सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कविवरको विमोचन प्रेम

Nepal Telecom ad

अचेल कविवर कविता लेख्नुहुन्न, केवल विमोचन गर्नुहुन्छ । उहाँको दिनचर्या यस प्रकार छ– सखारै बिउँझिनु, आयुर्वे्दिक लाल दन्तमञ्जनले दाँत माझेर भात–सात खानु, मध्यान्हतिर बलजफ्ती दुई आँखा चिम्लेर एक निद्रा मस्तले सुत्नु, भाँती–भाँतीका स्वप्नमा अनायासै हराउनु र झटपट उठेर विमोचनका निम्ति दौरा–सुरुवाल भिरेर घरबाट हतार–हतार निस्कनु, इत्यादि । एक दिन (रातको हलुका अँध्यारो हुनै लागेको) उहाँले स्वयम्सँग प्रश्न गर्नुभयो, ‘म एक कवि हुँ या विमोचक ?’

अब यसको उत्तर पनि आफैंले दिनुपर्ने टेक्निकल बाध्यता भएकोले अन्ततस् कविवरले आत्तिएर भन्नुभयो, ‘होइन, होइन, म एक कवि नै हुँ ।’

जोसुकैलाई पनि आफ्नो विषयमा जस्तोसुकै ठीक–बेठीक धारणा राख्ने व्यक्तिगत स्वतन्त्रता छ । त्यसो भए हाम्रो कविवरलाई किन नहुने ? यसर्थ उहाँ अहिले पनि आफूलाई एक कवित्वले परिपूर्ण कवि ठान्नुहुन्छ । उहाँको आदरमा अरुहरू पनि अघि बढेर यसमा सही थाप्छन् । र अतिरिक्त नम्रताका साथ ‘कविवर’ भनेर सम्बोधन गर्छन् । तर यथार्थ के हो भने अब उहाँको प्रख्याति केवल एक विमोचनको रूपमा रहेको छ । कुनै कविको होइन । हो, इतिहासमा धेरथोर अभिरुचि राख्नेहरू भने उहाँलाई एक कवि नै मान्छन्, यो अर्कै कुरा हो । तर कुरो कुनै इतिहासको नभएर वर्तमानको भइरहेको छ । यस आधारमा म उहाँलाई ‘विमोचक कवि’ (अथवा कवि विमोचक नै भन्नोस्) भन्न रुचाउँछु । वास्तवमा म एक मध्यमार्गी भएकोले यस्तो भन्नुपरेको हो, अन्यथा कविवर एक कविबाट विशुद्ध विमोचकमा फेरिई सकेकोमा कुनै शंका छैन । यसमा अविश्वास प्रकट गर्नेले औैलामा (अथवा जेसुकैमा पनि) हिसाब गरेर हेर्न सक्छन् । हालसम्ममा कविवरले पाँच सय एकसठ्ठी थान कविता (यसमा हाइकु, मुक्तक, तांका, गीत, जगल, सानेट, काव्य सबै पर्छन्) लेखिसक्नु भएको छ भने विमोचन गन्ती योभन्दा बेसी नै छ । अर्थात् आठ सय पैंतीसवटा कविता संग्रहको उहाँले विमोचन गर्न भ्याइसक्नु भएको छ । स्रोत स् कविवरको व्यक्तित्व र कृतित्वमा परिश्रमका साथ जुटिरहेको नेपाली साहित्यको एक शोधार्थी ।

‘के यो हिसाब सही हो ?’ मैले थेसिस लेख्न व्यस्त स्नातककोत्तर विद्यार्थीसँग सोधेँ ।

‘हेर्नोस्, विभिन्न पत्रपत्रिका तथा पुस्तकहरूमा भएकाले म कविता संख्यामा पूर्णतया विश्वस्त छु । यसमा मबाट कुनै भूल भएको छैन ।’

‘अनि विमोचनको कुरो के हो नि ?’ मैले थप प्रश्न गरेँ ।

‘अँ, विमोचनबारे भने किटानका साथ म केही पनि भन्न असमर्थ छु । मेरो विचारमा यो संख्या आठ सय पैंतीसभन्दा बढ्ता पनि हुनसक्छ । एक प्रकारले बढी नै छ भने पनि हुन्छ । किनभने उहाँले गर्ने विमोचनको क्रम जारी नै छ ।’ शोधार्थीको जवाफ थियो, ‘माफ गर्नोस्, म साहित्यको विद्यार्थी हुँ, गणितको होइन ।’

