दुर्गाप्रसाद ग्वालटारेझम्पाट काम
घनघोर जङ्गलको बिचबाट बग्ने नेपेखोलाको बगर इतिहासमा कहिले शान्त भएन रे ! पाटेबाघको एकलौटी जहानियाँ शासनताक केही समय अलि शान्ति थियो रे, तर मुर्दा शान्ति ।
एकपटक जङ्गलमा ठूलो हुट्हुटी चलेछ र सबै मिलेर पाटेबाघको शासन अन्त्य गरिछाडेछन् । त्यसपछि फ्याउरा, स्याल, ब्वाँसो, हुँडार जस्ता जनावरहरूले घुमाई घुमाई शासन गर्न थालेछन् र आफ्नै लागि सिकार र सिनो कसरी मिल्छ भन्ने ध्याउन्नमा मात्र लाग्न थालेछन् । खरायो, मृग, हरिण, घोरल जस्ता जनावरले भने दुख पाउँदै गएछन् र ब्यर्थै हुट्हुटीमा लागेर पाटेबाघको शासन अन्त्य गरिएछ भन्ठानेर पछुतो मान्न थालेका रहेछन् ।
घुमाई फिराई शासन गर्ने क्रममा एक पटक बृद्ध मुखिया फ्याउराको पालो आएछ । अर्को पटक श्यालको, त्यसपछि ब्वाँसोले शासन गर्ने गोप्य सहमति भएको रहेछ । जब फ्याउरोको शासनावधि सकियो, स्याल जुर्मुराएर शासन गर्न तैयार भएछ । तर फ्याउरालाई भने सत्ता छाड्न मन भएनछ र एउटा जुक्ति निकालेछ ।
“ये स्यालभाइ, हाम्रो सहमति अनुसार त तिम्रै पालो हो !!!, तर समयको ख्याल गरेर मात्र सत्ता हस्तान्तरण गर्ने कुरो भएको हो नि त्यसबेला, हैन ?”
“हो नि ! लु गर न त अब, समय त आयो नि !”
“समय त आयो तर ठिक आएन भाइ ! भालुखोला पट्टिका जन्तुहरूले हाम्रो नेपेखोलाका जन्तु जनावरलाई दिनसम्म सास्ती दिन थालेका छन् । तिनिहरूलाई तह लाउन अनुभवी शासक चाहिन्छ ।”
“ठिकै छ त, म अनुभवी छँदै छु नि !”
“हैन हैन, तिम्रो अनुभव भनेको हुइँयाँ फैलाउने हो। तर अहिले म जस्तो छुपेरुस्तमको जरुरी छ ।”
“हैन के हो, अलिकति नैतिकता भन्ने छैन तिमीमा ? ऐले आएर कुरो बटार्न पाउँछौ ..!”
फ्याउरो र स्यालको घम्साघम्सी पर्यो । यसै बेलामा हुँडार र ब्वाँसो अँगालो मार्दै आए । ब्वाँसोले भन्यो “हाम्रा मामाहरू हामीलाई मद्दत गर्न भालुखोलाबाट आउँदै हुनुहुन्छ । शासन चलाउने झम्पाट काम अब उहाँहरूबाटै हुनेछ ।”
एकैछिनमा भालुखोलाका भालु, चितुवा, बनेल आदि जनावरहरूको नेपेखोलो आइपुगे जुँगा ताउ लाउँदै ।
“भाइ समय आइपुगेछ । अब सरकार तिमी चलाउ !” टाँगमुनि पुच्छर लुकाएर स्याँस्याँ गर्दै कुद्दै गर्दा फ्याउराले स्याललाई भनेछ ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































