कुरामा कुरा
उसको चाहना थियो
उसकै भान्छामा भात पाकोस् !
तरकारी उसैले काटिदिएको होस् !
अचारमा नून पनि उसैले छुट्टयाएको परोस् !
तर, उसको चाहना तुहियो ।
आँगनमा टहल्दा टहल्दै उसले सुन्यो
बनभात खाएर पो नाँच्दै छन् रे !
जेठो, माहिलो, साँहिलो हाँस्दै छन् रे !
एक छिन, ऊ तिलमिलायो
झट्ट दूतलाई अह्रायो
दूत वायु बेगमा त्यहाँ पुग्यो
जसलाई खबरदारी गर्न खोज्यो,
उल्टै आफै नाजवाफ बन्यो
कुबेलामा आएछ उ फर्क्यो
आफ्नै प्रभुको चरणमा ।
ईति बृतान्त सुनि प्रभु रन्थनियो ।
जगायो मसान
नन्दी, भृङ्गीलाई उराल्यो
ताण्डव मच्चायो
दाह्री कन्यायो
बिडम्वना, दाह्रीमा जुम्रा परेछ
लिखा टल्क्यो, संसारले देख्यो ।
काठमाडौं