सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

पोयटल्ली

Nepal Telecom ad

भारतीय नाकाबन्दीको स्वाभाविक परिणामस्वरूप पेट्रोल, डिजेल, ग्यास, मट्टितेल आदि उताबाट आउन नसकेको भए तापनि यताबाट भने साहित्यकार, चित्रकार तथा नाटककारहरू धमाधम सीमापारि भारत पुगिरहेकै स्थिति हो । यही घनघोर मैत्रीपूर्ण भनिएको कल्चरल भ्रमणको सिलसिलामा केही दिनअघि मात्रै एक नेपाली कवि टोली भारतको राजधानी दिल्ली पुगेर आकाशमार्गबाट स्वदेश फर्की पनि सकेको छ ।

सो आधा दर्जनजति स्वनामधन्य कवि–कवियत्रीका टोलीमा एकाध अकवि पनि शानले सामेल थिए । साहित्यको अत्याधुनिक काव्यधारामा लगभग अनुमोदित भइसकेको ‘अकवि’ नभएर सही अर्थमा अकवि । जस्तै, नेपाल सरकारको एक उच्च हाकिमको श्रीमतीले अहिलेसम्म कविता–सविता नकोरेको भए पनि कवि टोलीमा किन थिइन् भने श्रीमानले डायरीमा अलि–अलि कविता कोर्ने गरेका थिए । अहिले हाकिमसाबको सोही कवित्व बोकेर उनी कवियत्रीको रूपमा टोलीमा सम्मिलित थिइन् । यस्तै एक सत्ताधारी पार्टीको वरिष्ठ नेताको सालो कवि टोलीमा सदेह उपस्थित हुनुको गाँठी कारण के भने आफ्नो स्कुले जीवनकालमा दुई–चार सायरी शुक्रबारे विद्यालय गोष्ठीमा पढेर सुनाएका थिए रे ! के यी दुईले नेपाली साहित्यको कथित अकविको साटो सच्चा अकविको सशक्त उदाहरण प्रस्तुत गर्दैन र ? जे होस्, ‘भारत–नेपाल कला संगम’को अर्धसरकारी निमन्त्रणामा दिल्ली पुगेको यो कवि टोलीले त्यहाँ सफलतापूर्वक एक अनुपम काव्य सन्ध्या प्रस्तुत गरेको थियो ।

नइदिल्लीको भव्य ‘मयुरासन’ सभाकक्षमा भएको काव्य सन्ध्यामा सर्वप्रथम नेपालको एक स्वयंलाई स्थापित एवं प्रतिनिधि कवि ठान्ने परम लोकतान्त्रिक कविले आफ्नो समसामयिक कविता वाचन गरे ।
‘मोदीको आगमन
हिमाल र चिमालका
पातहरूका असरल्ल सरसर
हिउँको उच्च राप
र गोलसिमलको नृत्याकार मुद्रा
कुनै टाढाको परिदेशको
आत्मिक शान्ति
र आग्नेय नेत्र संवाद
ताराहरूका ढुलमुले कान्ति
र आकाशको सर्वउडान
कुनै पनि रातको गरिमामा
प्रकाशको अन्ध सन्देश
यस्तै चिरकालको यौवनको
भावनात्मक तीव्र आक्रमण
पीडाको वाचाल भावना
पृथ्वीको स्पर्श दीक्षा
नमन योद्धाको मोक्ष चेतना
सिंहद्वारमा स्वागतम
अहा ! मोदीको आगमन ।’

तालीले गुञ्जायमान वातावरण केही शान्त भएपछि आफ्नो सिटबाट जुरुक्क उठी भारतको एक सर्वशृंगारयुक्त सुन्दरी कवियत्रीले सम्पूर्ण हावभावसहित हिन्दी भाषामा काव्यपाठ गरिन् ।
‘तुम्हारा सम्बोधित नयन
चिरकालका दग्ध यौवन
कुण्ठित सतत यह जलन
कुछ कहना–कहता सा मौन
क्या प्यार नही हैं सघन ?
वियोगीका यह अन्तर्मन
आहका गहरा बन्धन
अनजान शुष्क पवन
चलरहा सनसन–सनसन
क्या प्यार नही हैं सघन ?
मेरा सब तन मन धन
तुम्हे बार–बार अर्पण
घटाका उत्ताल घनघन
प्रेमिल–प्रेमिल सा चलन
यही तो हैं प्यार सघन ।
यही तो हैं प्यार सघन
यही तो हैं प्यार सघन
यही तो हैं प्यार सघन…।’

