मेरो भुँडी
टन्नै खान्छु म दाल, भात, चटनी मानेर मीठो अनि ।
ठूलो हुन्न भुँडी अझै तलतलै घट्दै छ यो तैपनि ।। {{read_more}}
फर्सीझैँ बनियोस् म भन्छु जहिल्यै गोलो फुकेको भनी ।
भित्रै पस्छ हुँदैन पुट्ट बिचरो ! खाए पचाए पनि ।। १
माग्दा हुन्छ भने अहो ! भनिदिनुस् मागेर लिन्थेँ चुँडी ।
ठूलाठालुसँगै थिए गजबका घ्याम्पे र पुन्टे भुँडी ।।
सासै फेर्न कठोर नै किन नहोस् खप्थेँ बडो गर्वले ।
भन्थेँ गर्छु म काम रत्ति नडगी के रोक्छ यो पेटले ।। २
पैसा छैन भने कतैतिर भुँडी तेस्र्याउँदा मान्दछन् ।
मान्छेका अघि पो परिन्छ जगमा ठूलै भनी गन्दछन् ।।
नेता बन्न सकिन्छ मान–मनितो गर्छन् सबैले बुझी ।
जो भेटे पनि हाँस्छ भन्छ मनले आहा ! फुकेको भुँडी ।। ३
पाकेका फलपूmल, खीर, हलुवा खाएँ पचाएँ कति ।
धेरै हेर–बिचार गर्छु तर यो छाड्दैन घट्ने मति ।।
इच्छा जाग्छ गणेशभैmँ उदर होस् ठूलो बनूँ लोकको ।
कुर्सी, मान मिलोस् र व्यञ्जन मिलोस् तृष्णा नहोस् भोकको ।। ४
बिन्तीपत्र म हाल्छु हे शिवहरे ! ठूलो भुँडी भैदियोस् ।
हेप्ने छन् मकनै अझै कतिजना सेखी सबैको झरोस् ।।
कोही छैन भुँडी बिहीन तर यो ठूलो कसैको नहोस् ।
मेरैमात्र बढोस् बिछट्ट गतिले ताली तमासा बनोस् ।। ५
जुरोपानी–४, झापा