विष्णु प्रभातव्यङग्यऋषिको ‘गजवाष्टक’ हेर्दा
जति गजबका लेखक हुन्छन् त्यति गजबको लेखाई नहुन सक्छ । व्यक्ति र कृतिको साइनो जोइनो झैँ बाटिएको हुनुपर्ने हो । कहिलेकाहीँ यस्तो नहुन पनि सक्छ । एउटा कुनै रचनामा निकै राम्रो ठहरिएको स्रष्टा अर्काे कुनै सिर्जनामा त्यस्तो नदेखिन पनि सक्छ । ग्रहणशीलता र सृजनशीलता बीचमा रहने भिन्नताले एउटै कृतिलाई फरक–फरक तह, स्वाद र निचोडयुक्त ठह¥याउने अवस्था पनि आउन सक्छ । मेरा कुरा नै तपाईंका कुरा नभइदिन सक्छन् भन्ने मलाई थाहा छ तर मैले जे अनुभूत गर्दछु त्यसतर्फ ध्यानाकर्षण गराउँदा, राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्दा ठुस्किहाल्नु पर्र्दैन । बरु किन हँ ? कसरी ? भनेर सजिलैसँग बातमार्न सक्नुपर्दछ । हँसाउन र खसाउन एकैसाथ लाग्नु, त्यसमा पनि मान्छेका दुस्प्रवृत्ति सुध्रोस् भनिकन मिलाई–मिलाई जाग्नु सजिलो काम त होइन । रस बसेपछि अपजस आइलागे पनि मान्छेले कर्म–कुकर्म गर्छ–गर्छ । “अचेल हास्य–व्यङग्यलाई साहित्यको अलग विधा मान्नुपर्ने केही आग्रहहरू हुन थालेको देखिए पनि यो स्वतन्त्र विधा होइन, मात्र यो रस हो । कुरा बरु के हो भने यो रस कुनै विधाको पेवा नभई हरेक विधमा अन्तर्निहित हुन्छ ।” भनेर होम गरिएको भूमिकासँगै “समाजमा उम्रेका विकृति–फोहरलाई व्यङ्ग्य ऋृषिले ठट्टा, उपेक्षा र परिहासको वर्षा गर्ने शैली रोजे ।” भन्ने द्रोण ठहर एकैसाथ पढ्न पाइने “आठ सिलोके छेडछाडहरूको पल्टन” हो रे गजवाष्टक । गजवका अष्टकहरूको सङ्ग्रह भएकाले पुस्तकको नाम नै ‘गजवाष्टक’ बन्न पुगेको हास्यव्यङग्य कविता सङ्ग्रहका स्रष्टा हुन् व्यङग्य ऋषि ।
नेपाली सहित्यको सङ्क्षिप्त इतिहासअनुसार व्यङग्यऋषि भनेका चूडामणि रेग्मी हुन् । तिख्खर भएर पनि सजिलो भाषामा खासा कुरा गर्नु उनको पहिचान बनेको छ । झापाको कर्मभूमिमा बसन्तको आमगमनसँगै उदाएका गफाडी पण्डितले संस्कृत साहित्यमा आचार्य र अङ्ग्रेजीमा स्नातक गरेको हुँदा उनका रचनामा यी दुवै भाषाका शब्दहरू भरमार पढ्न पाइन्छ । उता सीमाछेउ बस्ने भएकाले सांकृत्यायन–सङ्गत पनि राम्रोसँग नै भेटिन्छ । यता देवकोटाको देखासिकी गर्दै श्यामप्रसादको सत्सङ्गमा ‘जयभुँडी’ भन्ने गरेको र कहिलेकाहीँ ‘खै खै’ राम्रा–राम्रा कापी–कलम भन्दै किनेर रमाउने गरेको देखिन्छ । खिलेश्वरीका छोरालाई खिलकुमारी पुरस्कार मात्र हैन, भैरव र महानन्दको मान पनि मिलेको छ । ‘ज्ञानी’ मान्छे भन्ने जानेर नै उनलाई राष्ट्रिय प्रतिभामा मानिएको हो । ‘यथार्थ कुरा’ गर्न ज्यादै सिपालु रहेका रेग्मीलाई ‘जुही’ फूल मन पर्छ । त्यसो त उनी ‘युगज्ञान’ खोज्ने क्रममा नै पुराना नेपाली साहित्यकारले प्रयोग गरेका ‘अष्टक’ तर्फ लहसिएको हुनुपर्छ । मोतीरामको ‘गफाष्टक’ पछि उनका दौँतरीहरूले ‘अम्लाष्टक’, ‘ठगाष्टक’, ‘अम्लाष्टक’, ‘शृङ्गाराष्टक’, ‘समस्याष्टक’, ‘कालिकाष्टक’, ‘गञ्जिफाष्टक’ आदि लेखेको देखेर तलतल लागेको हुन सक्छ । परन्तु रेग्मीको रोजाइ एक दुई अष्टकमा रोकिएन, पूरा ‘एकसय आठ’ महाराज बन्न पुग्यो ।
