अनिल कोइरालागर्नुपर्ने कुरो
काठमाडौँमा ‘किराना पसल’ धेरै छन् कि ‘बैङ्क’ भनेर कसैले प्रश्न पछा¥यो भने शायद सत्र प्रतिशतले ‘किराना पसल’, सतहत्तर प्रतिशतले ‘बैङ्क’ र बाँकीले ‘भन्न सकिन्न’ भन्ने उत्तर बजार्लान् । त्यस्तै मत सर्भेक्षण ‘किराना पसल’ र ‘कलेज’का बिचमा गरियो भने पक्कै पनि ‘कलेज’ले ‘किराना पसल’लाई ८७–१३ को भारी अन्तरले उछिन्ला ।
भौतिक संरचना ध्वस्त भएको, फोहोरै फोहोरले ढकमक्क ढाकेको, हत्या र हिंसाले गाँजेको, अनि मित्रराष्ट्रले बेलाबेलामा सिमाना मिच्दा खुम्चिँदै आएको हाम्रोजस्तो सुन्दर, शान्त र विशाल देशमा सर्वोत्कृष्ट बिजनेस बन्न सफल बैङ्क, अस्पताल र कलेजहरू खुलेको देख्दा त अबको दुई–चार वर्षमा घरघरमा अस्पताल, फ्ल्याट फ्ल्याटमा कलेज अनि कोठा कोठामा बैङ्क हुनेछ भनेर भन्न कुनै गब्बर जब्बरसँग डराउनु पर्दैन । यो हाम्रो देशले मारेको अग्रगामी छलाङ हो । देश गरीब भएपनि जनता गरीब नभएको प्रमाण हो । पैसो मोरो त कति कति ! भएभरका बैङ्कले बोनस बाँड्ने । जुन कलेज र अस्पताल सबैभन्दा महङ्गो छ त्यसैमा ठेलमठेल हुने । त्यै भएर अचेल सरकारी अस्पतालमा पैसो हुनेहरू जानै छाडे भने प्रविणता प्रमाणपत्र तहमा भुसुना पनि हुन छाडे । त्यसैले त खारेज गर्दिएको ।
कि त टेलिभिजन च्यानल खोल्यो, कि त हस्पिटल एण्ड रिसर्च सेन्टर खोल्यो, कि त बैङ्कमा लगानी ग¥यो, कि त कलेज खोल्यो । क्या मज्जा । समाजमा इज्जत, मान प्रतिष्ठा पनि हुने र कतैबाट झुक्किएर अँध्यारो किसिमको धन आइलागेको रहेछ भने पनि स्वतः उज्यालो हुने । लगानी गर्दिए भो । जति भन्यो त्यतिमा काम गर्दिने बेरोजगारहरू हातमा सर्टिफिकेट लिएर हल्लिरहेकै छन् । गाह्रो कुरो भएन । दिनभरी घुँडा धस्ने एकथरी, उपरखुट्टी लाएर बस्ने अर्काथरी । घाँटी ठ्याप्प पार्ने एकथरी, मुठो झ्याप्प पार्ने अर्काथरी । एकथरीका पसिना खलल, अर्काथरी गाडीमा सलल ।
नाङ्गो आँखाले दृष्टिगोचर गर्दा जे जस्तो देखिएपनि बाङ्गो आँखाले हेर्ने हो भने अरु काम भन्दा कलेज खोल्ने काम चैँ गतिलै देखिन्छ फेरि । सयौँले रोजगारी पनि पाउने, कैयौँले गतिलो शिक्षा पनि पाउने । गुणस्तरीय शिक्षा क्या ! स्तरीय खालको गुण भएको । विद्यार्थीको गुण पनि देखिनसक्नुको अनि फेरि पाठ्यक्रमको गुण पनि कस्तो भने बर्षौंसम्म परिमार्जन गर्नै नपर्ने खालको जस्तो । क्या गजब ! पढाउनेको टाउको पनि नदुख्ने, पढ्नेको दिमाग पनि नतात्ने । बर्षौंदेखिको एउटै नोट दनादन लेखाइदिए सिध्दियो । पढ्ने त बिद्यार्थीले हो, टिचरलाई के स्वाद ! लटरपटर पढाइदियो, बिद्यार्थी खत्तम छन् भन्दियो खेलै खत्तम । बुझ्नेले बुझिहाल्छन् नबुझ्नेले कि त घोक्दिन्छन् कि त परिक्षामा खल्तिभरि बोक्दिन्छन् भैहाल्यो । आखिर हेर्ने त रिजल्ट न हो ! आफ्नो कापी आफैँले जाँचेपनि फेल हुने बिद्यार्थीले डिस्टिङ्सन ल्याएर देखाइदिन्छ तैँ चुप मैँ चुप । त्यसैले अब त बिद्यार्थीलाई गाली गर्नुपनि बेकार छ । नपढेपनि ल्याइदिन्छ नम्बर, ख्वाइदिन्छ लोप्पा के भो र ! परिक्षण केन्द्रमा गएर एकैदिनमा गन्नै समेत नसकिने गरी कापी काट्ने महान शिक्षकज्यूहरू हुँदैहुनुहुन्छ, त्यस्ता जाबा नम्बर त बिद्यार्थी चारछक पर्नेगरी आउँछ । सत्तरी नम्बरको मात्र उत्तर लेखेको बिद्यार्थीले पचहत्तर ल्याइदिएपछि कसको के लाग्यो र !
