अमर अधिकारीटुक्रे दनक
डढेलो दर्शन
वस्तीछेउको सानो वनमा डढेलो लाग्यो भने पनि यस्तो राजनीतिक तमासा देखिन्छ र धेरै कुरा बुझिन्छ– ‘आगो मैले लगाएको हो तर मट्टीतेल उहाँले छरेको’ भन्ने मानिस बाबुराम भट्टराईपन्थी हो । ‘डढेलो लाग्छ भनेर मैले पहिले नै भन्या थिएँ, अब निभाउनुपर्छ’ भन्दै पानीको भाँडोबाट मट्टीतेल खन्याउने बाबुरामको खाँटी कार्यकर्ता भएकामा शंका रहन्न । ‘मैले मट्टीतेल छरेको होइन’ भन्दै सुँक्कसुँक्क रुने मानिस शेरबहादुर देउवापन्थी हो ।
‘वनमा डढेलो लाग्नु केही अर्थमा ठीक हो भने सारमा बेठीक पनि हो’ भन्ने प्रचण्डपथको सच्चा अनुयायी हो । ‘नलाग्नु आगो लागिहाल्यो, अब डढेलोमा आलु पोलेर खाइहाल्नुपर्छ’ भनेर जसले भन्छ, ऊ केपी ओलीपन्थी हो । घर सल्काउन डढेलो आवश्यक थियो भन्नेचाहिँ राजेन्द्र महतोको सच्चा भक्त हो ।
‘डढेलोले वन खायो, अब रूख काट्ने बन्चरो चाहिँदैन, बरू त्यो बन्चरोले मान्छे…’ भन्दै ङिच्च हाँस्ने अमरेशकुमार सिंहको ‘मानवतावादी’ पार्टीको हो । डढेलोले घर र मान्छे खान थाल्दा संविधान बनेपछि डढेलो आँफै निभ्छ, चुप लागेर बसौँ भन्ने मानिस सुशील कोइरालाको ‘शान्तिवादी’ धारको हो । तिमीहरू मिलेर लगाएको डढेलो हो, आगो फैलाउन सघाउँछु भन्ने वैद्य माओवादीको क्रान्तिकारी धार हो ।
जंगल आधा स्वाहा भएपछि डढेलो निभ्छ । त्यसपछि उनीहरू एउटै भाषा बोल्छन्– ‘मैले डढेलो निभाएँ ।’
स्वर्गबाट आएको चिट्ठी
प्रिय नेपाली !
रातदिन सहिद उत्पादन गर्या छौ, तिमेरको अरू काम छैन ? अब संघीय सहिद पनि पठाउन थाल्यौ है ? यहाँ अरू देशको भन्दा नेपालको सहिद कोलोनी ठूलो छ । तर, जात र प्रदेश अनुसारको बस्ने ठाउँ छैन । सहिदको भीडले बसिनसक्नु भो । अस्ति भर्खर आएको घैँटे भाइ यमलोकको दोबाटोमै छ । अहिले भटाभट सहिद पठाइरहेका छौँ, यही भीडभाडमा उनलाई पनि सहिद घोषणा गर्ने हल्ला सुनेकाले स्वर्ग प्रशासन कता पठाउने अलमलमा छ । सहिद घोषणा भएमा घैँटे भाइलाई स–सम्मान यता पठाउँछन्, नत्र अन्तै पठाउँछन् ।
यमलोक प्रशासन नेपाल सरकारसँग असाध्यै रिसाएको छ, ‘जसलाई पनि सहिद भन्दै पठायौ’ भन्ने गुनासो छ । अब तिमेरले गर्भपतन गर्दाको भ्रुणलाई समेत सहिद भनेर पठाउँछौ भन्ने चिन्ता यमलोक प्रशासनका एक अधिकृत गर्दै थिए । खोइ, अरू देशबाट यसरी सहिद आउँदैनन्, नेपालबाट चाहिँ लस्कर आइरहेछ । होइन, के गर्दै छौ तिमीहरू ? संविधान पनि बनाएका छैनौ रे, आफू पनि शान्तिसँग बसेनौ, हामीलाई स्वर्गमा पनि शान्तिसँग बस्न नदिने भयौ है ? तिमीहरूसँग गुनासो गर्यो नभन्नू, सदा आशीर्वाद छ, राम्रोसँग काम गर्नू । सहिद उत्पादनचाहिँ तत्काल बन्द गर्यौ भने हामीलाई सजिलो हुने थियो ।
अँ, सहिद शब्दको परिभाषा फेर्न मिल्छ ? प्रज्ञा–प्रतिष्ठानलाई भनेर जसरी पनि सहिदको परिभाषा फेरिदेऊ । किन फेर्ने भनेर नसोध, तिमीहरू बुद्धिमान छौ, कुरा बुझ्यौ होला ।
– उही सहिदहरू
अनौठो अनुसन्धान
विदेशको कुनै विश्वविद्यालयका एक जना अनौठो विषयमा अनुसन्धान गर्न नेपाल आएछ । यहाँ एक गाइडलाई आफ्नो अनुसन्धानको विषय बतायो, जनतालाई भेडाबाख्रा बनाइएको कि बनेका हुन् ? गाइडले हाँसेर भनेछ, ‘नेपालमा जनता भेडाबाख्रा हुन् भन्ने जताततै देख्न सकिन्छ ।’
गाइडले उसलाई एउटा सहर लगेर कुरा बुझायो, ‘साँधसिमाना कोर्ने विषयमा जनता भेडाबाख्राजस्तो बनेको हेर ।’ सहरमा भेडाबाख्रालाई गोठालाले खोरमा हुले जसरी मानिसलाई सेनाप्रहरीले घरघरमा हुले । हेर्दाहेर्दै आन्दोलनकारी आए, जनतालाई सडकमा निकाले । गाइडले भन्यो, ‘देख्यौ, जनता भेडाबाख्रा जस्ता छन् ।’
त्यसपछि त्यहाँ अर्थ न वर्थको कारणले तोडफोड र भिडन्त भयो । विदेशीले भन्यो, ‘वाह, क्या गजबका भेडाबाख्रा !’ भिडन्तमा मान्छे मरिरहेछन् । घरभित्र पस्ने र निस्कने क्रम जारी छ । भिडन्त जारी छ । मर्ने, मार्ने क्रम जारी छ । विदेशीले दुखी हुँदै भन्यो, ‘मरेरै सकिने भए यिनीहरू !’ नेपाली गाइडले भन्यो, ‘अहँ, अहिले मरेर सकिँदैनन्, पछि नामाङ्कन र राजधानी तोक्ने बेलामा मर्न बाँकी नै छ ।’
कारणहरूको पार्टी कांग्रेस
कांग्रेस महाधिवेशन कारणै कारणले सरेको हो । कांग्रेस भनेकै कारणहरूको पार्टी हो । भूकम्पले नेपाल सरेको छ, हिमाल सरेको छ, काठमाडौँ उपत्यका सरेको छ । त्यही कारणले महाधिवेशन पनि सरेको हो । संविधान निर्माण बारम्बार सरेका कारणले पनि महाधिवेशन सरेको हो । ७० वर्षे कांग्रेसलाई जाबो ६ महिनाको के कुरा ! यो कारणले पनि सरेको हो । अहिले संविधान बनाउन सरेको छ । बनेन भने नबनेको कारणले सर्नेछ । भविष्यमा देश बनाउनलाई महाधिवेशन सर्नेछ । दुई गुटको भिडन्तको कारणले महाधिवेशन सरेको हो, भिडन्तमा कसले जित्छ भन्ने अनिश्चयको कारणले पनि सरेको हो । कारणहरूको पार्टी भएकाले कांग्रेसमा अकारण केही हुन्न, कारणसहित हुन्छ । यस्तो बेला पनि संविधान संशोधन गर्न सकिन्छ भन्ने जनतालाई देखाउनुपर्ने कारणले पनि सरेको हो ।
महाधिवेशन किन सरेको भनेर कसैले सोध्दा शेरबहादुर देउवाले भनेछन्, ‘सुशील दाको कारणले सरेको ।’ सभापति सुशील कोइरालालाई सोध्दा भनेछन्, ‘उ कारणले सरेको ।’ अर्थात्, यसकारण पनि सरेको, त्यसकारण पनि सरेको । महाधिवेशन गर्न गाह्रो, सार्न सजिलो भएकाले सरेको हो । सर्नुको अरू पनि कारण चाहियो ? बाँकी कारणचाहिँ ६ महिनापछि पनि महाधिवेशन भएन भने सुशील र शेरबहादुरको मुखबाट सुनौँला । अनि, कारण सुनेर लोकतान्त्रिक मनोरञ्जन गरौँला ।
नेपाल, भाद्र २४, २०७२
Subscribe
Login
0 Comments
Oldest





































