गायत्री परिरोशनीमाफियाहरू
पहिलो माफिया
एकाविहानै घन्टा बजाएर निद्रा बिथोल्छ
मन्दिरभित्रै बसीबसी भगवानलाई बेच्छ
ढोकाबाहिर उभिएको माग्नेलाई घचेट्दै
हामी तँछाडमँछाड गर्दै भेटी चढाउन पुग्छौं ।
दोस्रो माफिया
कालीमाटीमा बसेर फलफूल तरकारीको दलाली गर्छ
हामी ताजा ताजा रोग किनेर घर फर्कन्छौँ
तेस्रो प्रकारका माफियाहरू
स्कुल खोलेर बसेका छन्
हरेक महिना लामो चेकलिष्ट र बिल पठाउँछन्
निर्दोष छोराछोरीको चम्किलो भविष्य सम्झेर
चुईक्क केही नबोली तिर्न दौडिन्छौँ ।
चौथो माफियाका ससुराली खलकसमेत
अस्पताल खोलेर बसेका छन्
टाउको दुखेर गए पनि नाईटो दुखेर गए पनि
कहिले रगत कहिले खकार जँचाउने भन्दै
कोठा कोठा नचाउँछन्
हामी करङ गनीगनी मूल्य चुकाउँछौँ ।
पाँचौँ माफियाका सारा दाजुभाइ
कोही असनमा किराना पसल
कोही न्यूरोडमा होलसेल पसल
कोही चोक चोकमा सुपरमार्केट खोलेर बसेका छन्
हामी मुन्टोले टेक्दै गोजी टक्टक्याउन जान्छौं ।
छैठौं माफियाका सारा ईष्टमित्र
बाटोबाटोमा पेट्रोल पम्प चलाउँछन्
के घाम के पानी
पैसा तिरेरै किन्न पनि
हामी चुप्प लागेर हर्न बजाउँछौं
खुरुक्क मिसावटयुक्त तेल छचल्कयाउँदै
फुर्सदले हुइक्याउँछौ जिन्दगी ।
सातौंँ प्रकारका माफियाहरू
गल्ली गल्लीमा बैंक खोलेर बसेका छन्
सस्तो व्याजमा पैसा थुपार्न लगाउँछन्
निकाल्छन् अनेक स्किमहरू
हामी मख्ख परिपरि
आफ्नै पैसाको आफै व्याज तिर्छौँ ।
आठौं प्रकारका माफियाहरू
सिण्डिकेट सिस्टम लगाएर
हामीलाई मान्छे कम गुन्दु्रक भन्ठानेर
खाँदिखाँदी यमपुरीको यात्रा गराउँछन्
हामी निस्सासिदैं भए पनि तुन्द्रुङ्ङ झुन्डिन्छौं ।
नवौँ प्रकारका माफियाहरू
अदालतको ढोकामै हामीलाई अठ्याउँछन्
हामी घरखेत बेचेर न्याय किन्छौं ।
दसौँ प्रकारका माफियाहरू
हरेक सरकारी क्यान्टिनमा
चिया र चुरोट पिउँदै
हाम्रो हातैमा फाइल थुत्न आईपुग्छन्
हामी लाचार बनेर सुम्पिदिन्छौं ।
एघारौं प्रकारका माफियाहरू
मानवअधिकार, नारीअधिकार, बालअधिकार ईत्यादि
अनेकथरी विकासका नाममा एनजिओ चलाउँछन्
गाउँ गाउँ चोटाकोठा चहारेर खानतलासी गर्छन्
हामी स्वर्गै पो पुगिने भयो जसरी नाङ्गेझार भइदिन्छौँ ।
बाह्रौँ प्रकारका माफियाहरू
घरघरमा म्यानपावर खोलेर बसेका छन्
हाम्रा रगत र पसिना ओसारपसार गर्छन्
हामी सास लिएर निर्यात हुन्छौ
लास भएर आयात भइदिन्छौं ।
अनि माफियाका पनि माफिया
माफियाका मालिकहरू, माफियाका नाइकेहरू
सिंहदरवार वरपर बस्छन्
मिठामिठा सपना देखाउँछन्
हामी लाममा बसीबसी भोट दिन्छौं ।
सप्पै माफियाहरू परिचालन गर्छन्
हामीमाथि नै हैकम चलाउँछन्
प्रत्येक पटक धोका खाइरहन्छौँ
तर कहिल्यै चेत्दैनौंं
तर कहिल्यै जाग्दैनौं
अब आफै भन्नुहोस्
माफियाहरू कस्ले जन्माएको ?
माफियाहरू कस्ले हुर्काएको ?
पहिलो पोस्ट
Subscribe
Login
0 Comments
Oldest






































