साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेपाललाई पनि पिलेट चाहियो !

Nepal Telecom ad

सामान्य अर्थमा भू माने भुइँ र कम्प भनेको काँप्नु हो । कसैले हल्लिने क्रियालाई पनि कम्प भन्छन् । यो कसरी काँप्छ ? किन काँप्छ ? कसैले बताउन सक्तैन । यत्रो ठूलो पृथ्वी त्यसै काँप्तैन । मान्छेले काम्दा त लौ धामी उœयो भन्छन् तर पृथ्वी नै काम्दा हाम्रा कतिवटा धामी बराबर हुँदा हुन् ? लरतरो अनुमानले पुग्दैन । जो काम्यो त्यो धामी हुनुपर्नेमा यहाँ त अनगन्ती मान्छे पो धामी भएर निस्के । कोही पृथ्वीको पिलेट फाटेर भूकम्प गयो भन्न थाले, कोही भारतीय र तिब्बेतीयन पिलेट जुध्यो भन्न थाले । कोही त पिलेटमाथिको जिलेट चोइटियो, अब टालिँदैन पनि भन्न थाले । उहिले त माछाले काँध फे¥यो भने भुइँकम्प जान्छ भन्थे, माछाले काँध फेर्दा जल, कछुवाले समुद्र, हात्तीले पर्वत र सर्पले काँध फेर्दाचैँ सर्पाकार भएर पहाडै गिर्छन् भन्थे । अहिले त काँधको जमाना हराएर पिलेटको युग आएछ क्यारे ! र त कुइरे धामीले जोखाना हेर्दा त्यहाँ पिलेट भेट्टाएछ । पिलेट भेट्टाएपछि नेपालको भावी भविष्यको रूपरेखा ऐनाझैं छर्लङ्गै देखिएछ जोखिम जोखिम ! शायद जोखाना हेर्दा देखिने चीजै जोखिम रहेछ क्यारे ! त्यसपछि ऐरे गैरे खैरे सबका सब धामी ! ए गाँठे भुइँकम्पभन्दा पनि धामीको हरामी कम्पले पो हैरान पार्न थाल्यो ! कहिले कति रेक्टर स्केल त कहिले कति रेक्टर आउने हल्लाले शहर र गाउँ पूरै ढाक्यो । पछि गएर यो रेक्टर भन्ने कुरा हेक्टरमा परिणत भयो । हुँदा हुँदा त्यो पनि एघार हेक्टरमा गएर टुंगियो । तर यो भुइँकम्प त्यति हेक्टरमा मात्र सीमित भएन । यसले थुप्रै हेक्टर जमिन स्वाहा पा¥यो । यस्ता मनचिन्ते धामीको कारण हामी भनाउँदाको बास चउरमा भयो । हेर्दाहेर्दै नेपाल पालमा झ¥यो । तै धन्न हाम्रा छिमेकीहरूको मनमा दया पलाएर हामीहरू त्रिपालमा उक्लिन पायौँ र अलिकति भए पनि हाम्रो नाक जोगियो । लौ हेर्नोस् त यो पिलेट कस्तो शक्तिशाली रहेछ । विचरा त्यत्रो अंग्रेज थर्काएर घिरौँला जत्रो नाक फर्काएका भुइँनारानको गोर्खा नै लर्खरायो, त्यत्रो तरहरा जत्रो धरहरा बनाएर अग्लिएका वायुसेन थापालाई समेत लोप्पा ख्वायो । मन्दिरै मन्दिरको शहर बनाएका सबका सब मल्लहरूलाई पनि त्यो पिलेटले एकै मिलेटमा डल्याइदियो । वीर गोर्खालीलाई पर्खालमुनि झर्न बाध्य बनाइदियो । आखिर पिलेट थालमा ओइरिएपछि नेपाल त्रिपालमा पुग्नु आश्चर्यको बात भएन ।

