कपट
साँचै
निर्वश्त्र नै थिइन्
तापनि
नाङ्गिएकी थिइन ।
हतारिंदै
छोप्न पुगेका ती हत्केलाहरू
शर्मले उल्टो
झुक्न पुगेका नजरहरू
लागेको थियो
ओजस्वी घुम्टो
तिम्रो पौरखताले ओढाइएको ।
आज
पूर्ण वश्त्रमा छु ।
बहुमूल्य रत्नमा चम्किएकी छु ।
लागिरहेछ,
मेरो नग्नता उदाङ्गिरहेछ ।
थेग्नै सकेन आँसुले,
सायद यसैले
लाज
सहर, बजार हुँदै
गल्ली गल्लीसम्म बगिरहेछ
सन्सनीपूर्ण खबर भइरहेछ ।
हो ती हत्केला, नजरहरू
निडर भै,
चिच्याउँदै भनिरहेछन्
निर्लज्ज कलङ्किनी !
म
विवश धरती झै मौन
तर जलिरहेछु धेरै
क्रुद्ध भै ।
भन प्रिय !
तिम्रो यो सिन्दुरलाई
के नाम दिऊँ ?
प्रेम या धोका,
या भनुँ
मेरो सौन्दर्यमा अभिषाप ?
हो तिम्रा सबै अङ्गहरूले
देशभक्तको नकावमा
मलाई हैन
मेरो स्वाभिमानलाई भोगिरहेछ ।
काठमाडौं