डा. दामाेदर पुडासैनी किशाेरबाको फोन !
बाबु !
यतातिर त
धरती काँप्न नि रोकिएन
आकाश गड्गडाउन नि रोकिएन
भुइँचालो नि हाम्रैतिर सर्यो भन्छन्
खै, यो बर्खा काटे त हिउँद आउँदो हो …
सहस्र प्रहार खेपेर
इस्पात बनेका बाको आवाज
किन काँपिरहेछ फोनमा ?
भुइँचालो पछि गाउँ जाँदा त ठिकै थिए बा,
भन्दै थे–
केही थान पानी कागज
र दुइचार पोका चाउचाउ–बिस्कुट लिएर
एक हुल ठिटा ठिटी
छिल्लिँदै आका’थे फोटो खिच्न यतातिर
तिमेरुको सहरा’ट !
भन्दिएँ भन्थे–
के जात्रा हँसाको ?
जाने नै भए जानु नि माथिहुँदो गाउँमा
जहाँ नभत्केको केही छैन
यता त,
मात्र घर–गोठ न हो भत्केका
राखन–धारन न हो पुरिएको
मध्ये दिनमा आयो भुइँचालो
चरनले जोगिए प्राय बस्तुभाउ
मेला पातले बँचायो मान्छे
गाउँ जति नै भत्के नि
मन त भत्केको छैन नि !
सम्झें,
ठुलीआमा एक्लैथिन् भत्केको घरमा
बारीकै कान्लामा थिन् माइलीआमा
आँगनहुँदो थे दाजुभाइहरु
गाउँ कतै थिएन घरमा
घर कतै थिएन गाउँमा
बारीमै छन् कि गोठ सरे होलान् कुन्नि घरहरू ?
धाँजा फाटेको छ भन्थे गाउँ माथिको पाटो
कतै पैरो त चलेन ?
उर्लेको छ भन्थे मर्स्याङ्दी
कुनै अनिष्ट त गरेन ?
भन्न त सबै ठिक छ भन्थे बा,
उनी त पीडा लुकाएर पहाड उभिने मान्छे
मृत्यु जितेर जीवन जिउने मान्छे
झिना मसिना बिपत्तिमा त नआत्तिनु पर्ने
किन काँप्यो होला हँ बाको आवाज फोनमा ?
बा,
बिचारको सिरानी हालेर
झण्डा पूजा गर्ने मान्छे
आफ्नै झण्डाले गरेको बदमासी
कसरी सुने होलान् रेडियोमा ?
कति भत्क्यो होला त्यो सम्चारले भत्कन बाँकी मन
नत्र, सानो तोडले काँप्ने मान्छे हैनन् मेरा बा
किन काँपिरहेछ हँ बा को आवाज फोनमा ?
पोखरा
Subscribe
Login
0 Comments
Oldest





































