साइबर अपराध सम्बन्धी सचेतना सामग्री

डाक्टरसाबको डायरी

Nepal Telecom ad

पि.एच.डी गरेको होस् या एम्.वि.वि.एस् गरेको होस्, डाक्टर भनेका साह्रै विशिष्ट मान्छे हुन् । खुस्किन लागेको मान्छेलाई बचाउने कार्यमा खुद डाक्टरको भूमिका हुनसम्मको हुने गरेको छ। हाम्रो जस्तो रोग्याहा मुलुकमा औषधिको मूल्यभन्दा डाक्टरसा’वको शुल्क महँगो भएर के भो त, कमसेकम डाक्टरहरूको संख्या अभिवृद्धि हुनु स्वागतयोग्य प्रसङ्ग हो । डाक्टर उत्पादन गर्ने एकदुई कार्खाना स्वदेशमै पनि छन्। स्वदेशका हुन् या विदेशका यी कार्खानाहरू तपाईं हामीले आँकेभन्दा अतिशय बढ्ता मह“गा छन् । एउटा काँचो मान्छे कार्खानामा प्रवेश गरेर एउटा डाक्टरमा अवतरित हुँदासम्म मामुली पनि आठ दशलाख गाँठ गुमाउनु पर्छ । गाँठ पनि गुमाउन र वेकुफ पनि बन्न कोही चाहँदैन । त्यति बिघ्न गाँठ खर्च गरेर डाक्टर बनिसके पछि डाक्टर स्वयम् गाँठचर हुनु अस्वाभाविक हुँदै होइन् । के र कसो गर्दा गाँठ झर्छ, त्यो र त्यसैमा डाक्टर लम्पसार पर्छ । यस्ता कुरालाई अन्यथाको कोटीमा राखेर तपाईं हामीले टाउको दुखाउनु पनि हुँदैन । टाउको दुखेपछि त डाक्टरकोमा पुग्नु परिहाल्यो । अनि खटक्क सय रुपैयाँ फिस बुझाए पछि तीन रुपैयाँको औषधी किन्न डाक्टरसा’व सानदारस“ग प्रेस्काइभ गर्छ ।

यो मुलुकको रोग, रोगी नेता, नेताका रुग्ण विचार र व्यवहार देखेर यो लखरठ्याकलाई औधी वाकवाकी लागेर आयो । टाउको घनले हाने भन्दा बढ्ता टन्टनाएर दुख्न थाल्यो । शरीरको तापक्रम एकदमै बढ्यो । लौ के पो हुन लाग्यो भनी अत्तालिएको लखरठ्याकलाई उसकी रामप्यारीले दौडाउँदै वीरअस्पताल पुर्याइन् । पहिलेदेखि जानपहिचान र निकटस्थ सम्बन्ध भएका डा.एम.जेडको ड्युटी समय थियो त्यो तर उनी त्यहाँ थिएनन् । उनी कहाँ छन् त भनी सोधनी गर्दा पत्तो पाइयो– त्यताबाट हाजिरी बजाएर उताको प्राइभेट नर्सिङ होमतर्फ रमाना भएका रहेछन् । लखरठ्याकले सोच्यो जता पुगेको भए पनि पूर्व चिरपरिचित डा.लाई नै भेट्नु जाती । त्यताबाट ऊ पनि उतै लाग्यो । फलाना नर्सिङहोममा पाँच जना रोगीको जाँचकार्य सम्पन्न गरी डा. एम.जेड्. चिलाना क्लिनिकतिर हिंडिसकेछन् । लखरठ्याक निरास भएन, ऊ फेरि छोटो बाटो चिलाना क्लिनिकतिर दौडियो । हाँप र झाँप गर्दै क्लिनिकमा पुगेको लखरठ्याकलाई छोरी भन्न सुहाउने अर्ध–नर्स नानीले डाक्टसा’व आइपुग्न अझै आधा घण्टा पर्खिनु पर्ने जानकारी दिइन् । डा. एम. जेड्.को ड्यूटी बीचैको अर्को नर्सिङहोममा पनि रहेछ । लखरठ्याक क्लिनिकको प्रतिक्षालयमा राखिएको आरामदायी शोफामा बसेर डा. एम.जेड्.को प्रतीक्षा गर्न थाल्यो । टि–टेबलमा केही पत्रपत्रिका, एक दुई कागजपत्रसँगै एउटा डायरी फेला पर्यो । त्यहीं बसेर कफी पिई हतारमा निस्कँदा डाक्टरको हातको डायरी त्यहाँ छुटेछ । ऊ डायरीका पाना पल्टाएर पढ्न थाल्यो ।

डाक्टरको डायरीमा उल्लेखित केही सन्दर्भहरू तथा टिपोटहरूले लखरठ्याकको दिमागमा बेपत्तासंग झड्का हान्यो। टनटनाएर दुःखिरहेको टाउकोमा झड्का हानेपछि झन् के भयो होला तपाईं आझैं अन्दाज गर्नसक्नु हुन्छ । अन्दाज गर्न सजिलो होस् भनेर यहाँ त्यो डायरीका केही अंशहरू प्रस्तुत गरिएको छ ।

१६ सेप्टेम्बर १९९९
आज एउटा अभागी प्यासेन्ट अप्रेशन थिएटर भित्रै म¥यो । मैले होइन उसका आफन्तहरूले उसलाई बचाउन सकेनन् । जाबो छत्तीस हज्जार रुपैंयाको कुरा थियो । त्यति पनि समयमा जम्मा गर्न नसकेपछि मान्छे मर्दैन त ? उसलाई अप्रेसन थिएटरभित्र हुलिसकेपछि अप्रेसनको प्रारम्भिक तयारी हुँदाहुँदै मैले जानकारी पाएँ– उसको अप्रेसन चार्ज कलेक्सन भएको छैन । मैले आफ्नो काम स्पष्ट गरें र बाहिर निस्किएँ । बाहिरपट्टि उसका जहान छोराछोरी सुँकसुँकाइ रहेका थिए । त्यो सुँकसुँकाइले मान्छे बचाउन सकिन्नथ्यो, मेरो नर्सिङहोमले उसलाई बचाउन उसले नर्सिङहोमलाई रु. छत्तीस हजार उपलब्ध गराउनुपथ्र्यो । त्यसमा ढिलाई हुनु नै उसको मृत्युको मूल कारण थियो । पैसा नहुने कङ्गाल मान्छे विरामी किन हुन्छन् कुन्नि ? अनि त्यस्ता विरामी नर्सिङहोममा किन आउँछन् ? मान्छेको चालढाल देख्ता त त्यति कङ्गाल होला जस्तो लागेको थिएन। खैर ऊ मरिसक्यो । त्यस्ताहरू मर्छन्, मरिरहेछन् ।…

२७ सेम्टेम्बर १९९९
ढिस्काना क्लिनिकमा आज डा. जे.एम.सँग झ्वाट्ट भेट भयो । उनी अमेरिकाबाट रिटर्न भएको यतिका दिनसम्म पनि मसँग भेट भएको थिएन । सरकारी खर्चमा पाँच वर्ष अमेरिका बसी फर्किएको डा. जे.एस. राम्रो डाक्टर बनेर आएको छ । सोचाई र विचारमा पनि निकै परिवर्तित भएछ ऊ । उता जाने बेलामा उसले भनेको कुरा मेरो मनमा गढिरहेको छ । उसले भनेथ्यो– राज्यको लगानीमा म सर्जक बन्नजाँदैछु, सर्जक बनेर आएपछि राज्यलाई मैले पनि सेवा समर्पण गर्नैपर्दछ । फर्केर आएको दुई हप्ता मै ऊ प्रशस्त गाँठ आउने गैरसरकारी प्रोजेक्टमा ज्वाइन भएछ । ऊ भित्रको यसखाले परिवर्तनले मलाई खुसी तुल्यायो । स्वास्थ्य सम्बन्धी त्यो गैरसरकारी प्रोजेक्ट निकै गाँ‘ठवाला प्रोजेक्ट हो । डा.जे.एस्. जस्तो मेरो लगौंटीयायार त्यहाँ पुगेपछि मलाई समेत फाइदा कसो नहोला ? ऊसंगको सम्बन्ध र सम्पर्कलाई मैले निकै महत्व दिने विचार गरेको छु । हेरौं अगाडि के हुन्छ ¹ ……….

११ अक्टोवर १९९९
बिरामीलाई देशबाहिरका अस्पत्तालहरूमा पठाउन रिफर गरे वापत उताबाट प्राप्त हुने कमिसनको पहिलो किस्ता आज हात पर्यो । तीन चार वटा नर्सिङहोम र क्लिनिकमा दौडधुप गर्दा प्राप्त हुने गरेको मासिक आम्दानी जति त दुई चार वटा केसलाई बाहिर रिफर गरिदिंदैमा पो हुने रहेछ । सेवाका नाममा प्राप्त हुने यस्तो मेवा मलाई साह्रै मनपर्छ । यहीं आफूले उपचार गर्दा आठ दश हजारमा चित्त बुझाउनु पर्ने नन्कम्लिकेटेड केशहरू पनि बाहिर रिफर गरिदियो, तीन चार गुना गुनिएर र दुनिएर आउँछ । आखिर यो पनि उपचार र आर्जनको नयाँ प्रविधि सावित भयो ।…..

१३ अक्टोबर १९९९
….यता केही दिनदेखि मेरो मनमा एउटा प्रश्नले लगातार घोचिरहेछ– यो लिखिरलिखिरमा म किन दौडिरहेछु ? एकै चोटी र एकै पटकमा दुईचार पुस्तालाई पुग्ने कमाउन के गर्नुपर्दछ ? डा. हुँ तर पैसा नभए म पनि बाँच्दिन ।

डा. के.एल. को वर्तमान स्वास्थ्य मन्त्रीसँग राम्रो हिमचिम छ । ऊमार्फत् एउटा आठ दश वर्षे परियोजना स्वीकृत गराउन पाए त्यही परियोजना एउटा दुहुनु गाई हुने थियो । यही प्रयोजनका निम्ति एउटा प्रपोजल तयार पारें । सब तयार भयो र डा. के.एल. लाई हिजो बेलुकी डिनरका निम्ति आफ्नै घरमा बोलाएँ । ऊ आयो पनि । साले ऊ पनि चोरमाथिको चकार न पर्यो । फिप्टी फिप्टी गर्ने हो भने त म तुरुन्तै स्वीकृत गराउ“छु पो भन्यो । लौ भैगयो, स्वीकृत गरा त भनिदिएको छु । प्रपोजल लिएर गएको छ ।…..

यसरी एक मन चित्त लगाएर डाक्टरको डायरी पढिरहेको लखरठ्याकलाई हस्याङ्फस्याङ गर्दै क्लिनिक आइपुगेको डा. एम.जेड्.ले एकैछिन् नियालेर हेर्यो । उसले बाजले चल्ला गाँजेको शैलीमा लखरठ्याकको हातको डाएरी गाँज्यो र राम्रैसँग धम्क्यायो– नहेर्नु हेरिस् साथी नै परिस् भैगो तर एक्सपोज गरिस् भने तलाईं कहिल्यै नब्युँझने इथर सुँघाइदिन्छु बुझिस् ? सुपरिचित डा. एम.जेङ, उसको डायरीमा उल्लेखित प्रसङ्ग र उसको यो धम्की सबै संझदा संझदै लखरठ्याकको टनटनाउँदै गरेको टाउको त बिस्तारै निगुरमुन्टी न भयो । वेहोस् प्रायः भएर त्यहीं सोफामा ऊ घुर्लुप्प लड्यो । अर्धनर्श नानी र डा. एम.जेड्ले मुस्किलले उठाएर उसलाई पल्लो कोठाको वेडमा सुताएछन् । उसको उपचार प्रारम्भ भयो । होस खुलेको छैन । यो कतिको कम्लिकेटेड केस हो तपाईं सजिलै अनुमान गर्न सक्नुहुन्छ । तर डा. एम.जेड्.ले उसलाई पनि भेलोर वा कुनै अस्पताल रिफर गरिदिए भने कदापि अनौठो मान्नु मनासिव हुनेछैन ।

(कृपया यसमा प्रयुक्त नाम–नामेसी विलकुल परिकल्पित हुन् । कसैको नामसँग ठ्याक्क मिल्न गए यो संयोग मात्र हुनेछ । आफ्नो शिप र दक्षता पैसामा समर्पण नगरी मानवीय सेवामा समर्पित डाक्टरहरूप्रति भने सादर क्षमा–याचना सहित ।)
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x