अशोककुमार शिवासाँढेबाट ज्यान जोगाई पाउँ प्रभु !
हिन्दु परम्परा अनुसार पहिला पहिला नेपालमा गाईको बाछोलाई भगवानको नाममा होस् वा जुनसुकै नाममा साँढेको रुपमा छाड्ने चलन थियो । त्यस बेला मन्दिर, देवस्थल तथा अन्य स्थानहरूमा समेत साँढेहरू प्रसस्तै भेटिन्थे । अब समय पहिलाको झैं रहेन । मान्छेहरू धेरै भएर पशुपङ्क्षीहरू घट्न थालेका छन् । साँढेहरू पाउन छाडिहाल्या त छैन तर पहिलाभन्दा धेरै कम देखिने गरिन्छ । असनको साँढे भनेपछि कुनै बेला सबैले चिन्दथे र त्यो साँढेलाई देखिहाले भने पनि मान्छे डरले छेउ पर्न सक्दैनथे । साँढे असनभरिका तरकारी पसलहरू घुमी घुमी तरकारी चोरेर खाने गथ्र्यो । एक हिसाबले असनलाई उसको हप्ता असुल्ने क्षेत्र नै बनाएको थियो ।
आजकाल पनि साँढेहरू भेटिन्छन् तर यी साँढेहरू पहिलाका साँढे जस्ता छैनन् । ठाउँ कुठाउँ उभिएर बाटो हिँड्ने अन्य ठूलासानालाई आँखा तरेर हेरिरहन्छन् । हाँप र झाँप गर्छन्, तँछाड मछाड गर्छन् । सडकभरिका सबैलाई किचेर धुलोपिठो पारुम्ला झैं गर्छन् । त्यसैले यिनीहरूसँग मान्छे उहिलेको असनको साँढेसँग भन्दा पनि धेरै डराउने गर्छन् । यी साँढेलाई डाम्ने हिम्मत कसैमा छैन । डाम्ने पन्युँ बोकेर चोक चोकमा उभिएका केही पुत्लाहरू झैं लाग्ने मान्छेहरू पनि देखिन्छन् तर केही नाप्न सक्दैनन् । तिनलाई बरु उल्टै त्यो साँढे चढेर हिँड्ने ढोकेले मनपरी गाली सुनाउँछ । लाचार ऊ गाली सुनेको झैं पनि नगरी पन्युँ हल्लाउँदै उभिरहन्छ ।
त्यसो त सडकमा दोस्रो तेस्रो दर्जाका साँढेहरू पनि भेटिन्छन् । कुनै साँढेहरू ह्वाररररर धुवाँको मुस्लो उडाउँदै कुदिरहेका हुन्छन् । कुनै फुटपाथ पनि उसैको झैं गरी कुदिरहेका हुन्छन रोक्ने कोही छैन । लाग्छ तिनले लाईसेन्स हैन लाई लागेको सेन्स बोकेका छन् । जहाँ बस्नुहुन्न भन्यो त्यहीँ उग्राउँदै घण्टौं बस्छन् । जहाँ डुक्रिनु हुन्न भनेर नोटिस लेख्या हुन्छ साँढेहरू त्यसै ठाउँमा झन ठूलो स्वरमा डुक्रिन्छन् । हे भगवान ! यो बिना भगवानका नाममा छोडिएका साँढेहरूलाई केही उपायले तह लगाउन सक्छौ कि ? सक्छौ भने दया गरी यिनलाई तह लगाई देऊ । कतै यिनीहरू तह लागिहाले भने केही समय अलि बढी बाँचिने सम्भावना हुन्थ्यो कि, नत्र त ज्यानको कुनै गिरेन्टी नहुने भो प्रभु !!
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































