नेपाली काइदा सबैलाई फाइदा
मन्त्रीज्यूले मञ्चबाट माइक गर्जना गरे– यो मेरो निर्वाचन क्षेत्र हो । मलाई थाहा छ, यसको विकास कसरी हुन्छ भन्ने कुरो । यहाँ विकासका सम्भावनाहरू प्रशस्त छन् । यहाँ सामाजिक, आर्थिक राजनैतिक, शैक्षिक हरेक क्षेत्रमा विकासको क्रान्ति ल्याउन सकिन्छ । तर यसका लागि समय लाग्छ । सरकारसँग पैसा पनि छैन । जादूको छडी पनि छैन । हाम्रो सरकार विकासका लागि कटिबद्ध छ । म पनि विकासको लागि प्रतिबद्ध छु ।
प्रत्येक निर्वाचनको समयमा आफ्नो निर्वाचन क्षेत्रमा मन्त्रीज्यू यस्तै भाषण गर्नु हुन्थ्यो । आशा, आश्वासन र सपनाहरू एक मुष्ठ बाँड्नु हुन्थ्यो । जति बाँडे पनि नसकिने यस्ता आश्वासन र सपनाहरू मन्त्रीज्यूको भण्डारमा मनग्गे थिए ।
मन्त्रीज्यूलाई जिताउन बुथ कब्जा गर्ने, अपराध शाखाका नाइकेले एकान्तमा खुसुक्क भन्यो– प्रत्येक चुनावमा यसरी आश्वासन मात्र कति दिने मन्त्रीज्यू ? हाम्रो क्षेत्रमा विकासका सम्भावनाहरू प्रशस्त छन् भने विकास किन नगरेको त ? अलिअलि विकास नगरे त हामी कार्यकर्तालाई यहाँ टिक्न दिँदैनन् । हजुर त चुनाव जितेर बेपत्ता भैहाल्नु हुन्छ । जनताको मार खाने अचानो त हामी पो हुन्छौं ।
मन्त्रीज्यूले आफ्नो दाहिने हात भनिने ती कार्यकर्ताको काँधमा देब्रे हात राखेर अपनत्वको घनत्व दर्शाउँदै भने– धत् लाटा यसरी विकास लागि चिन्तित हुनुहुँदैन । विकास भनेको त निरन्तर चलिरहने प्रक्रिया हो । यहाँ सडक, पुल, विजुली, पानी, स्कुल सब थोकको व्यवस्था भयो भने भोली मैले विकास कहाँ गर्ने ? सबै सुखी सम्पन्न र शिक्षित भए भने हामीले कसमाथि शासन गर्ने ? भाषण गर्नलाई पनि त विषयवस्तु चाहियो र विकासभन्दा राम्रो विषय भाषणका लागि अर्थाेक क्यै हुँदैन । त्यसैले तातै खाउँ जल्दी मरुँ गर्न हुँदैन ।
अहिले तिम्रो विकास हुँदैछ, मेरो विकास हुँदैछ । भोलि अरुको पनि पालो आउँछ विकास गर्ने । यहाँ यस्तै परम्परा रहिआएको छ । मौकामा चौका हान्नै प¥यो । यतिका वर्षदेखि मेरो पट्टशिष्य भएर पनि तिमीले नेपाली राजनीति बुझेनछौ । नेपाली काइदा सबैलाई फाइदा भनेको त यै त हो नि !
अपराध शाखाको प्रमुख उक्त वरिष्ठ कार्यकर्ताको पनि चित्त बुझेछ । मन्त्रीज्यूले बुझाएपछि कार्यकर्ताले बनुझ्ने त कुरै आएन । जानेबेलामा मन्त्रीज्यूले अपराध शाखाका ती प्रमुखलाई आधुनिक हात हतियारले चाँजोपाँजो मिलाउन व्ल्याङ्क चेक दिएर गएछन् ।
थानकोट, काठमाडौं