ठुलाकै रजाइँ ??
ममाथि आकाशको जून छैन
र बाँसुरीको मिठो धून छैन
तिमी भने भोज रोजै डकार्छाै
कठै मलाई ढिको नून छैन ।
म बस्छु पाखा तिमी राजधानी
छ है अझै त्यै पुरानै कहानी
सधैं नयाँ रात तिम्रो, मलाई
सधैं पुरानै र रुन्चे बिहानी ।
खडा भयौ यै धुलोमाथि टेकी
डराउँछौ यै धुले गाउँ देखि
ढिँडो र सिस्नो तिमीले भुलेछौ
गुडेर हिँड्छौ जमीनै नटेकी ।
हिँजो थियौ के र आजै भयौ के
तिमी थियौ के र हामी थियौं के
बढ्यो कहाँबाट तिम्रो उँचाइ
पुगी चुलीमाथि सारा भुल्यौ के ?
तिमी समानै छ को बेइमान
उठ्यौ तिमी माथि बेची इमान
तलै रह्यो देश उक्ल्यौ तिमी नै
तिमीहरूकै भयो मोज सान ।
नदीकिनाराहरूमा बसेका
र पेटमा क्रूर पीडा कसेका
तिनीहरू के मनुष्यै भएनन्
कि हुन् तिनी भूल गर्दै खसेका ?
गरीबको दुःखले के छुँदैन
गरीबको जिन्दगी के हुँदैन
सधैं धनीकै ठुलाकै रजाइँ
कि आँसु देखेर चित्तै रुँदैन ।
बुटवल