सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुई चम्चा सहमति

Nepal Telecom ad

वास्तवमा कब्जियतका कारण सहमति हुन नसकेको हो । हाम्रो प्रधानमन्त्रीसहित सत्तापक्षका सबै नेताहरूलाई कडा कब्जियत छ। यसको सही उपचार नभएसम्म कसरी सहमति हुन्छ ?

संविधान निर्माणको सिलसिलामा मुख्य दलहरूबीच सहमति नहुनुको कारणमा कसैको ध्यान नगएकोमा मेरो छिमेकी तर्बा अर्थात् कविराज जुजुमान असाध्यै चिन्तित छन् । नब्बे नाघिसकेका वयोवृद्ध तर्बा प्रसिद्ध आयुर्वेदीय चिकित्सक हुन् । अचेल गणबहालको पुस्तैनी पसलबाट अवकाश लिएर घरमा बसेका । दुई छोराहरू (एक एलोपेथिक डाक्टर) ले औषधिको कामधन्धा राम्ररी नै हेरिरहेका छन् ।
\’तारेमान तर्बा ।\’

\’तारेमान।\’

\’कस्तो हुनुहुन्छ ?\’ मेरो औपचारिक प्रश्न ।

\’ठिकै छ, बाबु ।\’ उनको सहज उत्तर ।

\’तपाईंको स्वास्थ्य राम्रै छ, तर्बा ?\’ बूढो कायामा आँखा लगेर।

\’एउटा चिकित्सकलाई के हुन्छ बाबु ?\’ उनको क्षीण स्वर, \’बरु यो देशको राजनीति राम्रो भइरहेको छैन।\’

\’कहिले पो राम्रो भएको छ र तर्बा ?\’ यो भन्न खोजेको, तर म चुप ।

\’हाम्रो देशको राजनीतिको अवस्था ठीक छैन बाबु ।\’ तर्बाको देश तथा राजनीतिप्रतिको निजी चिन्ता जारी । टोलभरिकै तर्बा (नेपाल भाषामा ठूलो बा) वयोवृद्ध कविराज जुजुमान कुनै बखत राजनीतिमा लागेका थिए । सायद पुरानो ऐतिहासिक पार्टी नेपाल प्रजा परिषदमा। पछि पुस्तौं-पुस्तादेखि चलिरहेको वैद्यगिरिमा लाग्नुपरेकोले अलग भए। त्यसपछि उनलाई राजनीतिमा कुनै अभिरुचि भएन। अहिले जीवनको यो (अन्तिम जस्तो) बेलामा उनीभित्रको पुरानो राजनीतिले एकाएक फणा उचालेको छ। तसर्थ भेटपिच्छे हामीसँग कुनै न कुनै राजनीतिको प्रसंग झिकिहाल्छन्।

उदाहरणार्थ

१. यो देशको राजनीतिलाई के भएको हो बाबु ?

२. यसरी पनि देशको राजनीति चल्छ त ?

३. हाम्रा नेताहरूले राजनीति नै गरिरहेका छैनन्।

४. के यही राजनीति हो ?

५. यो राजनीतिको काइदा नै होइन।

६. राजनीति विचार पुर्‍याएर पो गर्नुपर्छ।

७. राजनीतिमा जे पायो, त्यो गर्न पाइँदैन।

केही दिनदेखि म तर्बालाई घरको छतमा घाम तापेर अखबार पढिरहेको देख्थें। (देखिरहेको छु)। एकदमै तन्मयताको भावमा। उनी अखबार पढ्दा-पढ्दै एक्कासी रोकिन्छन्। अखबार तल राखेर दुवै आँखा चिम्लन्छन्। -सम्भवतः चिन्तन-मननमा)। अनि फेरि अखबार टिपेर पढ्न थाल्छन्। यसरी अखबार पढ्दा तर्बा घरिघरि गरिरहन्छन् याने अध्ययन…आँखा बन्द…चिन्तन…पुनः अध्ययन…।

कविराज जुजुमानको कान्छो छोरो डाक्टर मोतीमान मेरा मित्र हुन्। केटाकेटी बेलादेखिको टोलेसाथी। सँगै स्कुल, कलेज पढेको। मोतीमान भन्छन्, केही दिनदेखि बुबाको ध्यान टेलिभिजनमा पनि गएको छ। एकनासले समाचार सुनिरहनु हुन्छ। उही-उही समाचार। पटक-पटक। अलिकति पनि अल्छी मान्नुहुन्न। हामीसँग पनि कुरा गर्दा राजनीतिकै गर्नुहुन्छ। पहिले बुबा राजनीतिबाट परहेज गर्नुहुन्थ्यो। र हामीलाई पनि सकेसम्म राजनीतिबाट टाढा रहने सल्लाह दिनुहुन्थ्यो। कुन्नि, अहिले किन यसरी राजनीतितर्फ आकषिर्त हुनुभएको हो ! हामी सबै (परिवारका) आश्चर्यचकित छौं। यस्तो त कहिल्यै भएको थिएन। के भएको हो यो?

