दुर्गाप्रसाद ग्वालटारेनीलडाम
वर्तमानको यो कुरुप अनुहार पखाल्न
अब म इमान्दार सन्तान जन्माउन चाहन्छु
सरकार अब चुनाब गर
यो नरकंकालको देशमा
बाबुको ऐतिहासिक खप्परको विज्ञापन गर्दै !
मेरो देश सायद मुर्दाघर हो,
जहाँ म चिच्याइरहेछु–
समयरुपी किचकन्यासँग,
तँ एक रात सुतिदे न ए ! बुद्धको कंकाल !
यहाँ खाँचो छ आधुनिक महापुरुषको !
तब म आफ्नै शरीरमा
विजयको कात्रो ओढाएर एउटा सन्तोषको निद्रा लिनेछु !
वर्तमानको यो कुरुप अनुहार पखाल्न
अब म इमान्दार सन्तान जन्माउन चाहन्छु
सरकार अब चुनाब गर नीलडाम
चमेली र सुन्तली गाऊँबाट हराएदेखि
सुशील मार्सापलाई चुनावमा हराएदेखि
उसको नामोनिसान हराएको थियो गाउँबाट
ढुक्क थियौं हामी आमाहरू
र ढुक्क थिए हाम्रा चेलीहरू पनि ।
अनुहारै छोप्ने कालो चस्मामा
कहिलेकाहिं देखिन्थ्यो उसको बदलिंदो रूप
टेलिभिजनका पर्दाहरूमा
हुंकारयुक्त भाषणहरू गर्दै
सहमति सहकार्य प्रतिबध्दता जस्ता के के के के शब्दहरू
दोहोर्याउँदै तेहेर्याउँदै बकिरहन्थ्यो ऊ ।
यसपालिको प्रलयमा
अन्न र लत्ताकपडाका बोराभित्र
आफ्ना गिध्देदृष्टि छिपाएर
ऊ झुल्क्यो फेरि गाउँमा ।
लस्कर लागेर पन्चेतीघरको चौरमा
मैले पनि थापें उसको हातबाट
घोप्टोमुख लाउँदै “राहत“ आफ्नो नाउँमा ।
घरगोठ भत्किए पनि
फेरि ठड्याउने सपना देख्दै
निस्फिक्री निदाउथेँ, नानीहरू च्यापेर
बचेका बाख्रापाठा संगै कटेरोमा ।
भाषण गर्दा चौरमा अस्ति
उसले भनेका वाक्यहरू सुनेदेखि
पटक्कै परेला जोडिएका छैनन् बाबै !
बुझ्यौ,
अब उ गाउँ आइरहन्छ रे !
अब उसंग भेट भैरहन्छ रे !
के भनौं बैनी !
न भोकतिर्खा, न कामधन्दा
टन्टनी टन्किरहेको छ भित्र कताकता
सम्झन्छु,
अझै पनि फर्किएका छैनन् चमेली र सुन्तलीहरू
अपमानित भैरहेछन् सुशील मार्सापहरू
चोटहरू बल्झिरहेछन् तमाम
सक्ने भए छाती फोरेर देखाउने थिएँ बा !
मुटुभित्रका नीलडाम ।
२०७२ असार
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































