देवीप्रसाद घिमिरेआउनुहोस् भुँडीजाम गरौँ !
जिन्दगीका पन्नासँगै कचपल्टिँदो रातका तन्ना पल्टाएर पिँढीमा बसेर ठुटे बिँडी सल्काउँदै टिठ लाग्दो अतीतलाई वर्तमानसँग दाँजेर सुस्केरा हाल्दै मेरा असी वर्षे हजुर बाले एकाबिहानै प्रश्नको घोचो तेर्साउनुभयो– हैन ए काहिँला ! तँ एकाबिहानै मलाई एक गिलास तातो चियासम्म नख्वाई कता जान लागेको हँ ? म लाजले भुतुक्क भएँ, कसरी उत्तर दिऊँ मेरा हजुर बालाई ! उत्तर दिऊँ भने मसँग त्यसको उत्तरै छैन । नदिऊँ भने एउटा सन्तानले आफ्ना पुर्खालाई आदरपूर्वक पाल्ने कर्तव्यबाट म कसरी विचलित बनूँ । त्यै पनि भएभरको साहस बटुलेर मैले लाचार भएर उत्तर दिएँ– हजुर बा हिजोसम्म नेपाल बन्द थियो, आज बिहानैदेखि तेलबन्द भएकाले म विलखबन्दमा परेको छु ।
हिजो कुँडेभरि दुध तताएर मलाई ख्वाउँदै हुर्काउनुहुने मेरा हजुर बालाई आज म एक गिलास तातो पानी ख्वाउन सक्दिनँ भने के म जस्ता सन्तानले पुर्खाको प्रतिष्ठा बाचइराख्न सक्लान् ? म प्रश्नमाथि प्रश्न थोपर्दै आफैँसँग हराउन थालेँ । आउने भोलि कस्तो अनुहार लिएर आउला भनी आफैँसँग डराउन थालेँ । म यसरी टोलाएको देखेर हजुर बा फेरि कड्कनुभयो, सहरमा गएपछि त स्वर्गै देखिन्छ भन्दै गाउँको त्यत्रो पौरख सागका दाममा बेचेर सहर पसियो, आज यहाँ मरिच चाउरिए झैँ साँधुरो जिन्दगीसँग झन् साँधुरिँदै बाँच्नुपरेको छ । यो मानवता हराएको मान्छे नै मान्छेको जङ्गलभित्र कृत्रिम संसारको काल्पनिक सुखमा सपनामा खेले खेलाए झैँ बाँच्नुपर्ने विडम्बनाले म त छक्कै परेँ काहिँला ! खै प्रजातन्त्र आएपछि त के के न पाइन्छ भन्दै पढ्न छाडेर राजनीतिमा लागिस्, आज घरको न घाटको भएर यसरी भौतारिन्छस् ! खै त बाबै ! तेरो त्याग, तपस्या र निष्ठाले आज तँलाई एक गिलास तातो पानी खान पनि लाममा बस्नुपर्छ भने गर्दे न त तँ पनि एकदोटा जाम !
म लाटाले पापा हेरे झैँ भएँ, म सुनी मात्र रहेँ । मसँग बोल्ने साहस थिएन अनि बोल्ने शब्द पनि थिएनन् । त्यसैले हातमा बोकेको प्लास्टिकको जर्किन दरो समातेर म लागेँ, तेलको लाइन बस्न । बिहान पाँच बजेदेखि लाइन बसेँ, ठ्याक्कै नौ बजेसम्म । तर गजब चाहिँ के भयो भने मैले नौ बजेसम्म लाइनमा बस्दा पनि तेल पाइनँ । एक्कासि हल्ला सुनियो लौ, तेल सक्कियो, अब दुई दिनपछि आउँछ । म खाली जर्किन बोकेर भारी मन लिएर बिस्तारै कोठामा पुग्दा श्रीमतीले राता राता आँखा पार्दै भनिन्– हैन, खै तेल ल्याएको ? म चुप लागेर कोठामा पसेँ । मेरा छोराछोरी स्कुल जान लागेका खाना समयमा नभएर लगाएको पोसाक पनि फुकालेर रुन थाले । उता हजुर बा फत्फताउन थाल्नुभयो । म समयसँग वाक्क भएर थकित भएँ । पेटमा आन्द्रा बटारिन थाले, खाने केही छैन । पैसा टोक्नु भएन । त्यसै बेला गाउँबाट विचारको बाढीले गाउँ डुबेपछि बाँच्ने चाहनाको खोजीमा छिमेकी काकासहित चार जना पाहुना थपिए । म लाजले हो कि लोभले त्रासले हो कि क्षोभले त्यसै त्यसै अमिलो मन बोकेर सहरलाई धिक्कार्न थालेँ ।
