सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

श्रीपेच र कार्टुन कथा

Nepal Telecom ad

फाल्गुन १२, २०७२ । एकातिर पाँचवटा बाघले राजाको श्रीपेच बचाइरहेको, अर्कोतिर राणाको श्रीपेच हात्तीले फालिदिएको दृश्य । यो कार्टुन अहिले हेर्दा जति रोचक लाग्छ, यसभित्र त्यत्तिकै ऐतिहासिक र मार्मिक कथा पनि लुकेको छ ।

कार्टुनिस्ट चन्द्रमानसिंह मास्केले यही कार्टुन बनाएबापत् १८ वर्षको कष्टकर जेलसजाय भोग्नुपरेको थियो । संसारभर कार्टुनसँग जोडिएका यस्ता थुप्रै कथाहरू पाइन्छन् । मुलुकमै पनि अनुदार शासनको बेला कलाकर्मीहरूले अनावश्यक झमेलासँगै कैद समय भोग्नुपरेको थियो ।

नेपाली कार्टुनको यस्तो नालीबेली बुझाउने ध्येयले यतिबेला राजधानीमा कार्टुन प्रदर्शनी सुरु भएको छ । बौद्धस्थित तारागाउँ म्युजियममा मंगलबारदेखि प्रदर्शनी सुरु भएको हो । विसं. २०१४ पछि पाका स्रष्टाहरूले कोरेका नयाँ–पुराना कार्टुनहरू प्रदर्शनीमा हेर्न सकिन्छ ।

पुराना कार्टुनहरूमार्फत नेपाली समाजको तत्कालीन राजनीतिक, सामाजिक तथा सांस्कृतिक अवस्थितिको व्यङ्ग्यात्मक झल्को बुझ्न सकिन्छ । त्यतिबेलाको राजनीतिक अनुदारता, जनताको चेतनास्तरदेखि सामाजिक चिन्तनको समेत आकृति कार्टुनहरूमा झल्किन्छ । वरिष्ठ चित्रकार शशी शाह, कुलमानसिंह भण्डारी, दुर्गा बराल
(वात्स्यायन), रमेशनाथ पाण्डे, प्रा. रामकुमार पाँडे र टेकवीर मुखियाले २०२५ अघि बनाएका कार्टुनहरू अमूल्य सांस्कृतिक सम्पदाको रूपमा म्युजियममा नियाल्न सकिन्छ । उज्जल कुन्दन ज्यापू र बलराम थापाले कार्टुनमार्फत् गरेको तत्कालीन पञ्चायती व्यवस्थाको चित्रण रोचक लाग्छ ।

कार्टुनिस्ट क्लब र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रदर्शनी गरेको हो । मंगलबार उद्घाटन समारोहमा कार्टुन र त्यसको जानकारीसमेत समेटिएको पुस्तक ‘नेपाली कार्टुनको एउटा कालखण्ड’ समेत सार्वजनिक गरियो । नेपाली छापाखानाका पहिला काटुर्निस्ट गोवद्र्धनविक्रम शाहले कार्टुनको महत्त्वमाथि प्रकाश पारे । ‘अहिले झन् कार्टुनको क्षेत्र फराकिलो बन्दै गएको देख्छु’, उनले भने, ‘यसको भविष्य उज्जल छ ।’

क्लबका अध्यक्ष अविन श्रेष्ठले कार्टुनको लिखित दस्तावेज पाउन गाह्रो परेको बताउँदै यसलाई स्थापित गर्न पुस्तक प्रकाशन गरेको दाबी गरे ।

प्रदर्शनीमा मोदनाथ प्रश्रित, मनुजबाबु मिश्र, मदन चित्रकार, सुरेन्द्रराज भट्टराई, शरद रञ्जित, अशोकमान सिंह, नारदमणि हार्तम्छाली, जीवन राजोपाध्याय, किरण मानन्धर, सुवास, वासु क्षितिज लगायत ४९ स्रष्टाका १ सय ३० कार्टुन राखिएका छन् । प्रदर्शनी फागुन २० सम्म चल्नेछ ।

कान्तिपुर, फाल्गुन १२, २०७२

Fitkauli Publication Books comming soon
Nepal Telecom ad