‘मयुरासन’ हलमा सुन्दरी कवियत्रीको सघन प्यार तालीको तरंगमा डुब्यो । तत्पश्चात नेपाली कवि टोलीबाट सालो कविको कविता पढ्ने पालो आयो ।
‘गोरेटो त्यो गाउँको
लौन आज
खोजी–खोजी थाके नि
पहिल्याउन सकिन
पहिल्याउन मैले सकिन…।’

कालो चस्माभित्रका एकजोडा आँखा चिम्म बन्द गरी (छेउबाट देखिएको) निमग्न भावमा काव्यपाठ गरिरहेका सालो कविको दाहिने कानमा ओँठ टाँसेर सँगै रहेका प्रोफेसर कवि फुसफुसाए, ‘होइन, यो प्रेमध्वजले गाएको गीत होइन कविजी ?’ तर यसको किञ्चित परवाह नगरी सालो कविको काव्यपाठ आफ्नो उच्च निरन्तरतामा सलल्ल बगिरहेको थियो ।
‘…आँखा छोपी नरोउ भनी
भन्नु र्पया छ
मुटुमाथि ढुंगा राखी
हाँस्नु र्पया छ
भोलि उठी कहाँ जाने
केही थाहा छैन
फर्की आउने हो कि होइन
केही थाहा छैन
वाचा भोलि फर्की आउने
गर्नु र्पया छ
मुटुमाथि ढुंगा राखी
हाँस्नु र्पया छ
कान्छीलाई घुमाउने
काठमाडौं सहर
मनको रहर
कान्छीलाई घुमाउने
काठमाडौं सहर
गाउँ–गाउँबाट उठ
यो देशको मुहार
फेर्नलाई उठ
गाउँ–गाउँबाट उठ
नक्कलीलाई भगाइ लग्यो
झिल्केले
झिल्केलाई गाल र्पयो
गोरेटो त्यो गाउँको
लौन आज
खोजी–खोजी थाके नि
पहिल्याउन सकिन
पहिल्याउन मैले सकिन ।’

मञ्चमा आसीन नेपाली कविहरू सालो कविको गजबको काव्यपाठले सम्पूर्णत जिल्लारामको अवस्थामा थिए । तर ‘मयुरासन’को हलमा जम्मा भएका भारतीय काव्यश्रोताहरूले जुन विस्फोटक प्रकारले ताली बजाए, त्यसले के सावित भयो भने सालो कविको काव्यपाठ बेसरी जमेको थियो ।

अब भारतको एक सुप्रसिद्ध हास्यकविको कविता पढ्ने अवसर आएको थियो । उनी कुर्सीबाट उठनासाथ सबै जोडले हाँस्न थाले । तर कविता आरम्भ भएपछि विलकुलै चुप ।
‘बिल्ली मौसी बोली
दूध नही कटोरी खाउ
यह हैं दिल्ली का बिल्ली
म्याउ, म्याउ, म्याउ ।’
यसको लगत्तै अर्को हास्य कविता ।
‘पटुराम का खाना
घोडी का हैं दाना
अम्रिका से आना
म्याङ्गो और बनाना
पेटुराम का खाना ।’

यसमा बेसरी ताली बजेकोले अलि हौसिएर हास्यकविले तेस्रो कविता पाठ गरे ।
‘पण्डितजी की खटिया
कब से टुटा पडा हैं
पण्डितजी एक पाव से
तब से खडा–खडा हैं
यह देखकर पण्डिताइन
पहुँच चुकी हैं माइका
सोच रहा हैं पण्डितजी
अब बदलुंगा जायका
पण्डितजी की खटिया
कब से टुटा पडा हैं ।’

भारतीय कविको हास्यकविता पश्चात नेपाली कविको गम्भीर कविता प्रारम्भ भयो । एक भूतपूर्व प्रगतिशील कविले केही सुन्दर एवं चित्ताकर्षक हाइकु पढे ।
१. नग्न चिल
धुलाम्य आकाश
र टेढो चन्द्रमा ।
२. क्रुर बाइसिकल
पोपको पेट
औ राजकीय सान्त्वना ।
३. छायादार कथन
आवेग प्लास्टिकको
र प्रेत फेसन ।
४. फलामे मोनालिसा
ड्रेगनको सपना
हजुर–हजुर ।
५. ल्यापटपमा वमन
इतिहासको नीलगाई
उडनतस्तरी भाडो ।
६. किमोनो ब्लैकबेरी
सर्वतको चुटकिला
निघन्टु साइला ।
७. चित्तको वक्तव्य
स्ट्याचु अफ लिबर्टी
मेरो प्रिय हारमोनियम ।
८. पर्वतीय मैनाचरी
धुलै धुलोमा उडी
उही ज्यानमारा साहु ।

यसपछि हलको जमेको ठोस गम्भीरतालाई चरक्क चिरेर एक भारतीय किन्नर कविले मच्चि–मच्चिकन पुरै सुरमा गाए (गाइन्) ।
‘पुकारता चली हुँ मैं
सुबह से ढली हुँ मैं
कौन हैं अन्तर में
प्यार से पली हुँ मैं
म त कहो इस तरह
कभी से जली हुँ मैं
जो कहो तुम मुझे
बुरा नही भली हुँ मैं
पुकारता चली हु मैं
सुबह से ढली हुँ मैं ।’

