साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खण्ड, अखण्ड र श्रीखण्ड

Nepal Telecom ad

सुर्खेत घटनाका मृतकहरूलाई श्रद्धाञ्जली तथा घाइतेहरूको स्वास्थ्य लाभको कामना गर्दै आजको विश्लेषण सुरु गर्न चाहन्छु । आफू जन्मिएको मातृभूमि खण्ड–खण्ड हुन लाग्दा आक्रोशमा आउनुलाई स्वभाविक मान्नुपर्छ । आफ्नै मूल भूमिमा पहिचानविहिन हुनुपर्दा विरोधको बिगुल फुक्नुलाई पनि असामान्य मान्न सकिन्न, तर त्यसका लागि अमूल्य ज्यान नै फाल्ने कुराचाहिं युगसापेक्ष छैन भन्ने गजुरियल ठम्याइ छ ।

भन्न सजिलो छ, जिते सिंगो संसार, हारे जाबो ज्यान, तर सुखदु:खमा साथ दिने जीवनसंगिनीसँग सोध– ‘तिमीलाई संसार दिऔं कि मेरो ज्यान ?’ उनको सहज जवाफ हुनेछ, ‘मेरो संसार तिमी नै हौ ।’ नौ महिना गर्भमा बोक्ने आमासँग सोध, ‘तिम्रा लागि उज्यालो धर्ती जित्न जाऔं ?’ आमाको प्रस्ट जवाफ रहनेछ, ‘तिमी मेरो आँखाको नानी नै रहेनौ भने त्यो उज्यालो धर्तीको के काम ?’ आफ्ना कलिला नानीहरूलाई भन, ‘तिमीहरूको भविष्यका लागि म सहिद हुन जाँदैछु ।’ तिनीहरूले तोतीबोलीमा जवाफ दिनेछन्, ‘हजुर हाम्रो वर्तमान, साथमा रहे भविष्य आफैं बनाउथ्यौं ।’

गजुरियल विश्लेषण भन्छ, मातापिताले तेल दलेर बनाएको तपाईंको ज्यान भेडालाई नेता बनाउने हतियार किन बनाउने ? १० लाख रुपैयाँको सहिदपत्रका लागि खर्बाैंको जिन्दगी किन स्वाहा बनाउने ? ज्यान फाल्दा सहिदको सम्बोधन त मिल्ला, तर अर्बाैंको जीवन र खर्बौंको जगत् समाप्त हुनेछ । गजुरियल अनुरोध छ, जुनसुकै आन्दोलन भए पनि अन्तमा सहमति र वार्ताको विकल्प छैन । तपाईंको सुन्दर जीवन कसैको मन्त्री, मुख्यमन्त्री बन्ने तुच्छ सपनाका लागि सहिद नबनोस् ।

खण्ड, अखण्ड वा श्रीखण्ड– आन्दोलनको नाम जेसुकै होस्, ज्यान दिनुको अर्थ केही छैन । धर्म निरपेक्षता, सापेक्षता वा स्वतन्त्रता– काम जेसुकै भए पनि अहिंसाभन्दा ठूलो धर्म कुनै छैन । संघीयता, एकात्मकता वा पहिचानता– अपेक्षा जे रहे पनि मान्छे मर्ने र मार्ने गरी भएको आन्दोलनले बाँच्ने कसैको हित गर्दैन । हदै भए सहिद घोषित भइएला तर बाँच्ने आफन्तहरू जिन्दगीभरि व्यथित भैरहनेछन् ।

आजको युगमा ज्यान दिएर होइन, ज्ञान र ध्यानले माग पूरा गराउनुपर्छ । बलिदानले होइन, श्रमदानले देश बन्छ । मरेर होइन, गरेर मात्र हुन्छ । रगत बगाएर होइन, पसिना बगाएर सफल भइन्छ । तसर्थ तोडफोडले होइन, जोड र गुणाले समस्याको समाधान खोजौं । यो युग सहिद भएर होइन, हामीसहित गएर संसार परिवर्तन गर्ने युग हो ।

मान्छे हौं, हाम्रा चाहना फरक–फरक होलान् । कसैलाई संघीयता चाहिएको छ, कसैलाई एकल राज्यको इच्छा होला, कोही अखण्डको पक्षमा छन् । कोही खण्ड–खण्डको पक्षमा छन्, कसैको सपना जातीय पहिचानसहितको राज्य होला, कसैको सपना मानवीय पहिचानसहितको राष्ट्र होला । यी इच्छाहरू हेर्न र देख्न पनि हामी सहिद हुने होइन, ज्यूँदै रहनुपर्छ भन्ने गजुरियल ठम्याइ छ ।

अहिले संविधानको डोरी सिमांकनमा पुगेर गाँठो परेको छ । मधेसको माग एक मधेस छोड्नै हुँदैन, पहाडको माग विकासक्षेत्र तोड्नै हुँदैन, पश्चिम भन्छ, अञ्चललाई छुनै हुँदैन, पूर्व भन्छ, जिल्ला टुक्य्राउनै हुँदैन, उत्तर भन्छ, दक्षिण नछोड, दक्षिण भन्छ, उत्तर नजोड । खण्ड र अखण्डको नाममा सहिदको खेती पनि सुरु भएको छ, सुर्खेतबाट । सहिदको खेतीले तपाईं–हाम्रो सपना पूरा हुँदैन, केवल छोटे–बडे नेताहरूको नि:कृष्ट इच्छापूर्ति मात्र गर्छ भन्ने गजुरियल ठम्याइ छ ।
साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x