साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अत्याधुनिक घैँटो महात्म्य

Nepal Telecom ad

म सानैदेखि खेलकुद र उफ्रीपाफ्रीमा त्यति जाँगर नचल्ने स्वभावको मान्छे । स्कुलको फुच्चे छात्र हुँदा टिफिनको समयमा प्राय सबै मेरा दौँतरी उफ्रिपाफ्रीतिर निस्कन्थे । म भने कक्षाकोठामै कुचुक्क परेर बसिरहेको हुन्थेँ । एक पटक मलाई कृष्ण न्यौपाने सरले कक्षाबाट तानेर चौरमा ल्याउनु भयो । सबका सब यस्तो रमाइलो गरी रहेका छन्, तिमी भने कक्षाकोठामै ? लु भएन । विद्यालय जन्मोत्सवको अवसरमा सप्ताहव्यापी खेलकुद कार्यक्रम चलिरहेको थियो । एउटा खेलमा सहभागी बनाउन उहाँले मलाई तानेर ल्याउनु भयो । फराकिलो चौरमा ठूलो घेरा बनाएर मेरै दौँतरीहरू उभिएका थिए । घेराको एक छेउमा कृष्ण सरले मलाई पनि उभ्याउनु भयो । अर्को छेउमा निकै पर एउटा कालो कालो घैँटो घोप्ट्याइएको थियो । खेल रहेछ घैँटो फुटाउने ।

मेरै कक्षाको एकजना साथी बाबुराम श्रेष्ठको आँखा कालो कपडाले टनक्कै छोपियो र उभिएकै ठाउँमा चारपाँच फन्का घुमाएर उसको हातमा एउटा गजबको लाठो दिइयो । अनि भनियो– ल अघि देखिएको घैँटो फुटाउन रमाना होऊ । लाठो बोकेर बाबुराम हिँड्न त हिँड्यो तर घैँटो दखिनतिर छ ऊ लाग्यो उत्तरतिर । घेरामा उभिएका हामी सबै हाँस्न थाल्यौँ । निकैबेर यता उता गरेर हार स्वीकार गरी साथी बाबुरामले लाठो भुइँमा राख्यो ।

बाबुराम पछि घनश्याम, तिलक र प्रल्हादहरू पालै पालो घैँटो फुटाउन तम्सिए तर कसैले सकेनन् । पालो मेरो आयो । मेरा पनि आँखामा त्यसै गरी पट्टी बाँधियो र फनफनी घुमाएर लाठो हातमा थमाइयो । म लाठो बोकेर चटाचट अघि बढेँ, संयोगबस मैले ठिक दिशा अनुमान गरेछु । केहीबेर हिँडेपछि यतैकतै घँैटो छ होला भन्ने अनुमानले लाठो बजारेँ, घैँटो फुटेको आवाज भने आएन । तर करिब तीन हातको दुरी नजिक पुगेर लाठो बजारेको रहेछु मैले । त्यसपछि क्रमैसँग अरू आठ दसजनाले भाग लिए । कसैले पनि घैँटो फुटाउन सकेनन् । कति त घैँटो रहेको दिशातिर नै पुगेनन् । अन्ततः मैलै जीवनमै पहिलो र अन्तिम पटक भाग लिएको खेलमा घैँटो नफुटालीकनै म विजयी घोषित गरिएँ । पुरस्कारमा दाँत माझ्ने पाउडरको बट्टा पाएको सम्झना छ ।

राजधानीमा यसै हप्ता एउटा मुस्तण्ड घैँटो फुटेको समाचारले पत्रपत्रिका रङ्गिएपछि मैले बाल्यकालमा आफैले खेलेको घैँटो फुटाउने खेल सम्झना गर्न पुगेको हुँ, अन्यथा अर्को अर्थ नलाएकै वेश । राजधानीमा उहिले उहिले ढाका जातको कपडा बनाउने गरिन्थ्यो रे । कपासको धागो तगेर बनाइएको एकरङ्गी सेतो कपडा (खाँडी हो कि ?) लाई घरेलु पारामै पकाई तयार गरिएको रङ्गमा रङ्गाएर बुटा बनाइन्थ्यो रे । पकाएको रङ्ग हाल्ने माटाको घैँटो हुन्थ्यो रे त्यसलाई भनिन्थ्यो छिपाको घैँटो । प्रयोग प्रचलन गर्दा जतनसँग चलाउनु पर्ने माटाको घैँटो तलबितल पर्दा फुट्थ्यो होला । त्यसरी छिपाको घैँटो फुट्यो भने सम्बन्धित मानिसले असम्बन्धित र हुँदै नभएको उटपटाङ कुरो गथ्र्यो रे । एक कान दोकान मैदान हुँदै त्यो अफवाहका रूपमा पूरै तिन शहर भरी फैलिन्थ्यो । अफवाहको अचाक्लीपन बढ्दै गएपछि बल्ल मानिसले भेउ पाउँथ्यो र भन्थ्यो– छिपाको घैँटो फुटेछ ! यस्ता पुराना कुराबारे राम्रो जानकारी राख्ने शताब्दी पुरूष सत्यमोहन जोशी वा प्रा.दिनेशराज पन्तज्यू के भन्नुहुन्छ कुन्नि ! यो उहाँहरूकै जिम्मा भो । म चाहिँ यहाँ अलिकति अत्याधुनिक घैँटाका बारेमा थोरैतिन प्रसङ्ग उल्लेख गर्न चाहन्छु ।

