सुलसुलेअविरल जन साहित्य यात्रामा कवि कणाद
राष्ट्रिय जन सांस्कृतिक महासङ्घ, बागबजारको सभाकक्षमा ‘अविरल जन साहित्य यात्रा–१२’ सम्पन्न भयो । हरेक महिनाको दोस्रो शुक्रवार राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले कार्यक्रमको सञ्चालन गर्दै उक्त विशेष समारोहका नायक वरिष्ठ प्रगतिवादी कवि कणाद महिर्षलाई मञ्चमा आसन ग्रहणका लागि अनुरोध गर्नु भयो ।
कवि कणादलाई कविता वाचनमा सहयोग गर्ने कविहरू प्रा.केशव सुवेदी, कविकी जीवन सङ्गिनी मीना मिश्र, अनिल पौडेल, लिखत पाण्डे, गोपालकुमार मैनाली, आत्माराम शर्मा र प्रेमराज सिलवाल अनि टिप्पणीकारका रूपमा सहप्रा.डा.नारायण गड्तौलालाई पनि मञ्चमा हुनुहुन्थ्यो ।
समारोहमा प्रा.डा महादेव अवस्थी, प्रा.डा.कृष्णप्रसाद घिमिरे, वरिष्ठ कवि एवम् प्राज्ञ पूर्ण विराम, प्राज्ञ सानु पहाडी, उच्च प्रशासक लक्ष्मी निरौला जन साहित्यिक मञ्च नेपालका अध्यक्ष राम विनय अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।
राष्ट्रिय जन सांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राईले स्वागत गरेपछि कणाद महर्षिलाई माला तथा टीका लगाएर सम्मान गरिएको थियो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गरियो ।
जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले वरिष्ठ प्रगतिवादी कवि, साहित्यकार कणाद महर्षिको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नु भयो । उहाँले कवि कणाद २०२२ सालदेखि साहित्य यात्रामा समर्पित हुनु भएको र अविच्छिन्न रूपमा साधनारत रहनु भएको, उहाँको कलम निरङ्कुश पञ्चायती कालको २०३० को दशकमा बढी सक्रिय रहेको बताउनु भयो ।
कवि कणाद महर्षिले आफ्नो साहित्य यात्राको थालनीका बारेमा जानकारी गराउँदैै आफूलाई ‘अविरल जन साहित्य यात्रा–१२’ उपस्थित भएर आफ्ना रचना सुनाउने अवसर जुटाइ दिने आयोजकका प्रति आभार व्यक्त गर्नु भयो । ‘यात्राको आरम्भ’ (२०३४ सालमा लेखिएको), ‘त्यो नितान्तमा’, ‘दुईआत्माको अन्त्यपछि (राजा महेन्द्रको र एउटा सामान्य मान्छेको मृत्युमा देखिएको विभेद चित्रित)’, ‘प्रति उत्तर’, ‘आएको थिएँ’ र ‘चुड्की’ शीर्षकका कविता कणाद स्वयमले वाचन गर्नु भयो ।
त्यसै गरी उहाँलाई साथ दिने कविहरू प्रा.केशव सुवेदीले ‘उठाएर नटुक्र्याऊ’, अनिल पौडेलले ‘खर्पनसँग ज्यापू’, लिखत पाण्डेले ‘निब, कवि र कविता’, गोपालकुमार मैनालीले ‘खै हाम्रो दौरा सुवाल ?(२०२२ सालमा लेखिएको), आत्माराम शर्माले ‘जेठको धुपमा एक बेकारी’, प्रेमराज सिलवालले ‘शोक सन्तप्त आँगनमा’(सुखानीमा मारिएका सहिदका प्रति सम्मान गर्दै लेखिएको) र मीना मिश्रले तिन ओटा छोटा कविता वाचन गर्नु भएको थियो ।
वाचित कवितामाथि सहप्रा.डा.नारायण गड्तौलाले टिप्पणी गर्नु हुँदै कविताको मुख्य मर्म भनेको आस्वादन हो, त्यो यथार्थ पनि हुन्छ तर समीक्षा विज्ञानसँग नजिक हुन्छ । यहाँ सुनेका भरमा गरिएको समालोचना चाहिँ प्रभावपरक समालोचना हो भन्नु भयो । उहाँले हजारौँका रगतमा बगेका आँसु, हाँसो, रोदन, छट्पटीलाई कविले काव्यिक बान्की प्रदान गरी अभिव्यक्त गर्दछन् । यस्तै प्रतिच्छायाँ कणादका कवितामा पाउन सकिन्छ भन्ने धारणा राख्नु भयो ।
उपस्थित सबै साहित्यकारहरूलाई धन्यवाद सहित सभाध्यक्षको अनुमतिले विशेष समारोहको समापन गर्दै जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले सहभागी सबै स्रष्टाहरूप्रति आभार व्यक्त गर्नुभयो ।
आगा यात्रामा प्रखर स्रष्टा नमुना शर्मालाई प्रस्तुत गरिने भएको छ ।
– रमेश पोखरेल
Subscribe
Login
0 Comments
Oldest












