तर यो तिब्बेत चाइनाको भएपछि चाइना पिलेट भन्नुपर्नेमा किन तिब्बेतीयन भनिएको होला । मेरो मगजमा पारोको तारो नचढेको होइन । कि चाइनापट्टि अर्को ठूलो पिलेट छ र यति सानो पिलेट भनेर उसले नै लिन मानेन कि । मलाई लाग्यो नेपाल थाल, भूटान चम्चा, पाकिस्तान गिलास, चाइना भाँडो, श्रीलंका पन्यू, युरोप ग्याँस र अमृका आगो रहेछन् क्यारे ! यति सबै मिलाउँदा राम्ररी भात पाक्दो रहेछ । यो इण्डियन पिलेट अलि चाँडो हल्लिँदो रहेछ, जापानी पिलेट थोरै र मलेशियन पिलेट निकै सुस्त काम्दा रहेछन् । युरोपियन र अमेरिकन पिलेट दरा रैछन् क्यारे ! यत्रा पिलेट हल्लिँदा पनि तिनीहरू डेगै चल्दैनन् बा ! मेरो मन भने उता गएर पिलेट हल्लाउने काम पाए जाने निधोमा पुगेको थियो तर अर्को मनले भन्यो यस्तो गारो काममा नफस् भाइ । अब त्यो जमिनको मुनि बसेर पिलेट हल्लाउन त्यति सजिलो छैन । फेरि उता हल्लाउँदा यताको चोइटियो भने बिनसित्तिँको गलफत्ती आइलाग्ने डरले जाने सोच त्यसै बिसाएँ । यता सके त्रिपाल नभए पनि पाल खोज्न भनेर नेपालको नागरिकता लिएर हिँडेँ । धुइँपताल लाउँदा पनि नेपालका त्रिपालवाल भेटिएनन् । बल्ल बल्ल मालदार पाल बोकेका काले काले अनुहारका पालेसित जम्कभेट भयो । उनी १२ वर्ष वनारस बसेर बार सालमा बारपाक आएर बसेका रहेछन् । उनीसित बालाजु बाइपासमा बसेर बिन्ति बिसाएँ । उनले भने ‘मेरो अनुहार ठ्याक्कै दारी बा’कै जस्तो मिल्दा त पाल दिएनन्, तिमीजस्तो झुसे दारी नभएको, पेटिकोट र सारी नलाएको मान्छेलाई कसले दिन्छ पाल ?’ भनेर मलाई उल्टै हपारे । कमसे कम एउटा पाल ल्याएर भए पनि नेपालको नाक उँचो पार्ने मनसायले चारैतिर दौडिएँ, मरिगए सकिएन ।

त्यसपछि फर्किएँ उही कमिलाले दुला पारेको खुला चौरमा । एकजना मानिस आएर नगतको लगत लेख्न थाले । म पनि नाम लेखाउन र यसो मुख देखाउन उनको छेउमा गएँ । अब त्यो झर्राजस्तो ठर्रा शायद लोकलै होला, माथिल्लो कल त लागेन, यसो लगाएर आएका रहेछन् । उनले भने दारी पालेका वा सारी हालेका घरधनी जति सबै आउनुस् । धेरै मान्छे लामवद्ध थिए, केही खामवद्ध थिए अनि कोही झण्डावाल र डण्डावाल पनि । आपूm त परियो ठण्डावाल । नजिक बसौं भने बस्नै नसकिने । नबसुँ यसो नाउँ लेखाउने पीडित देखाउने असीम ईच्छा पूरा नहुने ! धक मानी मानी बसिरहेँ । उनले घरधनीको नाम सिनित्तै लेखिभ्याए । मैले दुवै हात जोडेर स्तुति मुद्रामा बेलिविस्तार लगाएँ । उनले त घरको बुर्जासहित जग्गाको लालपूर्जा मागे । त्यसपछि बल्ल थाहा भयो घर नहुने मान्छे पीडित हुँदो रहेनछ । उफ् ! यत्रो पिलेटकै छेउमा बसेर पनि एउटा घर बनाउन सकिएन छ । लौ भइहाल्यो घर नभए पनि दारी त पाल्नुपथ्र्यो नि, त्यही भुइँचालो आउने दिन नै फालिहालियो । काटेर पनि नफाली राखेको भए यसो ट्याँस्स टाँस्न हुन्थ्यो । जाबो दारी पनि भारी लागेर खौरिने मेरो मूर्खता देखेर को हाँस्तैन होला ? आफू त जोगीजस्तो मान्छे घरमा सारी हुने कुरै भएन । कसैको मागेर लाउँ भने छातीको गोलाई नमिल्ने, फेरि अत्तर हाली हाली कपाल पालिएन । छाती र कपालसमेत ठूलो पार्न नसक्ने मजस्तो नाथेले के पाउनु पाल । हिस्स बुढी हरियाँ दाँत भएर बसेँ, अझै बसिरहेको छु । सबैले नेपालको छाती सगरमाथाजस्तो बनाउन त्रिपाल टाँग्दा पनि आफूले पाल हाल्न सकिएन । मभन्दा लोतिखरे मान्छे अर्को कोही होला र ?

नेपालमा बसेर पाल हाल्न नसकेपछि एक मन त जाउँ इण्डियातिरै जस्तो झोंक पनि नचल्या होइन । तर त्यो इण्डियन पिलेटको नाउँ सुन्दैमा हातगोडा फत्रक्क भए । त्यतिबेला मैले हाम्रो गाउँको अन्तरेलाई खुब सम्भेmँ । उहिल्यै भनौँ वा धेरै वर्ष पहिले उनी इण्डियामा पिलेट घुमाउँथे रे ! त्यति बेलाको जमानामा पनि उनले त्यही पिलेटको पैसाले घर खेत जोडे, लोते लोते पाराकी पहिलो बेते श्रीमती पनि पट्ट्याए । उनी अहिले गाउँमा मालदार छन् । अर्का हाम्रा कुञ्जरमणि तिब्बेत पसेर उतै बसेर आँखाको नानीसँगै मानी घुमाएर जिन्दगानी बिताइरहेका छन् । आफूचाहिँ जाँतोको हातो घुमाएर यतै बसियो । न त दारी लामा भए, न त सारीवालले पत्याए । उल्टै त्यो पिलेटबाट दुर्दुहाइ बनिरहेको छु । अहिले त पिलेटको कुरा कसैले ग¥यो भने आङ सिरिङ्ग हुन्छ । कहिलेकाहीँ त लाग्छ, मान्छेहरू त्यत्रा त्यत्रा पिलेट घुमाएर बस्ता रहेछन् र पो हाम्रो देशां अनिकाल लाग्दो रहेछ । फेरि हाम्रो देश त सिलाबरे थाल न पर्यो, ततायो कि बितायो । ल हेर्नोस् त त्यत्रा मान्छे एकै मिलेटको पिलेटमा स्वाहा भएका ? उताको पिलेट यता घुमाउँदा हाम्रापट्टिका घरै घुमेका ! पिलेट हुनेपट्टिका मान्छे जस्ताका तस्तै सिङ्गै ।

मलाई लाग्यो हाम्रो थाल दिएर बरु पिलेटसित साटौं । आखिर पिलेट घुम्दा असर त थालमा न पर्दोरहेछ । यत्रो थालै प्वाल पार्ने त्यो पिलेटको करामत सानो होइन नि गााठे ? यो जमानामा थालको तुलनामा पिलेट धेरै शक्तिशाली देखियो । यो जाबो थाल, त्यो पनि सिलाबरे, जता हेर्यो उतै प्वाल ! फेरि भुइँगर्भशास्त्री भनिने पनि पिलेटदेखि डराएर त्यसै हराएछन् । यी भुइँगर्भशास्त्रीले पृथ्वी गर्भवती भएको कसरी चाल पाएछन् जस्तो पनि लाग्छ । ल हेर्नोस् त हाम्रोमा भुइँकम्प जानेवित्तिकै उनीहरू बोलिहाले–नेपालां ठूलो भुइँचालो जान्छ भन्ने हामीलाई पहिल्यै थाहा थियो । वास्तवमा भुइँचालो गएपछि जाने थाहा पाउने साँच्चिकै अन्तर्यामी मान्नुपर्छ । भुइँकम्पपछि त यस्ता अन्तर्यामी धेरै निस्किए । त्यतिबेला रेक्टरदेखि हेक्टरसम्मको आविष्कार भयो । भुइँकम्पपछि हाम्रा जनवादी भनिनेहरूले नेपालमा साम्यवाद आएको तर्क झिके । यता तरबारप्रसादले भने भुइँकम्पले साम्यवाद ल्याइदिएकाले अब क्रान्तिको आवश्यकता नपर्ने बताए । उता पूmलकमलजीले पुराना संरचना भत्काएर नयाँ नेपाल बनाउने हाम्रो सपना साकार भएकाले अब हामी द्रूतगतिमा ममःविधान बनाउने तर्पm लाग्ने छौं भन्ने उद्घोष गरे । दाताले नेपालको खातामा रकम जम्मा गरे, हाम्रा दारी बाले पनि अलिकति हजम पारे । यो हजम नभएको भए फेरि गुइँठ्याउन अमृकै लानुपथ्योर्, तै परेन । भुइँकम्पपछि पानवाल र झण्डावाल नेता मालामाल भएका छन् । यो भुइँकम्पको उपलब्धिलाई ठूलै मान्नुपर्छ ।