अन्तर्राष्ट्रिय मान्यता अनुसार धेरै बिद्यार्थी फेल हुनुहुँदैन रे ! त्यै नीतिले हाम्रो देशमा पनि पास हुने बिद्यार्थीको प्रतिशत बढेको बढ्यै छ । मेरो बिचारमा त अझ परिक्षा नै नलिए कसो होला ? लुरुलुरु पढायो खुरुखुरु कक्षा चढायो । शतप्रतिशत पास । पढेपछि किन फेल हुने त ? अझ सिधै भन्नुपर्दा पैसा तिरेपछि किन फेल हुने ? त्यसो भयो भने सबैलाई हाइसञ्चो । बोर्डफस्टलाई किन्नु पनि परेन, गतिला टिचरलाई चिन्नु पनि परेन । शिक्षकले पढाउने कुरो जान्नु पनि परेन, बिद्यार्थीलाई थप्पड हान्नु पनि परेन । बिद्यार्थीले नबुझी नबुझी घोक्नु पनि परेन, परिक्षामा गड्डिका गड्डि बोक्नु पनि परेन । कुनैदिन संविधान बनिहाल्यो भने नयाँ नेपालको नयाँ संविधानमा यो सबको व्यवस्था गर्दिए हुन्छ । हुन त कानुन र संविधान बने पनि के ! नबने पनि के ! त्यस्ता जाबा कानुनलाई कसैले टेरपुच्छर लगाउने भए पो !
अब त यस्तो कलेज खोल्नुपर्छ जहाँ स्नातक पाँचौवर्षमा अध्ययनरत शिक्षक–शिक्षिकाले पढाउने, महिला–दलीत–जनजातीहरूको अधिकार संरक्षण गरेजस्तो क्षमता नभएपनि उत्पीडीत वेरोजगारहरूले समेत रोजगार पाउने, लडकाहरूले कुण्डल झुण्ड्याउन पनि पाउने, कपाल पाल्न पनि पाउने, लडकीहरूले कपडा फाल्न पनि पाउने, दिनहुँ नयाँ अनुहारलाई अँगालो हाल्न पनि पाउने । मानवअधिकार र स्वतन्त्रताको उत्कृष्ट नमुना पेश गर्ने खालको क्या ! बस ! सारा बिद्यार्थीका प्यारा बा–आमाले टाइममा फि तिर्दिए पुग्यो । त्यति भए शिक्षक–शिक्षिकाहरूको मन पनि हररर…, लगानीकर्ताहरू पनि चिल्ला गाडीमा सररर…, अभिभावकहरूको पनि खुसिका आँसु धररर…। सम्बन्धित निकायको ध्यान जाओस् । नयाँ नेपाल त्यसै बन्दैन, केही नयाँ त गर्नैपर्छ ।
फुरौला सङ्ग्रह २०६७
Subscribe
Login
0 Comments
Oldest







































