सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टिभीमा संविधान

Nepal Telecom ad

यति सजिलैसित एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई–दुईबाजी निर्वाचन किन गर्नु परेको होला ?

आश्विन २, २०७२ यही बुधबारका रात संविधानसभाबाट नेपालको संविधान बहुमतले पारित भयो । यसबाट म मेरो टेलिभिजन मार्फत मजैसँग जोडिएँ । यद्यपि यो मेरा लागि अधुरो दृश्यावली थियो । यसमा कुनै गलत अर्थ नलागोस् । वस्तुत कुरो के हो भने महाभूकम्पमा परेर मेरो ‘ग्रिनलाइन’ कम्पनीको सानो टेलिभिजन अनौठो प्रकारले बिग्रिएको छ । यसको सतहको चिल्लो स्क्रीनमा आधा तस्वीरमात्र आउने गर्छ ।
जुन संविधान ३० भदौ २०७२ सालमा आएको छ, त्यसको यावत प्रक्रिया मलाई निकै चाखलाग्दो लाग्यो ।

संविधानसभाका सम्माननीय सभाध्यक्षले त्यहाँ उपस्थित माननीय सभासदतर्फ एउटा गुरुगम्भीर नजर घरिघरि एउटै सूत्रवाक्य प्रक्षेपित गरिरहे– माननीय सभासदहरू, ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ भन्नुहोला र ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न भन्नुहोला ।

र रमाइलो के भयो भने सबै माननीय सभासदहरूले खुरुखुरु यही बमोजिम गरे पनि । अर्थात् ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न र ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ भने । तर यसमा मेरो भन्नु के हो भने ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ नै भन्ने हो र ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न नै भन्ने हो ।

के यति जाबो कुरा हाम्रा माननीय सभासदहरूलाई थाहा नभएको होला र ? त्यसो भए सम्माननीय सभाध्यक्ष महोदयले बारम्बार यस्तो ‘हुन्छ’ र ‘हुन्न’ किन भनिरहनु परेको होला ? यसो ता कुनै—कुनै बखत ‘हुन्छ’ भन्नुपर्ने माननीय सदस्यले ‘हुन्न’ भनेको र ‘हुन्न’ भन्नुपर्ने माननीय सदस्यले ‘हुन्छ’ भनेको विचित्र परिस्थिति पनि नआएको होइन ।

तर यो सम्भवत भूलवश भएको हो । हाम्रा माननीय सभासदहरू कुनै भूलविहीन व्यक्तित्व होइनन् नि ! अन्यथा मौलिक संविधानसभा नम्बर एकबाटै एकथान संविधान खुरुक्क आइसक्ने थियो ।

अँ त, सम्माननीय सभाध्यक्ष तथा माननीय सभासदहरूका ‘हुन्छ’ र ‘हुन्न’को एकतमासको दोहोरी सुन्दासुन्दै पट्यार लागेर मैले मेरो टेलिभिजनको स्वीच एकाएक थिच्नुपरेको थियो । तर होइन, असलमा कुरो के हो भने मेरो घरको बिजुलीको लाइन गएर टेलिभिजन स्वत बन्द भएको हो ।

अब लामो समयदेखि अनवरत चालु सरकारी लोडसेडिङमा कसरी सम्पूर्ण रूपले टेलिभिजन अवलोकन गर्न सकिन्छ त ? त्यसै पनि मेरो टेलिभिजन अर्धनग्न अवस्थामा रहेको छ । जे होस्, यसरी संविधानसभाबाट संविधान आएकोमा एक नेपालीको नाताले मैले खुसी नहुनुपर्ने कुनै कारण छैन ।

तर मेरो खुसियालीमा एउटा जब्बर प्रश्नचाहिँ बलियोगरी गाँसिएको छ । यसरी यति सजिलैसित याने एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई—दुईबाजी निर्वाचन किन गर्नुपरेको होला ? जब कि भन्ने गरिन्छ, एक जुगमा एकदिन एकचोटी आउँछ । यो त अचम्मैले दुई—दुईपटक आयो नि माननीय सभासदज्यूहरू !

असोज ३ गते पुरै तामझामका साथ नेपालको संविधान २०७२ लागू हुने भएको छ । यसलाई राजनीतिज्ञका साथसाथै बुद्धिजीवी, पत्रकार, समाजसेवी, शिक्षक, मजदुर, कर्मचारी, विद्यार्थी, किसान, व्यापारी, पण्डित, कलाकार आदिले पनि एउटा बडेमानको कौतुहलतासहित लिएका छन् । लाममा साहित्यकारहरू उभिएका छन् ।

‘हामीले यो संविधानको साहित्यिक विवेचना गर्नु पर्दैन कविजी ?’ हिजो नयाँसडकको ‘कविकुना’मा मेरा साहित्यिक मित्रहरूका सोधाइ थियो ।

त्यसबखत मैले कुनै जवाफ दिने प्रयास गरिन । किनभने मेरो मस्तिष्कमा झट्ट कुनै कुरा आएन । अब संविधानको साहित्यिक विवेचना के र कसरी हुनसक्छ ? के हामीले संविधानको लिखत भाषा ठीक या बेठीक भनेर हेर्ने ? अर्थात् यसको शैलीगत ढाँचा मिलेको या छैन ? अथवा संविधानमा प्रयुक्त वाक्यहरूका ह्रस्व र दीर्घहरूका सावधानीपूर्वक निरीक्षण गर्ने ? इत्यादि । यस सम्बन्धमा पर्याप्त सोचविचार गरिसकेपछि मेरो मनमा एउटा साहित्यिक जिज्ञासा उत्पन्न भएको छ ।

मेरो भनाइ के हो भने यो संविधानले संविधानसभामा एउटा प्रक्रिया अन्तर्गत पहिलेकै राष्ट्रिय चरामा डाँफे र राष्ट्रिय जनावरमा गाईलाई सर्वसम्मत ढंगले अनुमोदन गरेको छ । तर हाम्रा राजतन्त्र कालदेखिका अटुट ‘राष्ट्रकवि’ कविवर माधवप्रसाद घिमिरेका विषयमा केही गरेको छैन ।

त्यसउसले कतै अहिलेसम्मका ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे असंवैधानिक राष्ट्रकवि त हुनपुगेका छैनन् ?

अन्त्यमा,
यो संविधानको स्वागत र विरोधका बीचमा मैले मेरो बिग्रेको टेलिभिजन मर्मत गर्न टिभी वर्कसपमा लगेर देखाएँ ।

यसलाई गहिरो जाँचबुझ गरेर टिभी मिस्त्रीले मलाई दुईखाले सुझाव दिएको छ । एक, यसमा यान्त्रिक रूपले बृहत हेरफेर गर्नु पर्नेछ । र अर्को, यो टेलिभिजनलाई फेरे पनि कुनै फरक पर्दैन ।

कान्तिपुर, आश्विन २, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा