साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चोरबाटो

Nepal Telecom ad

सामान्य मानिसहरूले नहिँड्ने तर लुकेर काम गर्नेले हिँड्ने बाटोलाई चोरबाटो भनिन्छ । मेरी हजुरआमाले म सानो छँदा भन्नुभएको थियो । अब यो कुरा पुरानो भइसकेको छ । उहिलेका कुरा खुइले, अबका कुरा फैले । मेरी हजुरआमा पुरानो नेपालको मान्छे, म नयाँ नेपालमा छु । नयाँ नेपालमा आइपुग्दा धेरै कुरा बदलिइसकेको छ । कुराले बाघ मृग भइसकेको छ र गधा नुहाएर गाई बनिसकेको छ । गोरु ब्याएर मानिसहरूले दूध खाइसकेका छन् । बदलिने क्रममा चोरबाटो पनि मूलबाटो भइसकेको छ । कसरी ? स्पष्टीकरण दे भनेर तपाइँ मेरो घाँटी अँठ्याउन सक्नुहुन्छ तर गाँठी कुरा चाहिँ यही हो है । पत्याउनु भएन भने आउनुहोस् केही चोरबाटाहरू मूलबाटा बनेको दृष्टान्त सुनाउँछु ।

म्याद सकिएको प्रतिनिधिसभाको पुनस्थापना भयो, कुन बाटोबाट ? अघिल्लो निर्वाचनमा एकजना पनि सांसद नभएको दलको सांसद पाँच दर्जन भन्दा माथि, कुन बाटो थियो त्यो ? मुलकमा चौधौँ हजार मानिसहरू मारिए तर कतै कसैलाई दोषी भन्न सकिएन, कुन बाटोबाट उम्किए उनीहरू ? राज्यले मानिसहरूलाई बेपत्ता पार्छ कि बेपत्ता भएकालाई खोजी गर्छ ? हामीकहाँ बेपत्ता भएका छन् । कुन बाटोबाट बेपत्ता भए आठसय भन्दा बढी मानिसहरू ? अचेल गाउँ र नगरपालिकामा जनप्रतिनिधि छैनन् । शुण्डमुसुण्डहरूले भागशान्ति गरेर बजेट हजम बनाउने गरेका छन्, कुन बाटोबाट ? कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेर एकताका उडाउँथे तर अचेल कहीँ नभएको तमाशा नेपालमा हुने गरेको छ ।

एउटा हात्ती पाल्न धेरै गाह्रो छ भन्ने भाषण तपाइँ हामीले कति सुन्यौं तर अहिले ६०१ हात्ती एउटै हात्तीसारमा छन्, फाटफुटे हात्तीहरूको लर्को कति छ, आयोग र नियोगको नाममा हसुर्ने हात्ती कति छन् ? हिसाब खुट्याउन तपाइँ हाम्रो तालुबाट पसिना चुहिन सक्छ । कहाँबाट आए यस्ता भातमारा हात्तीहरू ? एक वर्षका लागि भनेर म्याण्डेट पाएकाहरूले तीन वर्षको म्याद आफैं थपेर ढुकुटी चाटे कुन बाटोबाट ? जो हार्दछ ऊ जित्दछ, जो जित्दछ ऊ हार्दछ । यो जीतको हार र हारको जीत कुन बाटोबाट भयो होला ? बाँदरहरू देशभरि नाचेका छन्, उनीहरूको ताल सुर अचम्मको छ । तपाइँँ हामी नजिक बसेर जति मादल ठोकूँ, जति हार्मोनियम वा तबला बजाउँ , उनीहरू अर्कै ताल र सुरमा नाचिरहेका छन् । त्यो ताल र सुर आयो कहाँबाट ? अदृश्य छन् मदारीहरू तर पनि गजबको चाल छ ।

कुन बाटोबाट बाँदरहरूले चाल र ताल पाएका होलान् ? अरू देशका स्यालहरू यहाँ छिरेर बाघ भन्नेहरूलाई उठबस गराउँछन्, कुन बाटोबाट सम्भव भएको होला ? जातजातिको नाममा राज्य माग भन्दै विदेशीे डलरले दम दिएको देख्नु भएको छ ? कुन बाटोबाट ? जातीय सद्भावको मझेरिमा साम्प्रदायिकताको आगो आयो, कहाँबाट ? झिकी दे गाँड भन्दा थपि दे गाँड भन्ने विशेष टोलीहरू यहाँ भित्रिएका छन् । उहीले उहिले एक दुई हतियार यहाँ छिरेको सुनिन्थ्यो तर अचेल छ्याछ्याप्ती हतियार पसेर जीवनलाई गिज्याउने गरेको छ । कहाँबाट आए ती हतियार र मतियारहरू ? एकता आज अनेकता भएको छ । एकीकरणका नायक खलनायक बनेका छन् । त्यसकारण अचेल चोरहरू निडर भइसकेका छन् । घर लुट्ने चोरहरू गाडी लिएर आउँछन्, बच्चा अपहरण गर्नेहरू कार, ट्याक्सी लिएर आउँछन्, देश लुट्नेहरू झण्डासहित लावालस्कर लिएर आउँछन् । चोरहरू चौतारीमा साधुहरू शूलीमा, दुख र चिन्ताजति सोझासाझाको कपालमा, हेर्नुस् त अजबगजब छ नेपालमा ।

अब त मित्रहरू हो ! चोरबाटो मूलबाटो भएको छ र मूलबाटो हुतिहारा जनताका रगतको टाटो । मेरो तर्कमा सहमति नजनाउने कोही हुनुहुन्छ त ?

धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x