युगअनुसार घैँटाहरूको स्वरूप, औचित्य, प्रयोग प्रचलन र यिनीहरूको निर्माण प्रक्रियामा पनि ठूलो परिवर्तन आएको छ । आधुनिक र वैज्ञानिक भाँडावर्तनको जमानामा कुमालेले बनाएका माटाका घैँटाहरूको अस्तित्व नै अब कहाँ रहन्छ र भन्या ! त्यसैले कुमालेको परम्परागत पेसा नै सङ्कटमा परिसकेको छ । आधुनिक र बहुउपयोगी घैँटा निर्माणका लागि कारखानाहरू खुलेका छन् । उत्पादन र खपतबिच बेजोडको तालमेल छ । लोकतान्त्रिक नेपालको नव निर्माणमा घैँटाहरू अनिवार्य औजार साबित भएका छन् । हाम्रो सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक र प्रशासनिक जीवन अब क्रमशः घैँटामा आश्रित हुँदै गएको छ । घैँटो बिना आजको मान्छे ठूल्ठूलो सफलता हात पार्न सक्दै नसक्ने भइसक्यो । चुनावमा मत आर्जनदेखि ठुल्ठूला ठेक्का प्राप्ति सम्ममा घैँटाहरूको प्रयोग अत्यन्त प्रभावकारी हुँदै आएको छ । घैँटो छ त सबथोक छ, घैँटो छैन त केही पनि छैन ।

मधुमालतीको प्राचीन कथामा मधुकरसँग एउटा तिलस्मी लठ्ठी थियो– बज्रठिङ्गा । मधुकर दूरदेशकी अर्थात् अर्कै लोककी एउटी राजकुमारी मालतीसँग गहिरो प्रेममा फसेका थिए । प्रेममै फसेपछि बेलाबेला भेट गर्न त मन लागिहाल्थ्यो, आजभोलिको डेटिङ जस्तै । मधुकर आफूलाई मालतीसँग भेट गर्न मन लागेको कुरा बज्रठिङ्गालाई बताउँथ्यो । उसले पनि अर्कै लोककको दरवारको पनि खोपीमा रहेकी मालतीलाई निमेषभरमै मधुकरसमक्ष हाजिर गराई दिन्थ्यो । उनीहरू अघाउँजी रङ्गरउस गर्थे । यस्तो अद्भूत शक्ति र क्षमता थियो बज्रठिङ्गामा । प्राचीन कथाको बज्रठिङ्गा भन्दा पाँच गुना बढी शक्ति र क्षमता प्रदर्शन गरिरहेका छन् वर्तमान नेपालका अत्याधुनिक घैँटाहरूले । आजका मधुकरहरूको कुत्सित मनोकाङ्क्षा पूर्ति गरिदिने प्रमुख औजार नै यिनै घैँटाहरू हुन् । आधुनिक मधुकरहरूलाई लौकिक सुख, सुविधा र धन दौलतको आवश्यक जोहो गरिदिने पुनित कर्ममा एक से एक घैँटाहरू तैनाथ छन् । बस् उनीहरूले चिताउनु मात्रै पर्छ बिताइ दिने काम घैँटाहरूकै हो ।

अलग अलग कारखानामा उत्पादित घैँटाहरूबिच घोषित अघोषित प्रतिष्पर्धा हुनु अस्वाभाविक हैन । त्यही प्रतिष्पर्धाले कसैकसैलाई सर्वशक्तिमान बनाउँछ । ती सर्वशक्तिमान घैँटाहरूका आआफ्ना ख्वामित मधुकरहरूको स्वार्थ हर्दम टक्कराई रहेकै हुन्छ । अनि प्रतिष्पर्धाका क्रममा कहिलेकाँही घैँटाहरू एक आपसमै ठोकिने पनि गर्छन् । कति टुट्छन्, कति फुट्छन्, चोइटिन्छन् र कति त चूर्ण पनि हुन्छन् । जस्तोसुकै परिस्थितिमा पनि घैँटामालिकहरू आआफ्ना घैँटाको संरक्षणमा रक्षाकवच बनेर उभिने गरेका छन् । यो पनि अन्यथा लिइरहनु पर्ने कुरै होइन । आफ्नो मालप्रति जो कसैलाई मोह हुन्छ नै ।

घैँटोमय राजधानीको मध्य मुटुमा एक बिहान अचानक एउटा घैँटो फुट्यो । यो मैले माथि उल्लेख गरेको घैँटो फुटाइ खेलको ध्वाँसे घैँटो होइन, न त कपडा रङ्गाउने रङ हालिएको छिपाको घैँटो नै हो । लोकतान्त्रिक नेपालको राजधानीलाई अस्ती गएको भुँचालोले हल्लाए झैं हल्लाइरहेको अत्याधुनिक र सर्वशक्तिमान घैँटो अचम्मसँग प्याट्टै फुटेछ । यस्तो दुष्कर्म कसले गरेछ हँ ? विचरा मधुकरहरू शोकमग्न बनेका छन् । आकुल ब्याकुल हुँदै बर्बराइ रहेछन्– ‘घैँटो फुटाउनेमाथि शख्त कारवाही होस् ।’ लोकतान्त्रिक संसदको बैठकमै घैँटोको पक्षमा जोडदार आवाज उठेको छ । फुट्दाफुटदै पनि घैँटोले प्रदर्शन गरेको यो अदुभूत पराक्रम हो । बस् अब घैँटो फुटाउने ‘दुष्कर्म’मा सरिक हुनेकै टाउको फुट्यो वा पद छुट्यो भने पनि किमार्थ आश्चर्य मान्नु पर्दैन । आगे, घैँटाधारी आधुनिक मधुकरहरूको जय होस् !!
कलङ्की, काठमाडौं
(छलफल साप्ताहिक ०७२ भदौ ६ गते आइतबार)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x