साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ह्यारी ओम्, आऽहा !

Nepal Telecom ad

बेलायती राजकुमार विलियम ह्यारी यो लेख तयार पार्दासम्म उनी नेपालमै थिए । यहाँका अनलाइन, फनलाइन र मनलाइनमा उनकै चर्चा छ । जताततै ह्यारीले भारी बोकेको, बारी खनेको, गाउँले बनेको, खोला तरेको, रूख चढेको, पैदल हिँडेको, दाउरा गिँडेको समाचार फेला पर्छ । दालभात खाँदै गरेका, रोदीघरमा जाँदै गरेका, डोको बोक्दै गरेका, डल्ला ठोक्दै गरेका, दौरा–सुरुवालमा सजिएका, कोट–टोपीमा ठाँटिएका तस्बिरहरूले सामाजिक सञ्जाल भरिएका छन् ।
भनिन्छ, ‘कूटनीतिमा बाहिर जे देखाइन्छ, भित्र त्यो गरिंदैन, भित्र जे गरिन्छ, बाहिर त्यो देखाइँदैन ।’ यो भनाइलाई आधार मान्ने हो भने ह्यारीले बोकेको भारीमा बेस्मारी स्वार्थ लुकेको हुन सक्छ । स्वार्थ र निस्वार्थको विश्लेषण गर्ने जिम्मा कूटनीतिज्ञहरूको हो । गजुरियल विश्लेषक गजुरनीतिका आधारमा बोल्छ । गजुरनीतिमा हजुरलाई स्वागत छ ।

पहिलो कुरा, ह्यारी नेपाल आए, इट्ट अ भेरी गुड ज्यूज ! बिकाउज, भूकम्पले तर्साएका पर्यटकहरूमा सकारात्मक म्याजेस गएको छ । दोस्रो कुरा, उनकै आगमनका अवसरमा गोर्खाहरूमाथि हुने विभेदविरुद्धको आवाज पनि बेलायती सत्तासम्म पुगेको छ । तेस्रो कुरा, लोकप्रिय हुनका लागि राजाको दरबारभित्र होइन, जनताको घरबारमा पनि पुग्नुपर्छ भन्ने सन्देश संसारभरिका भूपू तथा भावी राजकुमारहरूमा पुगेको गजुरियल ठम्याइ छ ।

कसै–कसैको प्रतिक्रिया छ, ह्यारीले भारी बोकेर नाटक गर्दैछन्, यो सब् नाटक हो । कठै, यस्तै नाटक हाम्रा राजकुमारहरूले पनि गरिदिएका भए जनताले किन ‘फलानो चोर..देश छोड्’ को नारा लगाउँथे ! नेपालका राजा पनि जापानका राजाजस्तै ‘राजा’मात्र भएर बसेका भए किन जनताले बाजा बजाउँथे ! गजुरियल विश्लेषक भन्छ, संसार रंगमञ्च हो, यहाँ नाटक गर्न जान्यो भने जीवन सरल हुन्छ, जगत् सहज हुन्छ । अहिलेलाई यति मात्र बुझौं ।

ह्यारीले नेपालीको मिमिक्री निकै राम्रोसँग गरेका छन् । खन्ने, जोत्ने, खाने, लाउने शैलीको हुबहु नक्कल उतारेको निकै राम्रो छ । यहाँसम्म त ठिकै थियो, तर नेपालीजस्तै भैदिने नाममा भोलि ह्यारीले जेब्रा क्रसिङबाटै बाटो काटिदिए भने के गर्ने ? पेट्रोलको लाइनमा बसिदिए भने ट्राफिक व्यवस्थापन कसरी गर्ने ? नेपालीले रक्सी पिएपछि झगडा गर्नैपर्दो रहेछ भनेर डिस्कोमा गोली पड्काए भने कसो गर्ने ? नुन चर्को भए पनि सडकमा टायर बालिहाल्ने शैली पछ्याउँदै ह्यारी सडकमा उत्रिए भने कसरी नियन्त्रणमा लिने ? यस्ता सम्भावनालाई ध्यानमा राखेर उपरोक्त कार्यहरू नेपालीका आमशैली होइनन् है भनेर ह्यारीराजालाई जानकारी गराउनुपर्ने गजुरियल ठम्याइ छ ।

सानो कुरामा खुसी भैहाल्ने, थोरै प्राप्तिमा दंग परिहाल्ने हाम्रो स्वभाव छ । यही स्वभावका आधारमा स्कुलको नाम चन्दादाताको नाममा राखिदिने वा बाटोको नाम ठेकेदारको बाबुको नाममा घोषणा गर्ने चलन छ । त्यही आधारमा लापुवासीले एउटा डाँडोका नाम नै ‘ह्यारी पिक’ राखेछन् । ह्यारीको सम्मानमा यतिसम्म त ठीकै हो, तर भावनामा बहकिएर भोलि अन्नपूर्ण हिमालको नाम ‘ह्यारीपूर्ण हिमाल’ र पोखराको नाम ‘पोक ह्यारी’ चाहिँ नराखियोस् भन्ने गजुरियल अनुरोध छ ।

हाम्रा राजकुमारहरूले पनि बेलायतमा राम्रो छाप छोडेर आएका भए त्यसको ठूलो महत्त्व हुन्थ्यो । बेलायतको ‘लन्डन आई’को नाम ‘दीपेन्द्र दृश्य’ हुन सक्थ्यो । पेरिसको आइफल टावरलाई ‘पारस धरहरा’ भनिन सक्थ्यो, तर यी सब सम्भावना समाप्त भैसकेका छन् । अब विदेशका ठाउँहरू हाम्रा राजकुमारका नाममा रहने सम्भावना शून्य देखिन्छ, बरु नेपालका अरू स्थानका नाम विदेशीमय हुने खतरा देखिन्छ ।

गजुरियल अनुरोध छ, काठमाडौंमा चिनियाँ रेलको सपनाका आधारमा सगरमाथाको नाम ‘जिनपिङ चुचुरो’ नबनोस् । अमलेखगन्जमा भारतीय पेट्रोल पाइपको आश्वासनमा लुम्बिनीको नाम ‘मोदगया’ नहोस् । आजलाई– ह्यारी ओम् आऽहा !’

साप्ताहिक, चैत्र २१, २०७२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x