मेरो तर्बा जुजुमान अर्थात् डाक्टर मोतीमानको घरमा बराबर आइजाइ भइरहन्छ।

\’बाबु, सबै सहमति-सहमति भनिरहेका छन्।\’ एकदिन आफ्नो बैठक कोठामा उनले मलाई भने, \’तर सहमति नभएको कारणबारे कसैलाई केही थाहा छैन।\’

\’के हो कारण तर्बा?\’

\’अब म तिमीलाई के भनुँ बाबु ?\’

\’होइन, होइन भन्नोस् तर्बा।\’ मैले जोड गरें।

\’तिमी जस्तो नयाँ जमानाको केटोलाई मेरो भनाइमा विश्वास हुने छैन।\’ उनी गम्भीर भए, \’तर मुख्य कारण यही हो।\’

\’त्यही त, के हो मुख्य कारण ?\’

\’हेर, सबै एक स्वरमा शासकीय स्वरुप, न्याय प्रणाली, राजनीतिक पुनःसंरचना, निर्वाचन पद्धति आदि केके भनिरहेका छन्, तर मूल कुरो अर्थोक नै छ।\’

\’बाबु, निकै सोचविचारपछि मलाई के लागेको छ भने वास्तवमा कब्जियतका कारण सहमति हुन नसकेको हो।\’ मलाई चकित मुद्रामा चुपचाप पाएर उनले थपे, \’यसको सही उपचार नभएसम्म कसरी सहमति हुन्छ बाबु?\’

\’के कुराकानी भइरहेको छ?\’ मेरो साथी डाक्टर मोतीमान बैठक कोठामा पस्यो।

\’तर्बा गजबको कुरो गरिरहनुभएको छ।\’ मैले उसतिर टाउको घुमाएँ।

\’राजनीतिको कुरो होला, होइन ?\’ ऊ सोफामा टुसुक्क बस्यो।

\’अहिलेको सम्पूर्ण राजनीतिक असहमति कब्जियतले गर्दा भएको हो भन्नुहुन्छ तर्बा।\’

\’अचेल बुबा यस्तै-यस्तै कुरा गर्नुहुन्छ।\’ डाक्टर मोतीमानलाई यो निको लागिरहेको थिएन। \’तिमीहरू जेसुकै भन।\’ तर्बाले आफ्नै सुरमा भने, \’मैले टेलिभिजनमा बारम्बार आइरहने नेताहरूलाई हेरेर के थाहा पाएँ भने हाम्रो प्रधानमन्त्रीसहित सत्तापक्षका सबै नेताहरूलाई कडा कब्जियत छ।

\’अनि विरोधी पक्षका नेताहरूलाई नि?\’ उनी बोल्दाबोल्दै सहसा रोकिएकाले मैले सोधें।

उनले मेरो प्रश्नको जवाफमा केही भन्ने प्रयत्न गरेनन्। किनभने दुवै आँखा चिम्लेर चिन्तन-मनन गरिरहेका थिए। अचानक आँखा खोलेर तर्बाले भने, \’हाम्रा सबै नेताहरूका अवस्था उही हो। कुनै अन्तर छैन। सबैलाई लामो समयदेखिको कब्जियत छ। त्यसैले यिनीहरूले वार्तामा बस्ने एक दिनअघि मनतातो पानीमा दुई चम्चा त्रिफला लिनुपर्छ। यसको विकल्पमा इसबगोल भुसी नभएको होइन। तर हर्राे, बर्राे र अमलाको योग त्रिफलाचूर्ण नै सबभन्दा उत्तम हो। यसको सेवनले कब्जा निवारण हुनेछ। अनि वार्तामा बस्दा फाइदा हुन्छ। दुई चम्चाले सजिलै सहमति हुनेछ।\’

\’दुई चम्चा सहमति…।\’ मेरो स्वर लर्बराइरहेको थियो।

\’हो, दुई चम्चा त्रिफलाचूर्ण नलिएसम्म कुनै पनि किसिमको सहमति हुने छाँटकाँट देखिँदैन।\’ तर्बा आफ्नो भनाइमा अडिग थिए, \’हाम्रो पसलमा परम्परादेखि चलिआएको असली त्रिफलाचूर्ण उपलब्ध छ।\’

\’बुबा, तपाई आराम गर्नोस्।\’ डाक्टर मोतीसम्म अप्ठ्यारो अनुहार बनाएर उभिए।

र मतिर दाहिने आँखा झिम्क्याएर भने, \’हामीलाई एउटा जरुरी काम भएकोले चिंकमुगलसम्म जानु छ। अबेर भइसक्यो। बुबाको पनि केही बेर पल्टिने समय हो यो। हामी जाँदैछौं बुबा।\’

त्यसपछि तर्बा अर्थात् वयोवृद्ध कविराज जुजुमानलाई त्यहीं छाडेर हामी बैठक कोठाबाट बाहिरियौं।
कान्तिपुर दैनिक

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा