घिमिरे ‘मैदेली’नियमित धूमपान छिटै परमधाम !
ए, तपाइँलाई यस्तो राम्रो र रमाइलो संसारमा बस्न मन छैन भने किन आत्महत्या, अपहत्या गरी झुण्डिएर, हामफालेर लाछी, कायर, काँतर र दुर्बल देखिएर दुर्दिन निम्त्याउनुहुन्छ हँ ? प्रकृतिले हो कि परमेश्वरले दिएको परमायु नपर्खने होभने त्यस्तो काँतर हुनुभन्दा त नियमित धूमपान गर्नोस् । सुर्तीजन्य पदार्थको सेवन गर्नोस् । त्यसबाट हुने परमधामलाई कसैले कायर काँतर पनि भन्दैन आत्महत्या पनि ठान्दैन । बिस्तारैसित मृत्युवरण गर्न पाइने त्यस्तो निकोटिनयुक्त प्वाइजन हरेक जनलाई पुग्ने गरी सरकारले खुलेआम हरेक पसलपसलमा बेच भनेर राखिदिएको छ । कहाँ पाइएला भनेर खोजिरहनै पर्दैन । हरेक नाम र उत्पादनका थरीथरी दररेटका सिगरेट बजारमा सर्वसुलब छन् । नाम अनेक प्रभाव एक चुरोट, सिगार, सुर्ती, खैनी, गुट्खा जेजेपनि खाए हुन्छ । खाओ भनेर त गल्ली दोबाटो चौबाटोका पसलपसलमा सजाएर राखेका छन् । यस्तो बिख बेच्नलाई सरकारले स्वतन्त्र छोडिदिएको छ र पो दक्षिणपूर्व एसियाका एघार देशमा मात्र पनि प्रतिघन्टामा एकसय पचास जना परमधाम भैरहेका छन् यही सुर्तीको फूर्ती र धूमपानको धमाकाले । दक्षिणपूर्व एसियामामात्र ५४ करोडले सुर्तीजन्य पदार्थको सेवन गर्दारहेछन् र पो वर्षमा १३ लाखले कालै नआई यमराजको पाहुना बनेर मृत्युवरण गर्दै आफैँ यमद्वार ढकढक्याउँदा रहेछन् !
आजको यो शहरी घनावस्तीका प्रदूषण र जताततैका फोहोरले पनि तपाइँहरूजस्ता धूमपानीलाई छिटो माथि जान थप मद्दत गरिरहेछ । गाउँठाउँमा त झनै पौष्टिक पदार्थको अभावमा त्यसैलाई पौष्टिक बूटी मानेर काटीकुटी गरी सेवन गर्ने त झन् धेरै देखिदारहेछन् ।
त्यसो त सरकारनैक्रेता र बिक्रेतालाई खाउखाउ, बेचबेच भनेर कर लगाएपछि के गरुन् मृत्युसन्मुखीहरूले ? जति कर बढाए पनि, लगाए पनि धूमपान औषधिभन्दा महँगो नपार्नुमा रहस्य अवश्य लुकेको हुन सक्छ । औषधि खाएर इहलौकिक आनन्द लिनुभन्दा धूमपान गरेर पारलौकिक पाहुना हुने मार्गप्रसस्त गर्नकै लागि औषधिको मूल्यभन्दा सुर्तीजन्य पदार्थको मोल कम गरेको हुन सक्छ सरकारले । दक्षिणपूर्व एसियाका जनताले कत्तिको बुझेका छन् भन्ने कुरो वर्षेनीको सुर्तीसेबीका संख्या र मृत्युवरणको वृद्धिले देखाइरहेको छ ! लाखौँको उपचार गरेर रोगहरण गर्नुभन्दा चुरोट खैनीमा हजारौँ खर्च गरेर मृत्युवरण गर्न सजिलो भएर त त्यसो गरेका होइनन् मूल्यहीन जीवनबादीले ?
बेकारमा सरकारले धूमपानले क्यान्सर हुन्छ भनेर चुरोटका बट्टाबट्टामा क्यान्सरको चित्रनै देखाएर जनतालाई जिस्क्याइरहनै पर्दैन । जनताने ताहरूका राजनीति त बुझेर प्राय मुर्खमुर्खलाई छानेर सिंहदर्बारमा सिँगौरी खेल्न पठाउनसक्ने क्षमताका भैसके । देख्नुभएन ? यहाँ दिसापिसाब नगर्नुहोला, यहाँ फोहोर नफाल्नु होला, यहाँ भ्रष्टाचारीलाई प्रवेश निषेध छ । भ्रष्टाचार निषेधित कार्यालय, भन्दैमा तदनुरूपको काम भएको देख्नुभएको छ र ? चुरोटका बट्टामा क्यान्सरको चित्र देखाउँदैमा कुनै बिचित्र हुने हो र ? बरु अरु निशेधित सूचनाहरूमा झैँ प्रोत्साहन मिलेजस्तो पो देखिएको छ त वर्षेनी धूमपान गरी मृत्यु हुनेका तथ्याङ्क हेर्दा त !
हुन त धूमपानीहरू नेपालमा जस्तै दक्षिणपूर्व एसियाका दर्जनौँ राष्ट्रका कुलती जनताका हालत पनि उही रहेछ । उनीहरूमा पनि आफ्ना परमायु पर्खने धैर्यता देखिएन । मुलुक विकासोन्मुख जनता मृत्युन्मुख भएर धूमपानलाई सम्मान गरिरहेका त होइन ? धूमपानको माध्यमले आफ्नो मृत्युलाई स्वतन्त्र प्रयोग गर्न पाउनुलाई सार्वभौम अधिकार मानेका होलान् कि जीवनलाई धिक्कार ठानेका होलान् ?
चेतावनीले चेत्ने भए सरकारले निषेधित गरेको क्षेत्रमा सभाजुलुस गर्न, हिँडडुल गर्न रोकिनु पर्ने थियो खै टेरेको ? लठ्ठीको बर्षा र हवाइ फायरको चेतावनीबाट त नचेत्ने मृत्युसन्मुखीहरूलाई चुरोटको बट्टामा चुरोट नखाऊ यसले कयान्सर हुन्छ भनेर देखाएको चित्रको चेतावनीले त हात्तीलाई गुलेली देखाएर जिस्क्याएजस्तै पो भएछ !
हुन त शून्य जीवनको शून्य दृष्टिले हेर्दा धूमपान गर्नुको फाइदा पनि शून्यनै छन् । बूढो हुनु नपर्ने (चाडै मर्न पाइने) कुकुरले नटोक्ने (ताकत कम हुनाले लट्ठी टेकेर हिँड्नुपर्ने) घरमा राती चोर नआउने (खोकेर जागा भई बस्नु पर्ने) सन्तानलाई बोझ नहुने (बूढो नभै मरिने) धूमपान मद्यपान सूर्ती सेवन आदिबाट हुने यस्ता फाइदालाई परिवार, समाज र देशले कसरी हेरेको छ यसको वृद्धि र विकास त्यसैगरी बढ्दैजाने हुनाले सबैलाई चेतना भया ।
कीर्तिपुर
Subscribe
Login
0 Comments
Oldest







