उता नयाँ पाहुनाको आद्योपान्त खबर सुनेपछि हजुर बा थर्र कामेर बर्र आँसु खराल्दै भुँइमा ढल्नुभयो । गाउँघरमा बस्न साह्रै मुस्किल प¥यो रे ! अब त हिजोका पाठशाला सबै बन्द भए रे ! शिक्षकहरूलाई जङ्गलमा झुन्ड्याइन थालियो रे ! खै, गाउँभरि सन्नाटा छाएको छ रे ! बारीभरि टारीभरि कुहिएका लास मात्र दुर्गन्ध फैलाएर बसेका छन् रे ! बिहान चिर्बिराउने चरी बारुदको धुँवासँगै उड्यो रे ! कस्तो अचम्म ! हिमालमा आगो लाग्यो रे ! बुद्ध धरधरी रुँदै विश्व भ्रमणमा निस्किए रे ! कलम समाउने कलिला हातहरू बन्दुक समाउन लागे रे ! सिर्जनशील आमाहरूका कोख बाँझै बसे रे ! खै कस्तो कस्तो पो भयो रे, हाम्रो सुन्दर गाउँ त ! चरीको मिठो बोलीको सट्टा दिनरात तातो गोलीको आबाज सुन्नुपर्ने बाध्यता छ रे ! जहाँ काग, जिद्ध र स्यालहरू दिनदहाडै मानव बस्तीमा फन्को मार्दै छन् रे !
आखिर यस्तो किन हुन्छ ? मलाई फेरि प्रश्नमाथि प्रश्न गर्न मन लाग्छ । गाउँ विकास निर्माणका आधारहरू सबै भग्नावशेष मात्र छन् रे ! अब गाउँको विकास गर्न सयौँ वर्ष लाग्ने भो । अब विकास गर्छु भन्दै इन्द्रेको बाबु चन्द्रे आए पनि चन्दलाई थर्काउने नेपाल बन्द गरे पनि कसैको केही दाल गल्नेवाला छैन रे ! अब त जहाँ जसले जे गरे पनि हुन्छ रे ! कस्तो अचम्म, दाजुले भाइ र भाइले दाजु मारेर समानताको भेलमा होमिँदै छन् रे गाउँलेहरू । के तपाईँ सहरका कुनामा एक दिन भोकै बस्नुपर्दा अत्तालिनुहुन्छ ? भन्दै पाहुनाले भनेपछि मेरो त सातो गयो ।
अब त्यसो भए पहिला चक्का जाम गरौँ अनि भत्काऔँ सबै संरचनाहरू, त्यसपछि भुँडीजाम गरौँ, बसौँ भोकभोकै, अनि पनि नभए खुट्टामा गरौँ खुट्टाजाम । यसो गर्दा हामी विश्वमा सबैभन्दा अनौठा एवं चमत्कारी जामका आविष्कारक बन्ने छौँ । आमाहरू कोखजाम गरौँ, बाबाहरू कुलजाम गरौँ, शिक्षकहरू मुखजाम गरौँ, दीक्षकहरू नीतिजाम गरौँ, नेताहरू राजनीति जाम गरौँ, कलाकारहरू कलाजाम गरौँ, त्यति मात्र होइन, अब मलमुत्रादि समेत जाम गरेर सधैँ परमधामको यात्रा तय गरौँ ।
यस्ता अशुभ सन्देश लिएर एकाबिहानै काग नकराओस् । पशुपतिको देश जहाँ मानिसभन्दा बढी देवी देवता छन्, एक दिन मानिस जति सबै मरेर देवता मात्र बस्ने देवस्थल नबनोस् । मेरो सपना सपनामै सीमित रहोस्, यदि कसैले कल्पना गरेको छ भने पनि कल्पनामै हराओस् । मेरो मातृभूमिको यस्तो विपत्ति कहिल्यै नआओस् ।
झापा, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































