सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बूढी गणिकाको पहिलो प्रेम

Nepal Telecom ad

नयाँ वर्षको अघिल्लो दिन म हिन्दुस्तानमा थिएँ । भारत(नेपाल जनमैत्री सांस्कृतिक मञ्चको प्रेमपूर्ण निम्तोमा केही नेपाली साहित्यकार पश्चिम बंगालको राजधानी कोलकाता पुगेका थिए । अर्थात् खगेन्द्र दाइ (खगेन्द्र संग्रौला), नारायण ढकाल, अमर गिरी, नयनराज पाण्डे, शेखर खरेल, दिनेश अधिकारी, विप्लव ढकाल, स्वप्निल स्मृति, सरस्वती प्रतीक्षा, राम अविकास, धर्मराज बराल र यो विमल निभा । हामीसँग नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान कुलपति गंगाप्रसाद उप्रेती पनि थिए । संयुक्त साहित्यिक सांस्कृतिक गतिविधिमा सक्रिय सहभागिता जनाएर त्यहाँबाट फर्कने बेलामा हामीले सीमान्त रक्सौलसम्मको छुकछुके रेल चढ्यौं ।

एकजना गंगादाइ (गंगाप्रसाद उप्रेती) ले भने माथि–माथि आकाशको हवाइ मार्गलाई रोजे । यसको कारण काठमाडौं पुगेपछि थाहा भयो । वास्तवमा हाम्रो कुलपतिज्यूलाई नेकपा एमालेका सुप्रिमो कमरेड खड्गप्रसाद शर्मा ओलीको नयाँवर्षे कार्यक्रममा भाग लिने हतारो थियो ।

नयाँ वर्ष ः विसं. २०७२ को शुभ उपलक्ष्यमा नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीले आफ्नो निवासस्थान बालकोटको प्रांगणमा एक शानदार भोजको आयोजना गरेका थिए । त्यस दिन नेकपा मालेका महासचिव कमरेड चन्द्रप्रकाश मैनालीदेखि लिएर नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीसम्मको एकमुष्ट उपस्थिति थियो । यस्तोमा मलाई भने बोलाइएन । यसको कारण के हो भने त्यहाँ केवल झापा आन्दोलनमा सशरीर लागेकाहरूलाई आमन्त्रित गरिएको थियो । वस्तुतः नयाँवर्षे भोज नै कुनै बखतको झापा आन्दोलनको सुमधुर स्मरणमा कमरेड ओलीले दिएका थिए ।

यद्यपि म पनि झापा आन्दोलनको एक समर्थक नै हुँ । तर पञ्चायती कालमा तत्कालीन नेकपा माले (अहिलेको कमरेड सीपी मैनालीको दुई नम्बरी नेकपा माले होइन नि) भूमिगत छँदा बाहिरै बसेर अखबार आदिको सानोतिनो काम गर्ने भएकोले मेरो कुल हैसियत त्यहाँसम्म पुग्न अपुग भएको पनि एउटा ठोस यथार्थ नै हो । यसबाट म कदापि अनजान छैन । त्यसैले मलाई कमरेड ओलीको नयाँ वर्षको अवसरमा दिइएको भोजसम्म नपुगेकोमा कुनै विशेष दुःखमनाउ छैन । अपितु म त निकै भावुकोवस्थामा पो छु । किनभने त्यो झापा आन्दोलनको क्रान्तिकारी यादसँग सम्बन्धित भोज थियो । त्यहाँ पुगेर र्फकेका मेरा एक परिचित कमरेडले आफ्नो जिब्रो प्याटप्याट पड्काएर मलाई भने, ‘अहा ! क्या सुस्वादु भोजन थियो ।’ अरु थप के पनि थाहा पाइयो भने भोज मिश्रति अर्थात् मांसाहारी तथा शाकाहारी, दुवै परिकारहरूले सज्जित थियो । सुगन्धित घृतयुक्त पुलावसहित । र खास तरल पदार्थ आदिको स्वाभाविक तवरले वरबन्दोबस्त हुने नै भयो । संक्षेपमा झापा आन्दोलनको स्मृतिको सशक्त भोजभतेर थियो ।