घुम्टो भित्रबाट कटाक्ष गर्ने अखबारी–परम्परामा ‘युगज्ञान’ मोफसलको पहिलो हो । ‘गजवाष्टक’ स्तम्भमा सप्ताह लगाएर उसले ठूलो पुण्य आर्जन गर्यो । तारानाशका अनुसार त्यसले आठ सिलोके मट्याङ्ग्रा हानेर आफ्नै खालको इतिहास बनाएको छ । पञ्चायती निरङ्कुशताको दमनकारी कालखण्डमा समेत जनपक्षीय अडान राखेर आफ्ना अभिव्यक्तिलाई अष्टकमा अघि सार्नु चानचुने गफाष्टकले सक्ने काम थिएन । “बोल्दै बातलाग्ने त्यो बेलामा कुर्सीको आरती गरेर तरक्कीको कार चढ्न छाडी विकास निर्माण र उन्नतिको–तर प्रशासन निर्मित धारणाभन्दा अर्कै खालका– कुरा गरेर हुलमुलमा जिउ जोगाउनु गाह्रो थियो तर कर्तव्यले शायद त्यस्तै गर भन्दथ्यो ।” तसर्थ उनले तत्कालीन विकृतिमाथि धावा बोले । गणेशको बोलीमा लोली मिलाएर भन्ने हो भने “गजबका अष्टकहरूलाई समेटेर सिङ्गो कृतिका रूपमा प्रस्तुत गरेर चूडामणिले स्तुत्य प्रयाश गरेका छन् ।”
सवाइको शैलीमा भैली गाउँदा नयाँ शिक्षाले विद्यार्थीहरूमा बढाएको अनुशासनहिनता, झोडा समस्या, महँगी र भ्रष्टाचारको भरपुर बिरोध गर्दछन् । दशैं दशा बनेको चित्रण सँगसँगै देवीस्तोत्रप्रति व्यङ्ग्य गर्दछन् । हदबन्दी लागू हुँदा जग्गा लुकाउने जमिन्दारलाई उनी देखीसहन्नन् । सुकुम्बासीका नाममा हुकुम्बासी हैकम असह्य हुन्छ । सिलान्यासमा थिग्रिएको विकासको व्यङ्ग्यले मेचीपुलको पीडा पोख्छ । समाजमा व्यक्तिवाद बढेकोमा उनी चिन्ता व्यक्त गर्दछन् र भन्दछन्—
“कतै लूट कतै हत्या कस्तो जुग आयो !
समाजको सेवा छैन व्यक्तिवाद छायो । ” (अष्टक ४, श्लोक ४, पृ. ५)
कवि समाजमा मात्र हैन, प्रकृतिमा पनि डुब्छन् । उनका रचनाले प्रकृति वर्णन गर्छ । जाडोको सङ्कट व्यहोरेको पीडा, वन–जङ्गल फँडानीप्रति चिन्ता, खानेपानीको अभाव समेटिन्छ । कृषि कर्मको मर्म राम्रोसँग व्यक्त गर्दै उनको व्यङ्ग्यले भन्छ—
“सुन फले खेतभरी जब बोरा कसे
पित्तलको भाऊ भई गोदाममा पसे ।” (अष्टक ११, श्लोक २, पृ. १२)
भानुभक्तप्रति छेप्पन हान्दै व्यङग्यऋषि तर्क गर्छन्– ‘बधु शिक्षा’ लेखेर महिला कज्याउने दाउमा लागेका कविले नारीवादी महिला सङ्गठनहरू व्यहोर्न परेको भए थाहा पाउँथे । उनी महिलालाई सृष्टिको दर्बिलो खम्बा बनाउन चेतनाको खाँचो दर्शाउँछन् । हुनेहरू र नहुनेहरू बीच झुण्डिएको ‘मध्यवित्त’ सङ्कटमा परेको, नयाँ युग भनिए पनि शोषकहरू पुरानै रहेको, शहीदको आत्मा रोएको यथार्थ अङ्कन गर्दै घूसमार्गी, भुसमार्गी, क्याँटमार्गी र ट्वाँटमार्गीहरूको मनपरीतन्त्र बढेको वर्णन गर्दछन् । सङ्ग्रहमा रहेका राम्रा अष्टकहरूमध्ये मलाई लाग्छ– ‘कान खोल सुन !’ निकै राम्रो रचना हो । यसमा सुधारको सन्देशसँगै व्यङ्ग्यको चोटिलो प्रहार छ । आत्मपरकतासँगै वस्तुपरकता अङ्कित छ । पुस्तकको सङ्ख्या बढे पनि ज्ञान नबढेकोमा ऋषिलाई चिन्ता लाग्छ । चङ्खहरू यताउता जतासुकै कुद्छन् र काम पट्टाउँछन्, सोझाहरू काममा जोतिन्छन् । भ्रष्टाचार गर्नेहरू छाल गनिरहेछन् । दुराचार गर्नेहरू साल गनिरहेछन् । धुपौरे कार्यकर्ता, मौकाबाज ब्यापारी, पदलोभी नेताहरू मात्र हैन, चाकडीमा खग्गूहरू नै प्रत्येक क्षेत्रमा बलवान् बनिरहेका छन् । ‘गजबे’ आप्mना देखाइहरूलाई, भोगाइहरूलाई उतार्छन् । धनवादी धन्दामा लागेका पञ्च, नेता, साहित्यकार र प्राज्ञ कसैलाई बाँकी राख्दैनन् । नानीमैयाँ, पुहातु चौधरीलाई नकारात्मक पात्रको नमूना बनाएर पेश गर्छन् । विदेशीका पत्रिकाले हामीलाई ढाके, हाम्रो देशलाई प्रगतिमा लग्नका निमित्त भाषणको खेतीले काम दिँदैन भन्ने ठहर उनको छ ।
“भाषणकै खेती बढ्यो देशोन्नति मरू
कुरा गर्नुभन्दा चाहिँ काम गर्नु बरू ।” (अष्टक ३७, श्लोक ५)
रक्सी विनाको कवि गोष्ठी मीठो हुन्न । भ्रष्टाचार विनाको विकास दीगो हुन्न । विज्ञापन विना पत्रिका सप्रिन्न । पञ्चहरू फुटेर गुटबन्दीमा लागे भन्ने कुरा गर्दागर्दै व्यङग्यऋषि बुद्धिजीवीमाथि खनिन्छन्—
“डाक्टरले देश चुसे, प्रोफेसर धुस्रे
बुद्धिजीवी भनाउँदा भएका छन् फुस्रे ।” (अष्टक ५५, श्लोक ४)
पश्चिम फर्कनु वा पश्चिमेली गोराहरूलाई गुरु मानेर आफ्नो स्वतन्त्र अस्तित्व बिर्सनु फुस्रे हुनु हो । डाक्टर भनेका पि.एच.डी.को फेटा गुतेका पनि हुन् । शायद त्यसै प्रवृत्तिको शिकार भएर शिक्षा क्षेत्र बिग्रिएको हुन सक्छ । परन्तु व्यङग्यऋषि भन्छन्—
“विद्यालय लथालिङ्ग राजनीति पस्यो
शिक्षाभित्र राजनीति ढाडे भई पस्यो ।” (अष्टक ५८, श्लोक ८)
सिडियो र भिडिओ प्रचुरतामा पञ्चायतले धेरै साना उमेरका मान्छेलाई समेत पकायो । हुल्याहा र छुल्याहा मात्र हैन मिचाहा र थिचाहाको हुल धेरै बढ्यो भन्दै कतै हँस्यौली त कतै ठट्यौली थप्दै व्यङग्यऋषि भन्छन्—
“बर्बादी भो सबैतिर बुद्धि बिब्ल्याँटो छ
गरूँ भन्ने मान्छेलाई ङ्याक्ने पारा यो छ ।” (अष्टक ६३, श्लोक ७)
सँगिनी र सोरठीलाई स्वाहा पार्दै डिस्को रमझमले सबैलाई तान्न थालेको, आतङ्क उत्तेजना र पैसाका प्रभुत्वमा मानवीय मूल्य सफाचट भएको, निष्ठामा भन्दा नाफामा चल्ने इन्साफ, खाद्यान्नमा मिसावट, बोर्डिङको बेपार जस्ता सामाजिक विषय नै ‘ज्ञानीका कुरा’ बन्न पुगेका छन् । महात्मा गान्धी हराएको, गौतमबुद्ध डराएको, गोर्खाली बुद्धिमा बाँओरो लागेको विवरण पनि पढ्न पाइन्छ । ‘चाइने जो छ’ रहनीमा आधारित भई रचिएको बयानब्बेऔँ अष्टकले धेरै विषयमा मीठो प्रस्तुति अघि सार्छ ।
“काँग्रेसले चाइने जो छ पदयात्रा भन्छन्
