मुक्तिबन्धुदुई फरक कोणहरू
गैरआवासीय नेपाली बन्धुहरूलाई लिएर मेरा मनमा एकै समयमा दुई भावकोणहरू आए । यी भावमा केही साम्य छन् भने केही वैषम्य पनि छन् । निजात्मक र परात्मक अभिव्यक्तिका दुवै भावलाई मैले छन्दोबद्ध पस्केको छु । शार्दूलविक्रीडित मलाई मिठो लाग्ने छन्द हो । शार्दूलहरू त हामीकहाँ अहिले क्रमशः रित्तिंदै गएका छन् । शार्दूलहरू रित्तिंदैमा शार्दूलविक्रीडाको स्मृतिकोष कहाँ रित्तिन्छ र ? हिंग सक्किए पनि हिंग पोको पारेको टालो भन्ने नेपालीमा उखानै छ ।
१. गैरआवासीय नेपाली मन
चङ्गा जे जति चङ्गियोस् धरणीको सम्व्याप्त आकाशमा
आफ्नो भूमि लटाइ हो प्रणयको धागो जुडेको जहाँ ।
हामी देशविदेशमा छरिनुको आप्mनै कथा छन् तर
हाम्रो नाभि जहाँ छ केन्द्र तनको नेपाल हाम्रो घर ।
पुर्खाको इतिहास, उच्च चुचुरा, वुद्धत्वको वैभव,
भू जातित्व र सांस्कृतिक विविधता सद्भावको सौरभ ।
हामी छौं परदेशमा तर सधैं हाम्रा यिनै नाक हुन्
मीठा गौरव स्वाभिमानसितका हाम्रा यिनै धाक हुन् ।
हाम्रा उन्नतिका सुरम्य सपना नेपालमै फुल्दछन्
हाम्रा उर्बर कल्पना यी जति छन् नेपालमै खुल्दछन् ।
यो नेपाल कतै प्रकम्पित हुँदा हल्लन्छ हाम्रो जगत्
यस्तो लाग्छ जहाँ पुगे पनि यही नेपाल हाम्रो रगत् ।
यस्तो लाग्छ जति भरे पनि घडा नेपालमै पोखियूँ
नेपाली नयनार्थ जीवनकथा नेपालमै लेखियूँ ।
यो नेपाल हराभरा मनहरा सम्पन्न होस् चम्कियोस्
हाम्रो जीवन धन्य बन्छ यसमै नेपाल माथि पुगोस् !
२. गैरआवासीय नेपालीपन
मौरी भागिसके विरक्त मनझैँ खाली भयो घार रे
भर्लान् के अरिंगालले मह यहाँ सौजन्यले प्यारले ?
माया मोह जिजीविषादि नरको माटो कि बाटो ? भन,
खुट्टा छन् त जता गए पनि हुने कस्तो रह्यो जीवन ?
स्वेच्छाले गतिमान् बन्यौ गइसक्यौ पाताल टेकीसक्यौ
स्वर्गै हो त भने सरक्क तिमीले त्यो स्वर्ग भेटीसक्यौ ।
के माया छ र यो सुखा बगरको पानी त्यतैको मिठो
छन् स्वादिष्ठ विभिन्न भोजन भने के सम्झिनु यो पिठो ?
छोडी देश बिरानियौ अव तिमी हाम्रा रहेनौ पनि
झुल्किन्छौ कहिले यतातिर कतै सन्तानजस्तै बनी ।
यस्तै नाटक खेल्नमा रस बस्यो लौ खेल खेल्छौ कति
बन्दैनौ यस खेलले अव तिमी यो देशको ओखती ।
माटो छोडी बिरानिनेहरू यहाँ माटो भनी फर्किए
बाटो छोडी कुबाटिनेहरू यहाँ बाटो भनी फर्किए
सोधे है इतिहासलाई तिमी नै फक्र्यो कि खोला भनी
आफैलाई नढाँट है अव उता नेपालप्रेमी बनी ।
तिम्रो प्यास बुझाउने किसिमको पानी यहाँ भेटिए
या पानी नभएर नै पनि यसै तृष्णाहरू मेटिए ।
बस्दा हौ तिमी फर्किई बगरमा, यो कल्पना मात्र हो
साँच्चै जीवनमा त सम्भव कहाँ यस्ता नयाँ पात्रको !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest








