वन्समोर–वन्समोरको होहल्ला भएपछि प्रफुल्लित किन्नर कविले फेरि कविता पाठ गर्न खोजेका (की) थिए (थिइन्), तर सभासञ्चालकको हस्तक्षेपले (समय नभएको) अन्त्यमा नेपाली कवियत्री अर्थात हाकिमसाबको श्रीमतीले टाउको निहुराएर एक सुरमा कविता पढ्न थालिन् ।
‘सयौं थुँगा फूलका हामी
एउटै माला नेपाली ।
……………………
……………………
……………………
काव्य सन्ध्याको मध्यान्तरमा स्वादिष्ट किन्तु हलुका खानपान पश्चात भारतका एक विश्वविद्यालय स्तरका प्रख्यात आलोचकले समग्र काव्य पाठमाथि आलोचकीय दृष्टिका साथ आफ्नो गहन मनतव्य प्रदान गरे । (हिन्दी भाषाबाट नेपालीमा संक्षेप) ।
मित्रहरू,
हामीले नेपाल–भारतका लब्धप्रतिष्ठ कविहरूका महत्त्वपूर्ण काव्य श्रवण गर्यौं । भारतीय कविहरूका विषयमा मैले पहिले नै व्यापक सिंहावलोकन गरिसकेकोले आज मूर्धन्य नेपाली कविहरूका हृदयोद्गारको भावपरीक्षण गर्नेछु । यद्यपि नेपाली भाषामा मेरो पकड शून्यप्राय छ । आज पाठ गरिएको कविता ‘मोदीको आगमन’ साहित्य जगतमा वर्तमान समयको सौन्दर्ययुक्त काव्यआहत हो । यतिको चिन्तनप्रद कविता मेरो हृदयपथमा कहिल्यै आएको थिएन । निस्सन्देह कविले एउटा वाचाल विम्ब खडा गरेर नेपाल र भारतको साझा काव्यलाई ऋणी बनाएका छन् । यसमा मलाई सेक्सपिरियन पिरियडको जबर्जस्त छाया अनायास दृष्टिकोचर भयो । तथापि यसलाई म उत्तरआधुनिक चेतनाबाट च्युत भएको ठान्दिन । यही अदभुत काव्य–सन्तुलनले कवि धन्य भएका छन् । अतस् म उनको प्रतिभाले अभिभूत भई हार्दिक अभिनन्दन गर्छु । तर मलाई सबभन्दा प्रिय लागेको कविता ‘गोरेटो त्यो गाउँ’ हो । यसको कारण के हो भने यो कविताको नूतन भावपक्षले मलाई सोझै मेरो सुदूर गाउँको न्यानो काखमा र्पुयायो । महाकवि सुमित्रानन्दन पन्तको कविता ‘ग्राम्या’को समकक्ष यो कवितालाई मेरो साधुवाद ! अझ बीच–बीचमा आएको ‘कान्छीलाई काठमाडौं घुमाउने’ बेजोड प्रसंगले कविता पूर्णतस् तरोताजा भई विश्व कविताको स्तरलाई स्पर्श गर्न पुगेको छ । वस्तुतस् कलात्मक हिसाबले यो कविता किट्स शैली र वर्डसवर्थका विश्वप्रसिद्ध कविताहरूभन्दा कुनै पनि दृष्टिकोणले कम छैन । कुनै–कुनै पंक्तिमा त अझ अग्रगामी प्रतीत भएका छन् । जस्तै स् नक्कलीलाई भगाइ लग्ने झिल्केको भावपंक्ति । मेरो विश्व कवितालाई सहस्र आदर ! यस्तै आज पाठ गरिएका ‘हाइकु’ले पनि ‘गागरमा सागर’को महान कार्य सफलतापूर्वक सम्पन्न गरेको छ भन्नमा मलाई कुनै संकोच महसुस हुँदैन । खास गरेर तेस्रो नम्बरको हाइकुमा प्रयुक्त ‘प्लास्टिकको आवेग’ले मेरो मनको अन्तर–कुन्तरलाई झङ्कृत पारिदिएको छ । त्यसमाथि ‘प्रेतको फेसन’ । वाह ! यी हाइकुहरू जापानी हाइकुभन्दा अपेक्षाकृत बढी प्रभावशाली भएकोले म हाम्रो विश्वविद्यालयको नेपाली विभागलाई पाठ्यक्रममा समावेश गर्ने सल्लाह दिनेछु । कविजीका सबै हाइकु वजनदार छन् । यसले नेपाल र भारतको साहित्य क्षेत्रमा ‘हाइकुइजम’लाई बढावा दिए कुनै आश्चर्य मान्नु पर्दैन । म उनको हाइकुसहित कविजीलाई नमन गर्छु । हार्दिक नमन ! यही प्रकारले नेपालका नामचीन कवियत्रीले ‘सय थुंँगा फूल’ कविता पाठ गरेर फूलको सौन्दर्यशास्त्रको महिमा गाएकी छिन् । सुन्दर फूलले हृदयमा शूल उत्पन्न गर्न सक्छ । परन्तु, सबै शूलहरू हृदयको भूल हुँदैनन् । कदाचित भए पनि मीठा–मीठा अन्तरका भूल हुन्छन् । अरे ! कवियत्रीको कविताको फूलले त मलाई पनि कवि बनाएछ ! म जस्तो शुष्क हृदयको आलोचकलाई कवि बनाउन सक्ने क्षमता भएका ऊर्जावती कवियत्रीलाई म हृदयदेखि नै शिर झुकाएर श्रद्धा प्रकट गर्छु । अहो ! यो पनि हृदय, शिर र श्रद्धामिश्रित कविताझैं वाक्य निर्मित हुन पुगेछ ! म नेपालका महान कवियत्रीलाई यस्तै सुन्दर–सुन्दर फूलहरूले परिपूर्ण कविताहरू रचना गर्ने अतिरिक्त आग्रह गर्दै आफ्नो संक्षिप्त टिप्पणीलाई यहीं विश्राम दिन्छु । धन्यवाद !

यो काव्यसन्ध्याबारे एक स्थानीय अखबारमा सानो खबर छापियो– ‘काठमांडु में भारतीय दूतावास के सहयोग से होनेवाले काव्यगोष्ठी ‘पोयमांडु’ के तर्ज में दिल्ली में एक ‘पोयटल्ली’का आयोजना हुवा । इस मेंं नेपाल से आए बडे कवियों का कविता पाठ हुवा । कुछ भारतीय कवियों ने भी अपना कविता पढा ।

कान्तिपुर, पुस २५, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ज्वाइँबाबा

ज्वाइँबाबा

विमल निभा
छेपाराख्यान

छेपाराख्यान

विमल निभा
जुत्ता

जुत्ता

विमल निभा