साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भागबण्डा जयनेपाल

Nepal Telecom ad

स्वर्गबाट आशा नगरेभन्दा बढी ऐश्वर्य बर्सियो । कङ्गालीहरू वर्षौंदेखि अभाव, अनिकालग्रस्त भई भोक प्यासले प्रताडित हुँदै आएका थिए । सबै प्रकारका अवसरबाट वञ्चित ! भौतिक, शारीरिक र मानसिक रूपमा रूग्ण बनेका उनीहरूको निम्ति यो ऐश्वर्यको वर्षा आश्चर्यजनक अवसर थियो । यस अवसरले कङ्गालीहरू हर्षविभोर भए, आल्हादित भए, पुलकित भए । बाढी ओइरिएर बञ्जर बनिसकेको सुखा बगरमा बसन्तको हरियाली ओर्लिएको जस्तो भयो । अब चाहिँ पेटभरि हसुर्न पाइने भो भन्ने कल्पना मात्रले पनि कङ्गालहरू खुसीले गद्गद भए । अवसररूपी मणि माणिक्य, धनधान्य, आहा ! कस्तो मज्जा, कस्तो आनन्द !!

कङ्गालीहरू साँच्ची नै कङ्गाली थिए– विचारका कङ्गाली, आस्थाका कङ्गाली, चिन्तनका कङ्गाली, जनप्रतिबद्धताका कङ्गाली । पद, प्रतिष्ठा, अवसर प्राप्त नभएकै कारण आफू कङ्गाली बन्नु परेको कुराले उनीहरू अतीव दुःखी थिए । जीवन डढेलो लागेको वन जस्तो थियो । अचानक स्वर्गबाट बर्सिएको यो ऐश्वर्य–अवसरले कङ्गालीहरूको जीवनमा नयाँ रक्तसञ्चार गरिदियो । लामो खडेरीपछि वर्षात् भएको छ । यस रसिलो, भरिलो र स्वादिलो वर्षात्ले अब सबका सबको जीवन रसमय ढङ्गले तृप्त पारिदिने छ ।
स्वर्गबाट सर्लक्क ओर्लिएको ऐश्वर्यको अपार राशी सबै भोकाहरूको भोक तृप्त हुने मात्रा र आकारमा छ । न्यायोचित वितरण प्रणाली अख्तियार गर्ने हो भने अब भोका र कङ्गालले भोकै बस्नु पर्ने अवस्था छैन । भागशान्ति जयनेपाल गरेको भए कुरै सकिएको थियो । तर त्यस्तो भएन । ऐश्वर्यको वर्षातपछि हेर्दाहेर्दै कङ्गालहरूको बस्तीमा नितान्त भिन्न खालका दृश्यहरू देखिन थाले । स्वाद ग्रहण गर्ने फरक फरक जिब्राहरूको रुचिक्षेत्र पनि फरक हुनु अनौठो होइन । सजातीय र विजातीयहरू बीच पनि भोजन चाह भिन्न हुनुलाई अस्वाभाविक मान्न सकिन्न । तर ऐश्वर्यको उपभोगमा जुन प्रकारको छिनाझप्टी, उछलकुद, तानातान, खोसाखोस देखियो यो हदैसम्मको विचित्र छ । सजातीय वर्गबन्धु बीचमै पनि ऐश्वर्य भोजनका लागि भइरहेको निर्घिणी पाराको प्रतिष्पर्धा हेरेर संसार हतप्रभ भएको छ ।
छल, प्रपञ्च, जालझेल, तिकडम आदि सबै अस्त्रहरूको प्रयोगद्वारा भोजनमाथि आफ्नो मात्र हकाधिकार साबित गर्न कन्धनी कसेर लागेका छन् कङ्गालीहरू । मानौं यो स्वर्गबाट खसेको ऐश्र्वय हुँदै होइन, बरू सडकका भोका भुस्याहाहरूबीच मासु लुछिसकेर कसैले हाडको एउटा टुक्रा फालिदिएको छ । फालिएको त्यही हाड प्राप्तिका निम्ति ¥याल काढेर भुस्याहाहरू एकआपसमै साङ्घातिक लडाइँमा उत्रिएका छन् । चिथोराचिथोर गरिरहेका छन् । कोपराकोपर चलि।हृको छ । उनीहरू बीच आपसमै भइरहेको टोकाटोक र ठोकाठोकको भयाक्रान्त दृश्यको पटाक्षेप खै, कसरी होला कुन्नि !! हैन, यिनीहरूले ‘भागबण्डा जयनेपाल’ गर्न छोडेर यो के हरिबिजोक देखाएका हुन् हँ ?

कलंकी, काठमाडौं
फित्कौली अंक ३९ को सम्पादक्यौली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x