जे होस्, वर्तमान पुस्ताका तमाम कविहरूलाई असाध्यै सहुलियत छ । विमोचनको मामलामा यिनीहरू कम्ता भाग्यमानी छैनन् ! के गाह्रो छ ? सबैका अघिल्तिर एक सफल विमोचकको मुद्रामा साक्षात् कविवरको गरिमामय उपस्थिति रहेको छ । अतएव सबै कवि धमाधम आआफ्ना पुस्तकको विमोचन गराइरहेका छन् । यही नेपाली साहित्यको फाँटमा कविवरको कुल उपयोगिता हो । यसको सुखद परिणामस्वरुप स्थिति कहाँसम्म पुगिसकेको छ भने अहिलेका कविवर कविताको पुस्तक पछि प्रकाशित गर्छन् र कविवरको करकमलबाट विमोचनको योजना अघि बनाउँछन् । कतिपय चल्तापुर्जा कविले त कवितासमेत विमोचनको अग्रिम योजनापश्चात लेख्ने गरेका छन् । अर्थात् कविता लेख्नु भनेको विमोचनका लागि नै हो । नत्र किन लेख्ने ? यसको अर्थ के हो भने विमोचन नै प्रमुख कार्य हो । र कविता–सविता भनेको त्यस्तै हो । अलिकति विषयान्तर भयो जस्तो छ । किनभने विषय नयाँ कवि र उनीहरूका लेखिएका वा नलेखिएका कविताको होइन । अपितु प्रसंग विमोचनप्रेमी कविवरको हो । यतिका विमोचन सफलतापूर्वक सम्पन्न गरिसकेपछि पनि हाम्रो कविवर त्यति सन्तुष्ट हुनुहुन्न । उहाँ पर्याप्त अप्रसन्न देखिनुहुन्छ । कारण, उहाँको कोमल अन्तरमा एउटा पीडाको बास छ । एक दिन सोही पीडाले कविवरसँग भन्यो, ‘यी नयाँ कविहरूले के कविता लेख्छन्, न छन्द छ न शृंगार ?’

‘यतिमात्र होइन, न रस छ न भक्तिभाव नै !’ कविवरले त्यसमा तत्काल थप्नुभयो ।

‘त्यसो हो भने तपाई यस्ताको किन विमोचन गर्नुहुन्छ ?’ पीडा पड्कियो ।

‘के गर्ने, बानी भइसकेको छ । मैले कविता त लेखिनँ–लेखिनँ, अब यो विमोचन पनि नगरेर के गर्ने त ?’ कविवरको स्वर पनि चर्कियो ।

यो सुनेर पीडा व्यंग्यपूर्ण हाँसोमा बदलियो ।
यसको प्रत्युत्तरमा कविवरले केही भन्नुभएन । आफ्नो तेजिलो मुखमण्डल अँध्यारो पारेर त्यसै धुमधुमती बसिरहनुभयो । यसको एउटा अर्को कारण पनि छ । आजको मितिमा उहाँलाई कुनै विमोचनको सादर निमन्त्रणा आएको थिएन । यसको फलस्वरुप उहाँको दिनचर्या सम्पूर्णत खलबलिएको थियो । वस्तुत कविवरको भारीभरकम शरीरभित्रको आत्मा छटपट–छटपट गरिरहेको थियो । यस्तो विमोचनहीनताको अवस्था उहाँलाई किमार्थ स्वीकार थिएन । अब के गर्ने त ? बेलुकीपख एक सीसी दुधिया (एक मित्रराष्ट्रको राजदूतावासबाट प्रेमोपहार) घुट्क्याइसकेपछि उहाँले एउटा गजबको युक्ति निकाल्नुभयो । याने भर्खरै प्रकाशित एक युवाकविको गजल संग्रहको कविवरले आफ्नै कोठाभित्र नियमानुसार विमोचन गर्नुभयो । त्यसपछि अपूर्व स्रोताविहीन स्थितिमा पनि झन्डै आधा घन्टा साहित्यिक भाषण दिनुभयो । र अन्त्यमा गदगद भई आफैं ताली पड्काएर मौनधारण गर्नुभयो ।

कान्तिपुर, भाद्र २६, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा