साइबर अपराध सम्बन्धी सचेतना सामग्री

टिभीमा संविधान

Nepal Telecom ad

यति सजिलैसित एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई–दुईबाजी निर्वाचन किन गर्नु परेको होला ?

आश्विन २, २०७२ यही बुधबारका रात संविधानसभाबाट नेपालको संविधान बहुमतले पारित भयो । यसबाट म मेरो टेलिभिजन मार्फत मजैसँग जोडिएँ । यद्यपि यो मेरा लागि अधुरो दृश्यावली थियो । यसमा कुनै गलत अर्थ नलागोस् । वस्तुत कुरो के हो भने महाभूकम्पमा परेर मेरो ‘ग्रिनलाइन’ कम्पनीको सानो टेलिभिजन अनौठो प्रकारले बिग्रिएको छ । यसको सतहको चिल्लो स्क्रीनमा आधा तस्वीरमात्र आउने गर्छ ।
जुन संविधान ३० भदौ २०७२ सालमा आएको छ, त्यसको यावत प्रक्रिया मलाई निकै चाखलाग्दो लाग्यो ।

संविधानसभाका सम्माननीय सभाध्यक्षले त्यहाँ उपस्थित माननीय सभासदतर्फ एउटा गुरुगम्भीर नजर घरिघरि एउटै सूत्रवाक्य प्रक्षेपित गरिरहे– माननीय सभासदहरू, ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ भन्नुहोला र ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न भन्नुहोला ।

र रमाइलो के भयो भने सबै माननीय सभासदहरूले खुरुखुरु यही बमोजिम गरे पनि । अर्थात् ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न र ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ भने । तर यसमा मेरो भन्नु के हो भने ‘हुन्छ’ भन्ने माननीय सदस्यले हुन्छ नै भन्ने हो र ‘हुन्न’ भन्ने माननीय सदस्यले हुन्न नै भन्ने हो ।

के यति जाबो कुरा हाम्रा माननीय सभासदहरूलाई थाहा नभएको होला र ? त्यसो भए सम्माननीय सभाध्यक्ष महोदयले बारम्बार यस्तो ‘हुन्छ’ र ‘हुन्न’ किन भनिरहनु परेको होला ? यसो ता कुनै—कुनै बखत ‘हुन्छ’ भन्नुपर्ने माननीय सदस्यले ‘हुन्न’ भनेको र ‘हुन्न’ भन्नुपर्ने माननीय सदस्यले ‘हुन्छ’ भनेको विचित्र परिस्थिति पनि नआएको होइन ।

तर यो सम्भवत भूलवश भएको हो । हाम्रा माननीय सभासदहरू कुनै भूलविहीन व्यक्तित्व होइनन् नि ! अन्यथा मौलिक संविधानसभा नम्बर एकबाटै एकथान संविधान खुरुक्क आइसक्ने थियो ।

अँ त, सम्माननीय सभाध्यक्ष तथा माननीय सभासदहरूका ‘हुन्छ’ र ‘हुन्न’को एकतमासको दोहोरी सुन्दासुन्दै पट्यार लागेर मैले मेरो टेलिभिजनको स्वीच एकाएक थिच्नुपरेको थियो । तर होइन, असलमा कुरो के हो भने मेरो घरको बिजुलीको लाइन गएर टेलिभिजन स्वत बन्द भएको हो ।

अब लामो समयदेखि अनवरत चालु सरकारी लोडसेडिङमा कसरी सम्पूर्ण रूपले टेलिभिजन अवलोकन गर्न सकिन्छ त ? त्यसै पनि मेरो टेलिभिजन अर्धनग्न अवस्थामा रहेको छ । जे होस्, यसरी संविधानसभाबाट संविधान आएकोमा एक नेपालीको नाताले मैले खुसी नहुनुपर्ने कुनै कारण छैन ।

तर मेरो खुसियालीमा एउटा जब्बर प्रश्नचाहिँ बलियोगरी गाँसिएको छ । यसरी यति सजिलैसित याने एकजोडी ‘हुन्छ’ र ‘हुन्न’मा संविधान ल्याउन सकिन्थ्यो भने यसका लागि संविधानसभाको दुई—दुईबाजी निर्वाचन किन गर्नुपरेको होला ? जब कि भन्ने गरिन्छ, एक जुगमा एकदिन एकचोटी आउँछ । यो त अचम्मैले दुई—दुईपटक आयो नि माननीय सभासदज्यूहरू !

असोज ३ गते पुरै तामझामका साथ नेपालको संविधान २०७२ लागू हुने भएको छ । यसलाई राजनीतिज्ञका साथसाथै बुद्धिजीवी, पत्रकार, समाजसेवी, शिक्षक, मजदुर, कर्मचारी, विद्यार्थी, किसान, व्यापारी, पण्डित, कलाकार आदिले पनि एउटा बडेमानको कौतुहलतासहित लिएका छन् । लाममा साहित्यकारहरू उभिएका छन् ।

‘हामीले यो संविधानको साहित्यिक विवेचना गर्नु पर्दैन कविजी ?’ हिजो नयाँसडकको ‘कविकुना’मा मेरा साहित्यिक मित्रहरूका सोधाइ थियो ।

त्यसबखत मैले कुनै जवाफ दिने प्रयास गरिन । किनभने मेरो मस्तिष्कमा झट्ट कुनै कुरा आएन । अब संविधानको साहित्यिक विवेचना के र कसरी हुनसक्छ ? के हामीले संविधानको लिखत भाषा ठीक या बेठीक भनेर हेर्ने ? अर्थात् यसको शैलीगत ढाँचा मिलेको या छैन ? अथवा संविधानमा प्रयुक्त वाक्यहरूका ह्रस्व र दीर्घहरूका सावधानीपूर्वक निरीक्षण गर्ने ? इत्यादि । यस सम्बन्धमा पर्याप्त सोचविचार गरिसकेपछि मेरो मनमा एउटा साहित्यिक जिज्ञासा उत्पन्न भएको छ ।

मेरो भनाइ के हो भने यो संविधानले संविधानसभामा एउटा प्रक्रिया अन्तर्गत पहिलेकै राष्ट्रिय चरामा डाँफे र राष्ट्रिय जनावरमा गाईलाई सर्वसम्मत ढंगले अनुमोदन गरेको छ । तर हाम्रा राजतन्त्र कालदेखिका अटुट ‘राष्ट्रकवि’ कविवर माधवप्रसाद घिमिरेका विषयमा केही गरेको छैन ।

त्यसउसले कतै अहिलेसम्मका ‘राष्ट्रकवि’ माधवप्रसाद घिमिरे असंवैधानिक राष्ट्रकवि त हुनपुगेका छैनन् ?

अन्त्यमा,
यो संविधानको स्वागत र विरोधका बीचमा मैले मेरो बिग्रेको टेलिभिजन मर्मत गर्न टिभी वर्कसपमा लगेर देखाएँ ।

यसलाई गहिरो जाँचबुझ गरेर टिभी मिस्त्रीले मलाई दुईखाले सुझाव दिएको छ । एक, यसमा यान्त्रिक रूपले बृहत हेरफेर गर्नु पर्नेछ । र अर्को, यो टेलिभिजनलाई फेरे पनि कुनै फरक पर्दैन ।

कान्तिपुर, आश्विन २, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
आलुको नाक

आलुको नाक

विमल निभा
आलुको नाक

आलुको नाक

विमल निभा
कुखुरी काँ

कुखुरी काँ

विमल निभा
0
Would love your thoughts, please comment.x
()
x