मनोज गजुरेलह्यारी ओम्, आऽहा !
बेलायती राजकुमार विलियम ह्यारी यो लेख तयार पार्दासम्म उनी नेपालमै थिए । यहाँका अनलाइन, फनलाइन र मनलाइनमा उनकै चर्चा छ । जताततै ह्यारीले भारी बोकेको, बारी खनेको, गाउँले बनेको, खोला तरेको, रूख चढेको, पैदल हिँडेको, दाउरा गिँडेको समाचार फेला पर्छ । दालभात खाँदै गरेका, रोदीघरमा जाँदै गरेका, डोको बोक्दै गरेका, डल्ला ठोक्दै गरेका, दौरा–सुरुवालमा सजिएका, कोट–टोपीमा ठाँटिएका तस्बिरहरूले सामाजिक सञ्जाल भरिएका छन् ।
भनिन्छ, ‘कूटनीतिमा बाहिर जे देखाइन्छ, भित्र त्यो गरिंदैन, भित्र जे गरिन्छ, बाहिर त्यो देखाइँदैन ।’ यो भनाइलाई आधार मान्ने हो भने ह्यारीले बोकेको भारीमा बेस्मारी स्वार्थ लुकेको हुन सक्छ । स्वार्थ र निस्वार्थको विश्लेषण गर्ने जिम्मा कूटनीतिज्ञहरूको हो । गजुरियल विश्लेषक गजुरनीतिका आधारमा बोल्छ । गजुरनीतिमा हजुरलाई स्वागत छ ।
पहिलो कुरा, ह्यारी नेपाल आए, इट्ट अ भेरी गुड ज्यूज ! बिकाउज, भूकम्पले तर्साएका पर्यटकहरूमा सकारात्मक म्याजेस गएको छ । दोस्रो कुरा, उनकै आगमनका अवसरमा गोर्खाहरूमाथि हुने विभेदविरुद्धको आवाज पनि बेलायती सत्तासम्म पुगेको छ । तेस्रो कुरा, लोकप्रिय हुनका लागि राजाको दरबारभित्र होइन, जनताको घरबारमा पनि पुग्नुपर्छ भन्ने सन्देश संसारभरिका भूपू तथा भावी राजकुमारहरूमा पुगेको गजुरियल ठम्याइ छ ।
कसै–कसैको प्रतिक्रिया छ, ह्यारीले भारी बोकेर नाटक गर्दैछन्, यो सब् नाटक हो । कठै, यस्तै नाटक हाम्रा राजकुमारहरूले पनि गरिदिएका भए जनताले किन ‘फलानो चोर..देश छोड्’ को नारा लगाउँथे ! नेपालका राजा पनि जापानका राजाजस्तै ‘राजा’मात्र भएर बसेका भए किन जनताले बाजा बजाउँथे ! गजुरियल विश्लेषक भन्छ, संसार रंगमञ्च हो, यहाँ नाटक गर्न जान्यो भने जीवन सरल हुन्छ, जगत् सहज हुन्छ । अहिलेलाई यति मात्र बुझौं ।
ह्यारीले नेपालीको मिमिक्री निकै राम्रोसँग गरेका छन् । खन्ने, जोत्ने, खाने, लाउने शैलीको हुबहु नक्कल उतारेको निकै राम्रो छ । यहाँसम्म त ठिकै थियो, तर नेपालीजस्तै भैदिने नाममा भोलि ह्यारीले जेब्रा क्रसिङबाटै बाटो काटिदिए भने के गर्ने ? पेट्रोलको लाइनमा बसिदिए भने ट्राफिक व्यवस्थापन कसरी गर्ने ? नेपालीले रक्सी पिएपछि झगडा गर्नैपर्दो रहेछ भनेर डिस्कोमा गोली पड्काए भने कसो गर्ने ? नुन चर्को भए पनि सडकमा टायर बालिहाल्ने शैली पछ्याउँदै ह्यारी सडकमा उत्रिए भने कसरी नियन्त्रणमा लिने ? यस्ता सम्भावनालाई ध्यानमा राखेर उपरोक्त कार्यहरू नेपालीका आमशैली होइनन् है भनेर ह्यारीराजालाई जानकारी गराउनुपर्ने गजुरियल ठम्याइ छ ।
सानो कुरामा खुसी भैहाल्ने, थोरै प्राप्तिमा दंग परिहाल्ने हाम्रो स्वभाव छ । यही स्वभावका आधारमा स्कुलको नाम चन्दादाताको नाममा राखिदिने वा बाटोको नाम ठेकेदारको बाबुको नाममा घोषणा गर्ने चलन छ । त्यही आधारमा लापुवासीले एउटा डाँडोका नाम नै ‘ह्यारी पिक’ राखेछन् । ह्यारीको सम्मानमा यतिसम्म त ठीकै हो, तर भावनामा बहकिएर भोलि अन्नपूर्ण हिमालको नाम ‘ह्यारीपूर्ण हिमाल’ र पोखराको नाम ‘पोक ह्यारी’ चाहिँ नराखियोस् भन्ने गजुरियल अनुरोध छ ।
हाम्रा राजकुमारहरूले पनि बेलायतमा राम्रो छाप छोडेर आएका भए त्यसको ठूलो महत्त्व हुन्थ्यो । बेलायतको ‘लन्डन आई’को नाम ‘दीपेन्द्र दृश्य’ हुन सक्थ्यो । पेरिसको आइफल टावरलाई ‘पारस धरहरा’ भनिन सक्थ्यो, तर यी सब सम्भावना समाप्त भैसकेका छन् । अब विदेशका ठाउँहरू हाम्रा राजकुमारका नाममा रहने सम्भावना शून्य देखिन्छ, बरु नेपालका अरू स्थानका नाम विदेशीमय हुने खतरा देखिन्छ ।
गजुरियल अनुरोध छ, काठमाडौंमा चिनियाँ रेलको सपनाका आधारमा सगरमाथाको नाम ‘जिनपिङ चुचुरो’ नबनोस् । अमलेखगन्जमा भारतीय पेट्रोल पाइपको आश्वासनमा लुम्बिनीको नाम ‘मोदगया’ नहोस् । आजलाई– ह्यारी ओम् आऽहा !’
साप्ताहिक, चैत्र २१, २०७२
Subscribe
Login
0 Comments
Oldest










