पदविना चाइने जो छ महाँजात्रा गर्छन् ।” (अष्टक ९२, श्लोक ६)
भारतका वामपन्थी दक्षिणपछि लागेको भए पनि नेपालका दक्षिणपन्थीहरू वामपछि लागेको हुँदा २०४६ को जनआन्दोलन सफल भएको ठहर गर्दै मरिचको पालो सकिएर बहुदल पुनस्र्थापना भएको रोचक वर्णन गर्छन् र भन्छन्—
“देख्दा देख्दै पञ्चायत बालुवाको घर
रिमालको कविताको कुरा पुग्यो आज ।” (अष्टक ९९, श्लोक ६)
परन्तु उनी जनताको प्रजातन्त्र खोज्दा ब्रिटिसको प्रजातन्त्र आएको देख्छन् । जेलनेल सहेका लडाकुभन्दा मौकावादीहरू माथि गएकोमा विरोध वक्तव्य लेख्छन् । आन्दोलन गर्ने्मध्ये वामपन्थी अघि रहेको तथ्य औँल्याउँदै पद पड्काउनमा सफल ‘कुलीन’हरूको पर्दाफास गर्दछन् । प्रजातन्त्र आयो र आएको छैन भन्ने वैचारिक द्वन्द्व यथावत रहेको यथार्थमा खडा भएर पञ्चे कुरा छोड् ! भन्न चुनौति दिन्छन् । तीस वर्षे भ्रष्ट पारा समाप्त नभएको र केवल बोल्न कराउन छुट पाएको अवस्था आएको वर्णन गर्छन् । हिटलरका चेलाको विरोध गर्दै ऋषि भन्दछन्—
“पञ्चायत गए पनि पञ्चपारा उस्तै
ठूला बडा राहुको छ ढलीमली उस्तै । (अष्टक १०७, श्लोक १)
राष्ट्रियताप्रति सजग रहनु पर्ने खाँचो औँल्याउँदै अमेरिकी पिट्ठुहरू नानाथरी खोल ओडेर प्रजातन्त्रको नाममा देश र जनतालाई ठगी गर्दैछन् भन्ने मत पनि उनले व्यक्त गर्दछन् र अन्त्यमा त्यागी नेतृत्वको अभाव रहेको तीतो सत्य अङ्कित गर्दै पुस्तक समाप्त हुन्छ । व्यङग्यऋषिले लेखकीयमा आफ्नै श्रीमतिलाई समेत ढाँटेर ‘गजवाष्टक’ लेख्नु परेको रहस्योद्घाटन गरेर बिदा हुन्छन् । ‘नामर्दले स्वास्नी कुट्छ’को सट्टा ‘स्वास्नी ढाँट्छ’ भएर पञ्चायती काल काटेको र ‘गजवाष्टक’ छापेको बताउँछन् ।
‘गजवाष्टक’ भनेको गजबका अष्टकहरूको सङ्ग्रह भए पनि सबै अष्टक र श्लोकहरू गजपका छैनन् । कुनैमा कवितात्मक संरचनाको मिठास, कुनैमा भाषाको परिपाक अभाव र कुनैमा विषयवस्तुको पुनरावृत्तिले उनको गजबका अष्टकलाई बेस्वादिलो बनाउन पुगेको पाइन्छ । लोक्जीवनका रोचक बोली, उखानटुक्का र थेगोको लोली मिसाएर सकेसम्म मीठो स्वादिलो बनाउने बल गरेको यथार्थलाई भने स्वीकार्नु पर्दछ । झर्रो भाषाका कर्रो कुरा कथुर्ने कुरौटेका साथमा कवित्व कुशलता नभएको होइन, छ । तर ‘भावना’मा बहकिंदा सर्सराएको स्वाद यसमा नमिसाएको मात्र हो । आख्यानको ‘भुँवरी’मा रिङ्ने मान्छे “धुनमा धुन’ चलेपछि ‘साधना’मा लीन हुन्छन् । भाषा सेवामा समर्पित भई ‘नेपाली उखानटुक्काको अध्ययन’ गर्छन् र ‘पारिजातको परिचय र मूल्याङ्कन’ गरेर आफ्नो यात्रा जारी राख्छन् । त्यसैले ‘गजवाष्टक’का कवि व्यङ्ग्यऋषि व्यङ्ग्यकारको छविमा परिचित कवि मात्र हैनन् हास्यव्यङ्ग्यका तेजिला रवि पनि हुन्, यसमा कुनै शङ्का छैन ।
पुतलीसडक, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































