेर बाहिर निस्कने तथा जो जताबाट हुन्छ हाइजम्प गरेर भित्र छिर्ने गज्जबको कम्पिटिसन चल्छ त्यहा“ । एउटा जाबोको मामुली एक राजिनामाले यस्तो उपद्रो, उखपात, उधुम र उत्पात मच्चाइ दिन्छ, सा“च्चै हजुर मच्याइरहेको छ । भाँडभैलो मच्चाउन गरिने यसखाले राजिनामाको विशेषतै यही हो । यस किसिमको राजिनामा केवल घुर्की देखाउनका निम्ति मात्रै प्रस्तुत गर्ने गरिएको हुन्छ ।

उपरोक्त चार किसिमका राजिनामाका अतिरिक्त सानो–तिनो मात्रामा अंशदेखि वंशसम्म, नातापातादेखि सार्वजनिक जग्गाको हातासम्म साटृसुटृ गरिदिने सम्मका रहल–पहल राजिनामाहरू पर्दछन् खैर यसको बेलिविस्तार तर्फ अहिले नलागौँ । मन्त्री महोदय ! तपाईंले पनि भर्खरै आफ्नो पदबाट राजिनामा दिनु भयो, कृपया माथि उल्लेख गरिएका मध्ये तपाइँको राजिनामा कुनचाहिँ कोटीको राजिनामा अन्तरगत पर्यो, जनता–जनार्दनलाई बताइ दिनुहुन्थ्यो कि !!
साउन, ०५३
भाँडभैलो भाद्रको गाईजात्रे अङ्कबाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x