डा. गाउँले बलदेवचौधरीजी, चाउचाउको नाउँ, नेपाली बनाऊँ ?
संविधान सभाको दोस्रो निर्वाचन पनि सकियो । निर्वाचनअगि प्रकाशित दलीय घोषणा–पत्रमा राष्ट्रभाषाले खासै महत्व पाएन । कामले गरुन्, नगरुन् । शब्दले भने पनि औद्योगिक विकासलाई प्राथमिकता दिने कुरा सबैले उठाए । तिनको वचन पूर्ण भइदियो भने नेपालमा उद्योगको विकास अवश्य हुने छ ।
पाठक महानुभावहरूलाई लाग्दो हो, भाषा र उद्योगको साइनो के हो ? साइनो छ । अभिन्न साइनो छ । जसले जन्म दिन्छ, नाम उसैले राख्छ । जापानमा बनेको सामानको नाम जापानी हुनु जति स्वाभाविक हो, अमेरिकामा उत्पादित वस्तुको नाम अङ्ग्रेजीमा रहनु पनि उत्तिकै स्वाभाविक हो ।
‘थकाली भान्छा घर !’ कति मिठो नाम राखेछन् ! थकाली भान्छा नेपाली भान्छा हो । ढिकी, जाँतो हाम्रै थिए । आज हराउँदै छन् । हामीले तिनको विकल्पमा विदेशी वस्तु ल्यायौँ । वस्तुसँगै नाम पनि विदेशी आयो । नेपालमा बनेको घडीको नाम डोल्मा थियो ।
वर्णसङ्कर अर्थात् ठिमाहा बिउले जिउ रोगाउन सक्छ । खाद्यान्नका स्वदेशी बालीहरू विस्थापित होलान् नि ! रामसाली, कालकाठे, मनभोग जस्ता नेपाली धान फलाउनुपर्छ । अनि पो एक घरमा पकाएको भातले चार गाउँसम्म मगमगी बास्ना छर्छ । हाम्रो च्याँख्ले अथवा ढिँडे संस्कृति पाखा लाग्नाले आज मधुमेह जस्ता रोगहरूको रजाइँ चलेको हो । अस्पताल टेक्दै नटेकी सय शरद्सम्म भारी बोकेर हिँड्ने हाम्रा पुर्खाको बल केले बढाएको थियो, त्यसैको प्रचार गरौँ ।
चाक्सी सुँघ्न त के देख्न पनि नपाइने भयो । कालीज्यामिरको न्याँस्राले भुतुक्कै भइसकियो । पँदेलको स्वाद जिब्रामा टाँसिएको टाँसियै छ । नदीका किनारमा सर्व–स्वाद–सम्पन्न फँडिरका विशाल वृक्षहरू पहरा दिन बसेका नेपाली सैनिक उभिएझैँ लस्करै ठिङ्ङ उभिएका देखिन्थे । त्रिशूली नदीको किनार सुन्दरीको बुचो नाककान जस्तै भएको छ ।
पहाडका पाखा–पखेरामा कोदो, फापर आदिको खेती सप्रिनु पर्छ । नेपालीले खाएर बढी भएको स्वस्थकर र स्वादभर अन्न विदेशीको मुखमा पनि पार्न सकिन्छ, नेपालमै बसेर आर्थिक अवस्था सपार्न सकिन्छ ।
‘वाईवाई, मायोज’ आदि चाउचाउलाई नेपाली नाम जुराउन सकिन्थ्यो । वसन्त चौधरी साँच्चै नेपाली साहित्यकार हुन चाहेका हुन् भने उनले आफ्नो स्वामित्वको ‘वाईवाई’चाउचाउको नाउँ नेपाली बनाएर देखाउने छन् । चाउचाउको ‘रारा’ नाउँ शुद्ध नेपाली छँदै थियो ।
जल विद्युत्को विकास शीघ्रातिशीघ्र होस् । क्यापभन्दा भादगाउँले टोपी नै रामं्रो छ । कमिज र बुलुजभन्दा हामीलाई दौरा र चोलै सुहाउँछ । नेपालीले लाएको लुगा लाउन पाउँदा फुरुक्क पर्ने विदेशी लाखौँ छन्, हामी हाम्रो देशबाट दौरा, चोला र टोपीहरू तिनलाई पठाइदिने गरौँ, ती दङ्ग पर्ने छन् र हाम्रो शब्द कण्ठ गरेर बस्ने छन् । प्राकृतिक स्वादका हाम्रा खाद्यवस्तु र फलफूलहरूमा तिनीहरूलाई पल्काऔँ । राम्रो परम्परा बचाउँदै हाम्रो उद्योगलाई द्रुतगतिमा दौडाऔँ । हाम्रा वस्तुको नााम हामी नै राखौँ । अनि हेरौँ, केही वर्षभित्रमा नेपाललाई नचिन्ने विदेशी कति जना बाँकी हुँदा रहेछन् ! कृपया, नेपाली उद्योगपतिज्यूहरू ! नेपाली उत्पादनको नाम नेपाली भाषामै राखेर आफूलाई वास्तविक पति बनाउनुहोला । नेताज्यूहरू, बोलेको कुरा पूरा गर्नुहोला ।
नैकाप, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































