साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शुद्ध लेख्न सिकाउनेहरू नामै अशुद्ध लेख्छन् !

Nepal Telecom ad

२०३१ सालको कुरा हो । काठमाडौँबाट आदमघाट पुग्नका लागि ‘विद्यार्थी परिचय–पत्र’ हुनेहरूले साढे चार रुपियाँ तिरे पुग्थ्यो । बाले ५ रुपियाँ पठाइदिनुभएको थियो । नरदेवीमा डेरा थियो । काठमाडौँ भीमसेनस्थानको बाटो भएर घरतिर लागेँ । बाटामा लङ्गुरबुर्जेहरू जताततै थिए । सुरथमा यसो एक सुका थापिहेरेको त तेब्बर थपिएर आयो । चार सुकाको एक रुपियाँ भइहाल्यो । साइत परेकै रहेछ भन्ठानेँ । जितेको तीन सुका छउन्जेल खेल्नै प¥यो नि ! एकै चोटि एक रुपियाँ राखेँ, इट्टामा । खाइदिए । दुई रुपियाँ राखेँ । त्यो पनि पचाए । बाँकी तीन रूपियाँ थापेँ । मजस्तै आशावादी अभागीहरू अरू पनि थिए । एक जनाले त बीस रुपियाँ नै थापेका थिए । लगभग सय रुपियाँ झरेको थियो । अब त कसो नपर्ला ! भनेर जुँगाको रेखी सुमसुम्याएँ । थोरै पैसा मेरै दाउमा थियो । तिनले झेल गर्दा पनि मैले जित्नुपर्ने !

अलि पर तिनै लङ्गुरबुर्जेका लङ्गुरेहरू बसेका रहेछन्, कराए–“पुलिस वल !” एक जना पैसा मुठ्याएर गल्लीतिर भाग्यो । चार–पाँच जना त्यसकै पछुवा भए । बाँकी रहेको डाँकू ओछ्याएको टालो च्यापेर टाप कस्यो । हामी हेरेको हेर्यै !

गइएन घर । सातै जना दिदी–बहिनी भेला भएछन् । भाइ आउला ! टिको लाउँला ! अपराह्नसम्म मेरै बाटो हेरेर बसेछन् । आफू चाहिँ माथिदिदीको डेरातिर धाइयो । उधारो टिको लाइयो ।

नेपाली भाषाको वर्ण–विन्यास–सम्बन्धी गोष्ठीहरू पनि ठ्याक्कै लङ्गुरबुर्जे शैलीमा सम्पन्न भएका छन् । सहभागीलाई एक थरी कार्यपत्र सुनाइन्छ । तिनलाई प्रतिक्रिया दिन पनि लगाइन्छ । सहभागी अभागीहरू चिच्याउँछन् । तर्क तेस्र्याउँछन् । प्रमाणको माड बगाउँछन् । जलपान गर्छन् र फर्कन्छन् । उता आयोजकको आँखामा पट्टी बाँधिदिएर दुई–चार जना प्रायोजित पण्डितहरूले प्रायोजित निर्णय प्रचार गर्छन् । कार्यपत्रको आशय र सहभागीको इच्छाका विपरीत आफ्नै अभीष्ट पोस्छन् ।

तिनै पण्डितहरू सोह्र सराधका बाहुन डुलेझैँ दशतिर डुल्छन् । आफ्नै पुराण पल्टाउँछन् । व्यास, वाल्मीकि आदि महर्षिको उपहास गर्छन् ।

पद तिनका लागि शस्त्र हो । शस्त्र–बल लगाएर शास्त्र–बललाई च्वाट्टै काटिदिन्छन् । सोच्दै नसोची झ्वाट्टै निर्णय दिन्छन् । असजिलो जति हटाउने ! असजिलो अरू कसैलाई भएको हुँदैन । तिनले नजानेका कुरा जति सबै व्याकरण–विरुद्ध मानिन्छन् ।

अक्षरका छाती चिर्नेदेखि शब्दका घाँटी रेट्नेसम्मका अपराधहरू तिनका लागि क्षम्य छन् । तिनलाई नेपाली अक्षर हटाउँदा नेपाली देवी–देवता रिसाउँछन् भन्ने कुरामा कुनै चासो छैन । कसैले अकाट्य तर्क तेस्र्यायो भने भनिदिन्छन्–वर्ण–विन्यास व्याकरण नै होइन, ढर्रा मात्रै हो ।

तिनले जे–जे बोले पनि हुने, जे–जे गरे पनि हुने ? बिचराहरूलाई आफ्नै नाम र थर पनि लेख्न नसकेर पर्नुसम्मको पिरलो पनि परेको छ । वर्णविन्यासका नाइके हुन चाहने तारानाथ शर्मा ताना सर्मा बने । हेमाङ्गराज अधिकारी क्रमशः हेमाङ्गराज अधिकारी हुँदै हेमाङ्ग राज अधिकारीमा आइपुगेका छन् । आफ्नै नाउँको बलि दिएर भए पनि यिनलाई अहङ्कार जोगाउनु छ । हुँदा–हुँदा माधवप्रसाद पोखरेलले समेत आफ्नो पुरुष–सूचक प्रसादलाई छुटाएरै छोडे । २०६५ देखि उनी माधव प्रसाद पोखरेल भएका छन् । टंकप्रसाद न्यौपाने टङ्कप्रसाद न्यौपाने भएका छन् । बद्रीविशाल भट्टराई अचेल बद्री विशाल भट्टराई हुन पाउँदा दङ्ग छन् । जिउँदो नेपाली भाषालाई ‘जिम्दो नेपालि भासा’ बनाउन्जेल शिवराज आफू चाहिँ शिवराजै थिए । रङ्ग न ढङ्गका नियम बनाउँदै हिँड्ने शिवराज आचार्य सिवराज आचार्यसम्म बने । त्यसपछि झल्याँस्स बिउँझिएका उनी पुनः शिवराजमा फर्किएका छन् । अब भन्नुहोस्, यिनले शुद्ध नेपाली लेख्न कसरी सिकाउँछन् ?
नैकाप, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
१००८ गठबन्धन महापार्टी

१००८ गठबन्धन महापार्टी

डा. गाउँले बलदेव
तिमी भोक देखाऊ, म भगवान् देखाइदिउँला !

तिमी भोक देखाऊ, म...

डा. गाउँले बलदेव
म प्रज्ञापति !

म प्रज्ञापति !

डा. गाउँले बलदेव
0
Would love your thoughts, please comment.x
()
x