निर्मोही व्यास‘मारेर जनतालाई कसरी लोकतन्त्र भो ?’
१
यता हेर्यो लथालिङ्ङ, भताभुङ्ङ उतातिर
हरे ! सन्तोषको सास फेर्न जाऔँ कतातिर !
नरहे देश नै सग्लो, के काम गणतन्त्र यो ?
मारेर जनतालाई कसरी लोकतन्त्र भो ?
२
छल–छद्म गरी लुट्नै पल्केका ढँटुवाहरू !
स्वार्थी, नकच्चरा, पापी, नखरे नटुवाहरू !
नयाँ नेपाल चाहिन्न, नौटङ्की गर बन्द यो
र, फिर्ता गर लौ हाम्रो पुरानै रम्य देश त्यो
३
बखेडा जातको गर्दै धर्मको नगरा पिटी
कालो, गोरो र चुच्चेको, बुच्चेको लफडा झिकी
कैले भूगोल वा कैले भाषा–भेष र संस्कृति–
लाई ढाल बनाएर वैर्याईकन विकृति
४
जुधाई जनतालाई देश सग्लो हराभरा
असत्ती पार्न खोज्दै छन् टुक्राटुक्रा, चिराचिरा
चौटाचौटा गरी लुछ्ने–घिच्ने षड्यन्त्र तीव्र छ
दुर्दशा नसकी खप्नै मन हाम्रो भरङ्ग छ
५
अपराधीहरूलाई भैँचालोले लगेन खै !
पुरिए जनता निर्धा नेता यौटै परेन क्वै
दैवी विपत्ति ता मानौँ तिनलाई तिहार हो
जस्तापाता पर्यो चिटठा, त्रिपाल उपहार भो
६
मायाँ हुन्छ त्यसैलाई स्याहार जसले गर्यो !
के मायाँ बगरेलाई, खुँडाले मार हान्छ जो ?
बियाँलो नगरी कत्ति आऊ जङ्गबहादुर !
या महेन्द्र ! तिमी आई कष्ट यो देशकोे हर
(३० जेठ २०७२)
Subscribe
Login
0 Comments
Oldest










































