सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सिग्देलको ‘आमोई’ लोकार्पण

Nepal Telecom ad

साहित्यकार भुवनहरि सिग्देलको पछिल्लो कृति आमोई बजारमा आएको छ । जीवन इतिवृत्तको रूपमा विश्वराज घिमिरे र शब्दार्थ प्रकाशनले प्रकाशन गरेको यस कृतिलाई बैशाख १९ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रमुख अतिथि उपेन्द्रमान मल्लले लोकार्पण गरे ।

सार्वजनिक कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै साहित्यकार डा रामप्रसाद ज्ञवालीले आमोई मानवीय भावनाले ओतप्रोत र समवेदना पगाल्न सक्ने कृतिको रूपमा आएको धारणा राखे । नेपाली पद्य कवितामा सशक्त कलम चलाउने अहिलेका सबैभन्दा प्रतिभाशाली कविका रूपमा चिनिएका भुवनहरिका गद्य कृतिहरू पनि उतिकै उम्दा हुने गरेको चर्चा कार्यक्रममा गरियो ।

साहित्यकार रमेश खकुरेलको अध्यक्षतामा सम्पन्न उक्त लोकार्पण कार्यक्रममा निर्मोही व्यास, कमलमणि दिक्षित उपेन्द्रमान मल्ल वसन्तकुमार शर्माले संक्षिप्त शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम रोचक र गहन हुँदाहुँदै पनि काँठे सम्बन्धमा साहित्यकार कमल मणि दीक्षित र वसन्तकुमार शर्माले चर्चा गरेको काँठे विषयलाई भने दर्शकहरूले अस्वाभाविक र असान्दर्भिक विषय भएको खासखुस प्रतिक्रिया दिएका थिए ।

साहित्यकार प्रह्लाद पोख्रेलबाट सञ्चालित उक्त कार्यक्रम करिब दुई घण्टासम्म चलेको थियो । काकी आँबैको इतिवृत्त रहेको आमोईका कृतिकार भुवनहरि सिग्देलले यस पुस्तकको प्रकाशनले काकी आँबैको ऋणको व्याज पनि नतिरिने जानकारी गराउँदै आफू हुनुको पछाडि उहाँ नै रहेको कुरा सुनाएका थिए । बालविवाह हैजा वा महामारी प्रकोप, वैधव्य जीवन, बहुला कुकुरले टोकेर आइपरेको दुखद अवस्थाको चित्रण यस कृतिमा गरिएको छ । पाठकहरूले आमोईको अतिरिक्त न्याउलीजस्तो आदर्श पात्र पनि यसैमा पाउने छन् ।

नयाँ पुस्ताले यस कृतिको पठनबाट यस अघिको कालखण्डको अँध्यारो र उज्यालो पक्ष केलाउने अवसर पाउन सक्छन् । काल्पनिक कथा र उपन्यास पढ्दा त मानवीय समवेदना छुन्छ भने यो त एउटा सत्य घटना हो जसको साक्षी लेखक स्वयम् छन् ।

कुल २८ खण्डमा विभक्त कृति ३१२ पृष्ठभित्र उनिएको छ । विश्वराज घिमिरे शब्दार्थ प्रकाशन प्रकाशक रहेको यस कृतिले पद्यका क्षेत्रमा विराट व्यक्तित्व बनाएका साहित्यकार भुवनहरिको फरक परिचय दिने विश्वास गरिएको छ ।
–हरि खनाल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad