चट्याङ मास्टरहास्यव्यङ्ग्य र नेता
जसले जे भनोस्, देशमा नेता त चाहिन्छ चाहिन्छ
जता जसको जे बिग्रिए पनि–
त्यसैलाई दोष लगाउन त पाइन्छ ।
सप्पै नेता देशद्रोही र जनतामारा छैनन्
जाबो उनान्सय दसमलव उनान्सय प्रतिसत नेताहरूले गर्दा
बाँकी धेरै सज्जन नेताहरू पनि बदनाम भएका छन् ।
नेताको बदनामीमा तपाईं किन रमाउनु हुन्छ ?
तपाईंको प्रतिनिधित्व उसैले गर्ने हो,
उसको इज्जत जाँदा तपाईंको चै के बाँकी नै रहन्छ ?
हास्यव्यङ्ग्य लेख्ने भन्यो कि सोझै नेतालाई नै ताक्नु हुन्छ
यत्रो भयो नेतालाई सराप्न थालेको,
नेतालाई सराप्दा सराप्दा तपाई कहिले थाक्नु हुन्छ ?
दिनका दिन जाँदा जाँदा थकाइ लाग्यो भनेर कसैले चर्पी जान छोडेको छ र ?
त्यस्तै हो, नेतालाई सराप्दा आफूलाई पनि दिक्क लाग्छ र अरुलाई पनि
त्यसो भन्दैमा नेतालाई सराप्न छोड्नु पर्छ र ?
आखिर सराप्नु त छ छ
नसरापे हास्यव्यङ्ग्य कसरी हुन्छ ?
अनि नेता बाहेक कसलाई चै सराप्नु ?
तपाईं हास्यव्यङ्ग्यको प्रिय पाठक हुनु भयो, तपाईलाई के सराप्नु ?
म हास्यव्यङ्ग्य लेख्ने नै भएँ, मैले मैलाई के सराप्नु ?
बाँकी रह्यो त्यै बिचरो नेता, त्यसलाई नसरापे कसलाई चैं सराप्नु ?
छिमेकी सधियारलाई सराप्दा सराप्दा मेरो आधा जिन्दगी गयो
बाँकी जीवन अरु काममा लगाउन ईश्वरसँग वरदान मागेँ–
‘हे ईश्वर यसलाई सराप्ने कामबाट फुर्सद पाउँ
मेरो सट्टा देशभरिका सबैबाट यसैलाई सराप्ने काम गराइ पाउँ’
ईश्वरले ‘तथास्तु’ भन्नु भयो
भोलिपल्ट त मेरो छिमेकी मन्त्रीमण्डल मै पर्नु भयो !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































