अमर अधिकारीसुरु नभएको कविता
कविगोष्ठीको उद्घोषकका हैसियतले समय बचत गर्न म सबैलाई अनुरोध गर्दै थिएँ । ऊ भने बित्थामा सम्बोधन र त्यसपछि कविता बारेका अन्य गनफस्से कुरामा समय बिताई रहेको थियो । प्रमुख अतिथि भएर आउने खानदानी साहित्यकारले घरिघरि मलाई घडी देखाउंदै चाँडो कार्यक्रम सिध्याउन सङ्केत गर्दै हुनुहुन्थ्यो । म पनि आत्तिएको थिएँ, क्याम्पसको खुला चौरमा, अलिअलि बादलको झल्याकझुलुक भयो कि फेरि साथीहरू हिँड्न सक्थे ।
कविताको पाना हातमा लिएर ऊ भन्दै गयो, ‘मलाई शब्द संयोजन पनि आउँदैन, भाव समेट्न पनि आउँदैन, विषयवस्तु टिप्न पनि आउँदैन ।’
कविता पढ्नु पहिलेको भूमिका र सम्बोधन पर्दैन भनेर भनिसकिएको थियो । मैले कोट्याएँ– ए मित्र ! यो सबै भनिरहन पर्दैन, तपाईं आफ्नो कविता पढ्नुहोस् ।
मेरो आग्रहलाई सुनेको नसुनेझैं गरी उसले फेरि बोल्न थाल्यो– ‘मलाई प्रकृतिमाथि कविता लेख्न पनि आउँदैन, मलाई प्रेमका विषयमा कविता लेख्न पनि आउँदैन, मलाई कसैको प्रशंसा गर्न पनि आउँदैन, मलाई कसैमाथि लान्छना लगाउन पनि आउँदैन ।’
त्यत्ति मात्र नभएर उसले आफूलाई धेरै थरी कुरा नआउने बतायो । आ ! कविता पढ्दा त्यो सबै भन्न आवश्यक थिएन नि !
मलाई उसको कविता पढ्नु पहिलेको यो अनावश्यक भाषण लाग्यो । समय थिएन । अनि माइक नै समातेर बोलें– ‘आफ्नो कविता पढ्नुस् न !’
उसले पुलुक्क मतिर हेर्दै माइकका नगिच मुख जोडेर भन्यो– ‘मेरो कविता सकियो ।’ म जिल्ल परें ।
सातदोबाटो, लपु, हालः बैङ्गलोर, भारत
Subscribe
Login
0 Comments
Oldest




































