तारा पराजुलीकविताको पोस्टमार्टम
हिजो
मैले रोपेका गुनकेसरी
आज तिम्रो फूलबारीमा कसरी फुले ?
सुगन्ध खोज्ने लहडमै
रगताम्मे हातहरू छाम्दै
थुप्रै पटक
डम्फर र अररी काँडासँग कर्कस बोलेको छु म ।
मेलै सर्दैनथ्यो
र पनि खनेको छु
खदेरीमा बाँझो बारी
आगोबाट आगो छुट्ट्याउँदै
तौली तौली लिएको छु
शब्द भनेर आगाका थुँगाहरू
यस्तै मेसोमा
बिसौँ पटक मेटेको छु
लेखेर जिन्दगीलाई ।
लेख्दा लेख्दै कलम रित्तिएपछि
भरेँ आफ्नै रगतको मसी
र उभ्याएँ रहरका रङ्गीन अनुच्छेदहरू ।
आफ्नै थालमा
वेफुर्सद व्यञ्जनहरू पस्किएर
टारेको छु असङ्ख्य भोका छाकहरू
विपनाका चम्किला बिहानहरू
सपनाको रङ्गीन दुनियाँ
सबै भुलेर हिँडेको छु
अक्षरहरूको गाउँ ।
हरेक उत्सवहरूमा
मझेरीबाटै हिँड्छ हतारको बिहान
पर परबाट आउँछ पश्चिमी हावा
हाँस्छ मेरै पारामा
रुन्छ मेरै पारामा
हातमा फोटोकपी मेसिन बोकेर
मेरो सगरमाथाको नक्कल गर्छ
मेरो गाम्भीर्यता अलि भिन्नै छ
किन बुझ्दैन उसले ?
चारो खाँदै गरेका चल्लाहरू चिलले झम्टे झैँ
उ आक्रामक छ यसबेला
बोल्दा बोल्दैको आवाज टिप्न खोज्छ
जीर्ण पौवाजस्तो भत्किएको विश्वास बोकेर
कस्तो मानचित्र कोर्दैछ ऊ ?
क्रुर सिकारीले गुँड भत्काई दिएपछि
अलमलिएका बचेरा झैँ
अन्योल छन् मेरा नानीहरू
हेर्दाहेर्दै अगेनामा माउ अगुल्टो हराउँछ
छिमेकी रिसाउँछ भनौँ भने
नभनौँ त ऊ मेरो आङको घाम टिपेर
आफ्नो आँगनमा थरीथरी बिस्कुन फिँजाउँछ
मैले देख्ने गरि बार्दलीमा लुगा सुकाउँछ
हिजोआज त
उसको अगेनाको आगो समेत
दुरुस्तै मेरी छोरीको आवाजमा भर्भराउँछ ।
तिमीले सोचेभन्दा पनि
अझै विशाल छ मेरो फैलावट
सक्छौ भने लैजाऊ यो पनि
मसँग अझै सुन्दर लाग्ने
आगोको फूलबारी बाँकी नै छ ।
मोरङ
Subscribe
Login
0 Comments
Oldest







