यस्तोमा आफ्नो उपस्थिति शून्यताले एक किसिमको मन्दमन्द पीडा त दिने नै भयो । तर मैले भने नि, म दुःखी हुनुको तुलनामा बेसी भावुक भइरहेको छु । र मेरो भावुकताको मूल कारण के हो भने कुनै जमानाका सच्चा क्रान्तिकारी कमरेड खड्गप्रसाद शर्मा ओलीको सम्झनामा भए पनि झापा आन्दोलन सास लिइरहेको छ । यसको अर्थ के हो भने झापा आन्दोलन हालसम्म अस्तित्वहीनताको सिकार भइसकेको छैन । र नयाँ वर्षको उपलक्ष्यमा कमरेड ओलीको भव्यतम महाभोजको सार्थकता पनि यही नै हो । यसका निम्ति कमरेड ओलीलाई मेरोतर्फबाट हार्दिक बधाई !

म असाध्यै भावुक भएपछि काव्य लेखनतर्फ अग्रसर हुने गर्छु । यस पटक पनि यही घटित भयो । त्यसकारण झापा आन्दोलन र कमरेड ओलीको युगललाई लिएर भावुक कविमनको पर्दामा घरिघरि केही विम्बहरू ओहोर दोहोर गर्न थालेका छन् । यो मेरो कविताको पूर्वपिढीका हो । याने मेरो मस्तिष्कमा सलबल गरिरहेका कविताका शीर्षकहरू यस्ता छन– कमरेडको भोज, भोजको क्रान्तिकारिता, ओलीको पुलाव, प्रेसर कुकरमा क्रान्ति, भावुक भतेर, झापाको पापा, क्रान्तिकारी भोजन, भोजमा झापाली क्रान्ति, सहिद रत्नकुमार बान्तवा र सेकुवा, मसालेदार माक्र्सवाद, मोमो आन्दोलन, चार प्लेट बहुदलीय जनवाद, झापा आन्दोलनको किमा, गिलासमा स्वर्गीय राजवंशीको नुनिलो आँसु, झाइँयँ….कम्युनिजम, बालकोटे टुबर्ग, झानेको लेनिनवाद, खाद्य क्रान्तिधर्मिता, स्वादिष्ट कम्युनिष्ट, सहिदी भोजन, ओलीको क्रान्तिकारी मेजवानी, भुटुवा साम्यवाद, जनवादी मटन, लाल ग्लासमा हवस्की, आन्दोलित भोजन, शुद्ध घिउमा तारेको क्रान्ति, चिकेन रणनीति, गुलियो माक्सिर्जम, रसबरी क्रान्ति, इत्यादि । यिनीहरू मध्ये कुनै पनि काव्यशीर्षकले मेरो चित्त बुझेन । त्यसउसले कडाइका साथ सबैलाई पूर्णतया खारेज गरिदिएँ । आखिरीमा एउटा पृथक प्रकारको शीर्षकमा गएर मेरो मन गजबले अडकिएको छ, वेश्याको प्रेम । होइन, बूढी गणिकाको पहिलो प्रेम । यो उपयुक्त शीर्षक हुनसक्छ । यस्तै शीर्षकको एउटा रूसीकथा मैले कुनै बेला पढेको थिएँ । सोही शीर्षक सापटी लिएर यहाँ राखेको छु । कुन्नि, कस्तो भयो !

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती इन्डियन एयरलाइन्स (अथवा एयर इन्डिया) को विमानमा सरर्र उडेर राजधानी काठमाडौं पुगिसक्दा हामी एकहुल साहित्यकार भने दुई नम्बरी पुल सडकमार्ग छेउको एक तामाङ दाइको हुटेलमा नयाँ वर्ष विसं २०७२ मनाइरहेका थियौं । यसो ता हाम्रो नयाँ वर्षको भोज नेकपा एमालेका अध्यक्ष कमरेड खड्गप्रसाद शर्मा ओलीको झापा आन्दोलनको यादमा दिइएको भोजजत्तिको भव्य एवं तडक(भडकपूर्ण थिएन । तथापि हामी अत्यधिक रमाइरहेका थियौं । किनभने संयोगले यही नयाँ वर्षको दिन सहयात्री कवि विप्लव ढकालको जन्मदिन पनि थियो ।

कान्तिपुर, वैशाख ५, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा