साइबर अपराध सम्बन्धी सचेतना सामग्री

च्वाँचेको मासु र मेरी सासू

Nepal Telecom ad

रा.वा.बैंक मैतिदेवी शाखाबाट आँबुखैरेनी शाखामा छ महिनाको लागि सरुवा भयो । आँबुखैरेनीमा दुई वर्ष बसियो । त्यहाँ विशेष गरी मगर, गुरुङ र नेवारहरूको वस्ती छ । एकाध बाहेक सवै गोर्खाबाट त्यहाँ झरेका रैछन् । म परे डबल काजी अर्थात् काभ्रे जिल्लामा जन्मेर काठमाण्डुमा हुर्केको सक्कली बाँडा । खजाञ्ची भएको नाताले त्यहाँ भएका सवैसँग धुलमिल भइयो । जात्रा, पर्व र व्यक्तिगत भेटधाटमा खाजा र भोजको रुपमा आ–आफ्नो जात अनुसारको मासु खाने त्यहाँको चलन छ । यसै मेसोमा एकपटक एक्काइसौं शताब्दीमा ‘जात न भात, बढा भाइ हात’ भनेर च्वाँचे अर्थात् ट्याक्टरको मासु बजाइयो ।
म प्रत्येक हप्ताको शुक्रबार बेलुकापख घर आउँथे र शनिवार बेलुका बास बस्न आँबुखैरेनी नै पुग्थें । हप्ता हप्तामा मात्रै भेट हुँदा बूढीसँग गफ गर्दा अलि बहकिँदो रहेछ । नभनौं भनेको कुरा पनि फ्यास्सै भनिदोरहेछ । कुरै कुरामा बूढीलाई च्वाँचेको मासु खाएको भन्न पुगेछु । उही त होनि आमा छोरीको नाता । मेरी बूढीले भुुसुक्कै मेरा स्वर्गीय ससुराकी बूढीलाई सुनाइदिएछन् । सासूआमाले मेरो सातो खाईन् । आमै कराउन थालिन्, ‘बरवाद भो ! गर्जुको सन्तानले च्वाँचे खाएको म त सुन्न पनि सक्दिन !’ भन्दै कानको प्वालमा औला छिराएर कान बन्द थालिन् । उनको एउटा बानी के छ भने एउटा सानो निहुँ पायो कि सातदिनसम्मलाई काण्ड पुग्यो । कराएको कराएकै ।
सासूले आफ्नी छोरीलाई घर लितपोत गरेर चोख्याउन भनेको सयपटक भैसक्यो । एकातिर सासूआमाको गनगन धाराप्रवाह गइरहेको थियो, म र सासूकी छोरी चाहीं हेर्या हेर्यै ! कराउ भने बुढी भएकी सासूआमासँग के कराउने चित्त दुख्ला भन्ने पीर, नकराउँ भने टिक्न बस्न दिएको होइन । घटनाले गम्भीर रुप लिएपछि दिक्क लागेर एकदिन छुट्टी बाँकी हुँदै आँबुखैरेनी फर्किने विचारले घरबाट निस्कन लागेको थिएँ, मेरी बूढी विचरी ठसठस कन्दै लितपोत र सफा सुग्घरमा पो लागेकी रहिछन् । बूढी मलाई टेढो आँखाले हेर्दै थिइन् । मैले भने– ‘हिड्ने बेलामा के आँखा तरेको नि ?’ उनी पनि के कम, भनिन्– ‘तिम्ले खाएको च्वाँचेको मासुले आमालाई घोचेको घोचै गर्यो रे ! औषधी गर्नु परेन ? कि तिमीलाई गोबर पानीले नुहाउनु पर्यो रे, कि घरलाई । तिमीलाई नुहाइदिउँ गोबर पानीले भने अर्को हप्ता आउँदा आफैंलाई गनाउला । त्यही भएर घरलाई नै नुहाई दिँदैछु ।’ स्थिति देखेर माया लाग्यो । सासु आमै हाम्रो झगडा पो पर्न लागेछ कि क्या हो भन्ठान्दै बिचमा पसिन् र भनिन्– ‘के खाउँला जस्तो गरेर हेर्नुहुन्छ । कुरो मिलिहाल्यो, एकदिन छुट्टी बाँकी नै छ क्यारे, भोलि गए भैगो नि । कि उता च्वाँचेको मासु सेलाइसक्यो ?’ सासूआमाको रामबाणले खुत्रुक्कै भएर म घरभित्रै पसें र झोला बिसाएर टेलिभिजन हेर्न बसें ।

चावहिल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तालुखुइले

तालुखुइले

माणिकरत्न शाक्य
साडेसातको दशा

साडेसातको दशा

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
चार अवतार

चार अवतार

माणिकरत्न शाक्य
माइक्रोबसको कमाल

माइक्रोबसको कमाल

माणिकरत्न शाक्य
तीन टुक्रे कविता

तीन टुक्रे कविता

माणिकरत्न शाक्य
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x