भुइँकम्पपछि मलाई लागेको चाहिँ के हो भने नेपाललाई पनि एउटा पिलेट अनिवार्य चाहिन्छ । कमसे कम पिलेट भयो भने भुइँकम्प आउने रहेनछ । त्यसपछि नेपाललाई पनि यौटा पिलेट देऊ भनेर मागपत्र बनाएँ । दुई हातका ल्याप्चे पनि लगाएँ । तर पठाउने कहाँ ? ठेगाना नपाएर बिलखबन्दमा परेको छु । तैपनि हामीलाई दरकारै नरहेको सरकारमा एकपल्ट जम्ला हात धरेर उत्तानो परेर निवेदन गरेँ । अहो ! सरकार त कान पनि सुन्दो रहेनछ, आँखा पनि देख्तो रहेनछ । त्यसपछि बिन्तिपत्र लिएर उनै दाहालजीको दैलोमा पुगेँ । उनले त मुट्ठी कसेर जम्पासनमा बसेर लाल सलाम कामरेड पो भने । मैले भनेँ, म त काम रेड होइन, कवि हुँ महोदय । उनले फेरि थपे, हाम्रो सपना साकार पार्ने भुइँकम्पलाई धेरैधेरै धन्यवाद छ । हामीले भत्काउन नसकेका पुराना संरचना उसले भत्कायो, यो कम ठूलो उपलब्धि होइन । मलाई लागेको थियो, उनी दुईपक्षी दलको नेता, हाउसमा नेपाललाई पनि एउटा पिलेट चाहियो भनेर माग गर्ने हो भने सफामुख वाङ्वाङ्जीले अवश्य माग पूरा गरिदिनु हुन्थ्यो ।

आउने संविधानको प्रस्तावनामै नेपाल पिलेटसहितको एउटा सार्वभौम सम्पन्न मुलुक हो भनेर राख्न सकिए फेरि यति बडेमा हेक्टरका भुइँकम्प आउने थिएनन् । हाम्रो छुट्टै पिलेट नहुँदा हामीलाई धेरै सास्ती भएको छ । सके त त्यो युनो संघमा प्रष्टसँग कुरा राख्नसके पनि नेपालले एउटा पिलेट नपाउनै कुरै थिएन । त्यसका लागि विश्वखाद्यको खान्की खाएर बान्की परेका सुनजस्तै टलक्क टल्किने मुनलाई नै पो पत्र पठाउनु पर्ने हो कि ! यो दोधारले निकै दिनदेखि रुमलिइरहेको छु । आगे यहाँहरूको मर्जी । जदौ ।
महाकवि देवकोटा आश्रम, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
एक ज्येष्ठ नागरिकको कथा

एक ज्येष्ठ नागरिकको कथा

ज्यो. रत्ननिधि रेग्मी
सुन्ने समय

सुन्ने समय

ज्यो. रत्ननिधि रेग्मी
0
Would love your thoughts, please comment.x
()
x