केशवराज अर्याल ‘निश्चल’बन्दैबन्द
हिजो बाहिर निस्केको बन्द रहेछ,
आज भित्र छिरेको बन्द रहेछ ।
कहिले नाका बन्द रे,
कहिले रासन बन्द रे
मुख कहिले बन्द गर्ने ?
यता, हर्केको स्वास्नी भीरबाट लडी,
नेपाल बन्द भो ।
उता, बिर्खेको भाइले आत्महत्या ग¥यो,
नेपाल बन्द भो ।
वल्लो डाँडामा डँढेलो लाग्यो,
नेपाल बन्द भो ।
पल्लो गाउँमा घरझगडा भो,
नेपाल बन्द भो ।
काम नपाएर बन्द गरे,
रोजगारीको निम्ति सरकारी आलटालमा बन्द गरे,
वार्ता हुने दिन बन्द भो,
काम मिलेको खुसीयालीमा बन्द भो,
काम धेरै भएर बन्द भो,
तलब कम भएर बन्द भो ।
फलाना पार्टीको विरोध,
तिलाना पार्टीको बन्द,
हर देशको बन्द, प्रदेशको बन्द, मधेशको बन्द,
बन्दै बन्द ।
अरुको आङको जुम्रा हेर्नुभन्दा पहिले
आफ्नो आङ्को जुम्रा लखेट मित्र ।
तिमी बन्दमा हिँडिरहेछौ,
बरु बन्द गर, तिम्रो नाक
सिंगान चुहिरहेछ ।
बन्द गर, पाइन्टको सिक्री
खुलिरहेछ ।
के बन्द गर्छाै बाटो ?
सुते पनि बन्द, उठे पनि बन्द,
खाली बन्दै बन्द ?
बरु देशै बन्द गर तर संविधान देऊ,
बन्द गर तर अधिकार देऊ,
बन्द गर तर रोजगारी देऊ,
के तिमीले जन आन्दोलनको घाइते चिनेका छौ ?
चिनेको भए
लौ त्यसको खुसियालीमा भोलि बन्द गर त
सक्छौ ? सक्छौ भने
बन्द गर, अत्याचार,
बन्द गर भ्रष्ट्राचार,
वैदेशिक चलखेल बन्द गर,
सीमानाको हस्तक्षेप बन्द गर ।
म पनि जन आन्दोलनको घाइते,
रेडियोले मेरो नामै फुकेन ।
भोलि म पनि बन्द गरिदिन्छु । रेडियो … ।
सोच्नु जरुरी छ, अब देशको बारेमा,
बुझ्नु जरुरी छ परिवेशको बारेमा,
भरियाहरूको स्थिति हेर,
मजदुरहरूको परिवार हेर,
रोइरहका टुहुरा हेर,
सुकुम्बासीका टहरा हेर ।
तिमीलाई के छ र मित्र
मात्र रमाइलो बन्द ?
काम गर्नै नदेऊ बरु,
शहरबाट लखेट सबैलाई गाउँतिर
रोजगारी फिर्ता लैजाऊ,
याद राख
भोली भोकले तिम्रो मुख
सदाको लागि बन्द हुनेछ ।
अनि मनाऊ,
खुसीले मनाऊ, बन्दै बन्द… ।
चारघरे, नुवाकोट
Subscribe
Login
0 Comments
Oldest








































