नारायण निरासीतिमी गएपछि
तिमी जाँदा ’जाऊ परपर भई’ भन्न सकिनँ
तिमी जाने बाटो टुलटुलु गरी हेर्न सकिनँ ।
तिमी मेरो आस्था तनमन र यो जीवन थियौ
तिमी यो छातीमा हरदम हुने धड्कन थियौ ।
र्गयौँ वाचा खायौँ कसम, किरिया मन्दिर पसी
सँगै बाँच्ने मर्ने कतिकति र्गयौँ भाकल पनि ।
सँगै बाँड्थ्यौँ हामी पुलकित भई दुःख र सुख
सँगै बस्दै खान्थ्यौँ कुसुम, जमुना, काफल खुब ।
पछ्यौरीले पुछ्थ्यौ नयन डिलमा आँसु बहँदा
सबै चिन्ता भुल्थ्यौँ हरबखतमा साथ रहँदा ।
सँगै बाँच्ने मर्ने कसम कसरी तोडिन गयौ ?
चखेवाको जोडी भन न कसरी छुट्टिनगयो ।
पर्राईको बन्दा मनभरि खुसी साँच्न सकिनँ
तिमीले भत्कायौ हृदयतट यो बाँच्न सकिनँ ।
ढल्यो आँधी आई प्रिय प्रणयको ताजमहल
व्यथा मेरो बुझने सकलजगमा को छ र अब ?
जुरेली सोध्दै छे मसँग सँगिनी साथ नहुँदा
धुपी, सल्ला रून्छन् धुरूधुरू गरी आज म रुँदा ।
तिमी टाढा जाँदा मधुवन सधैँ शून्य छ बुझ्यौ
मुना जस्तै माया किनकिन चुँडी कङ्क्रिट बन्यौ ।
मलाई गाह्रो भो हरप्रहरमा चोट सहन
कसैले सक्तैनन् मृदुल मनको घाउ सिउन ।
तिमी जस्तै आफैँ सकिनँ कहिल्यै पत्थर हुन
नमर्नू बाँच्नू यो धुकधुक रह्यो आखिर किन ?
धुजा र्पायौ मेरो सरस सुखको जीवन किन ?
कलेजीको पीडा नयन जलले लेख्न सकिनँ
जगत्मा साँचो यो प्रणय नभए जीवन छ र ?
झुटो माया गर्ने बदनियतले बन्छ र घर ?
रुवाई जानेले पलपल रुने आउँछ दिन
नआऊ त्यागेको हृदयपथमा कुल्चिन पुनः ।
सबै पीडा तिम्रो स्मरण र चिनो ठान्दछु अब
म एक्लै नै बाँच्ने दृढ प्रण यही गर्दछु अब ।
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































