साइबर अपराध सम्बन्धी सचेतना सामग्री

त्यही भएर देश नबनेको

Nepal Telecom ad

नयाँ अफिसमा हाजिर भएकै दिन जयरामले अँगालो हालेर मलाई स्वागत गर्‍यो । पदले सवारी चालक भए पनि ऊ यो कार्यालयको शक्तिशाली युनियनको एकाइ अध्यक्ष भएकाले उसको साथ नलिई काम गर्न गाह्रो छ भनेर मैले सुनिसकेको थिएँ ।

उसले भन्यो, “जाऊँ भाइ चिया खान, म यो ठाउँको परिचय गराउँछु । नयाँ आउने सबैलाई ट्रेनिङ दिने काम मेरै हो । भाइ भनेर, नरिसाउनु होला, उमेरमा भाइ नै हुनुहुन्छ ।” चियाको पहिलो सुरुप लगाएर उसले भन्यो, “ल हेर, कति थोरै चिया छ । दुई घुट्कामा खलास भइहाल्यो । ए बाबु, मान्छे चिनिनस् ? नयाँ सर आउनुभएको छ । डोसासोसा, दूधवरी के के छ ले । हामी नगरपालिकाकै कर्मचारीलाई यिनीहरू ठग्छन्, अरूलाई के गर्छन् ! पैसा लिन्छ पूराका पूरा, चिया दिन्छ आधी । त्यही भएर देश नबनेको हो, कुरा बुझ्नुभो ?”

जयरामले खैनी मोलिसकेर मतिर तेस्र्यायो । मैले खान्नँ भनेँ । उसले स्पष्टीकरण दियो, “मैले त गर्भैदेखि खान थालेको । आमा नै खैनी खानुहुन्थ्यो । यसले एकदम खराब गर्छ, थाहा छ । छाड्नै सक्दिनँ । आज सुर्ती छाड्ने कसम खान्छु, भोलि सुर्ती खान्छु । आज कसम, भोलि सुर्ती । कसम पनि खाने, सुर्ती पनि खाने । पूरै नेताजस्तो भइसकेँ । नेताहरू देख्नुभएन ? काठमाडौँमा कसम खान्छन्, दिल्लीमा गएर फोहर खान्छन् । त्यही भएर देश नबनेको हो, कुरा बुझ्नुभो ?”

“ल हेर्नूस्, भुस्याहा कुकुरको बिगबिगी । एउटा कुकुर्नीको पछाडि १० वटा कुकुर लागेका छन् । सरकार चेन्ज हुने बेलामा कसरी दर्जनौँ नेता एउटा कुर्सीका पछाडि र्‍याल चुहाएर लाग्छन्, ठ्याक्कै सेम छ । यिनीहरूलाई लाज पनि छैन । चोकको बीचमै यस्तो उस्तो काम गर्छन् । नेता पनि उस्तै हो, जे पनि गर्छन् । यही भएर देश नबनेको हो, कुरा बुझ्दै हुनुहुन्छ ?”

“अफिसको कुरै नगरौँ । सरकारले ६–६ महिनामा हाकिम चेन्ज गरिराख्छ । आउँछन्, कमाउँछन्, जान्छन् । हामी सधैँ जस्ताको तस्तै । म १२ वर्षदेखि यही कार्यालयमा छु । जम्मा एउटा घर बनाएँ, एउटा बाइक किनेँ, छोराछोरी एउटालाई डाक्टर पढाउँदै छु, अर्को इन्जिनियर भयो । बस्, त्यति गर्न सकेँ । काठमाडौँमा किनेको जग्गामा अहिलेसम्म घर बनाउन सक्या छैन । हाकिमहरू आज रोडपति, भोलि करोडपति । त्यही भएर देश नबनेको, कुरा बुझ्नुभयो ?”

“अरू त ठीक छ, अलि निष्पक्ष भएर काम गर्नुहोला । यहाँका मान्छे अन्याय भनेको सहँदै सहँदैनन् । आफूले भनेको जस्तो भएन भने हाकिम साकिम केही भन्दैनन् । परार साल एक जनालाई त पिटेरै पठाइदिए । कसैलाई पनि नभन्नुहोला, त्यो हाकिमलाई पहिलो मुक्का त मैले नै ठोकेको हुँ । तपार्इं त एकदम इमानदार हुनुहुन्छ जस्तो छ । हामीले भनेको गर्नुभयो भने कसैले तपार्इंको रौँ पनि हल्लाउन सक्दैन । नत्र त यो ठाउँमा जे पनि हुन्छ । त्यही भएर यो देश नबनेको हो, कुरा बुझ्नुभयो ?”

मैले देश नबन्नुको कारण अलिअलि बुझेँ, चिया खाजाको पैसा बुझाएँ र एउटा बबुरो बालकझैँ जयरामका पछि पछि लागेँ ।
नेपाल ०७२ साउन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x