प्रेम ओली ढकलपुरेउधारखण्डे
टुपी कसी कसी
घुँडा धसी धसी
सानो तिनो
सरकारी जागीर खाइयो
सन्तानको भविष्य हेर्दै
बस्न राजधानी नै आइयो
अफिसमा हेर्यो
अख्तियार पख्लास् भन्दै पस्या छ
घरमा हेर्यो
महङ्गी थपक्क चुलोमै बस्या छ
भ्रष्टाचार बढ्यो भनी
पत्रिकाले छापेको बेला
खल्ती सारा रित्तिएर
अनिकालले च्यापेको बेला
एक दिन गृहिणीले आदेश गरिन्–
बजारबाट आज नयाँ तरकारी ल्याउने !’
छोरीले त्यसमा संशोधन गरिन्–
‘हैन, आज त मासु नै खाने ।’
मैले गाम्नागे पारामा भनेँ–
‘बिहान आलु र मुला खाने
बेलुका मुला र आलु खाने’
हिंसामा हामी किन जाने
अर्काको ज्यान मारेर
अब मासुपिण्ड कति खाने ?
ठाउँका ठावै मुन्टियो
मेरो आलुपाँडे दाउ
गृहमन्त्रीको कडा आदेश आयो–
खुरुक्क तरकारी लिन बजार जाऊ
नयाँ, मिठो तरकारी जे छ
सुरुक्क उठाइ लिएर आऊ
मन मनै मात्र भने –
हो त नि तिम्रा बाउले ठुलै
पसल खोली राख्याछन्
धोक्रै लिएर आऊ ज्वाइँ भनी
हिजैदेखि डाक्याछन् ।
गृहिणीको अनुहार ठसठस थियो
छोरीको मुख खसखस थियो
मेरो मन त झन् चसचस थियो
एउटा थोत्रो झोला बोकें
उधारो लिन कुलेलम ठोकें
दाल चामल माग्दा साहुले
पुरानो नतिरेको तितो पोखे
सधै नमस्कार गर्ने मासु साहुलाई
आज आफैंले सलाम ठोकेँ
नगदनारायन ठानी उनले
राम्रो राम्रो फिला जोखे
जब मैले उधारो भनी बोलेँ
उनले पनि
पहिलेकै बाँकी देखाउदै
खातापाता पो खोले ।
खाली हात फर्केर आउँदा
दिक्दार लाग्यो
खान नपुग्ने जागिर देखी
धिक्कार लाग्यो
फनफनी घुमाउने चक्कर लाग्यो
ज्यानै उछिट्टिने ठक्कर लाग्यो
चुँडियो चप्पल, सिलाउन खोलेँ
आज बाँकी पनि आउँछ कि हजुर
चप्पल सिलाउँदै भन्दछ गोले ।
दर्शन गर्न सिधै मन्दिर हिडें
मूर्तिरुपी भगवानसंग भिडें
यो जिन्दगी के जिन्दगी दियौ
चाहिँदैन यो जिन्दगी
दुई पैसामा नबिक्ने
अब तिमी नै राख बन्दकी ।
आकाश चकमकायो
जमिन डगमगायो
गजबको एउटा कुरो
आकाशबाणी आयो –
उधारो हो जिन्दगी पुत्र
जिउन धेरै बाँकी छ
जिन्दगी त परीक्षा हो
खास परीक्षा त
आउन अझै बाँकी छ
कर्मले यसलाई काट्दछ
कर्म गरेर हेर
एक बारको हो जिन्दगी
व्यर्थै नफ्याँक खेर ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































