साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कामरेड

Nepal Telecom ad

कामरेड ! 

हिजो तिमी गरिबको झुपडीलाई
महल बनाउने सपना देख्थ्यौ
तर अहिले आफ्नै महललाई
गगनचुम्वी बनाउने सपनामा मग्न छौ
हिजो गाँस–वास र कपासको कुरा गर्थ्यौ
किनकि त्यतिखेर तिमी पनि
गाँस–वास र कपासको समस्यामा नै थियौ
तर अहिले यी सबै कुरा फतुर देख्छौ
किनकि
तिम्रो लागि गाँस, वास, कपास मात्र होइन
सुरा, सुन्दरी र सत्ता समेत
चुड्कीको खेल जस्तै भएको छ
अनि
झुपडीलाई बिर्सी सकेका छौ ।

कामरेड !
हिजो त देश र जनताको मुक्तिको कुरा गर्थ्यौ
तर अहिले त कामरेड,
ती सबै बिर्सिएछौ
किनकि
तिमीले अहिले मुक्तिको परिभाषा नै बदलेछौ
जसको मुक्तिको कुरा गर्थ्यौ
तीनको नजिकै नपुग्ने भई सकेछौ
जसको मुक्तिको कुरा गर्थ्यौ
तिनीहरू जस्ताको तस्तै रहे पनि
तिमीले त मुक्ति मात्र हैन बाबै
उन्मुक्ति नै पाई सकेछौ ।

हिजो वर्गीय शोषणभित्र
जातीय र लिङ्गीय शोषण रहेको कुरा गर्थ्यौ
धार्मिक र साँस्कृतिक शोषण रहेको कुरा उराल्थ्यौ
तर आज तिमीले आफ्नो वर्ग नै बदली सकेछौ
त्यसैले
यी सबै शोषणहरू तिम्रो दृष्टि बाहिर परेछन्
अनि त वर्ग हैन तिमी
स्वर्गको बात मार्न थालेका छौ
धर्म–कर्ममा ध्यान लगाउन थालेका छौ
कर्मकाण्ड गरेर ग्रहदशा सुधार्न लागेको छौ ।

हिजो तिमी सुनको विरोध गर्दथ्यौ
सुन चर्पीको लागि उत्तम हुने बताएर
हामीलाई हँसाउँथ्यौ
तर आज सुन त तिम्रो लागि दैनिकी बनेको छ
त्यसैले सुन ओसारेर दाम–नाम कमाउँछौ
दाइजोमा सुन लिएर दुनिया हँसाउँछौ
हिजो झुपडीको लेभीले नुन किनेर बाँचेको तिमी
आज सुनले छाना लिप्न सक्ने भएका छौ ।

हिजो तिमी दाइजो विरोध गर्दथ्यौ
नारी मुक्तिको नारा उराल्थ्यौ
तर आज तिम्रो घरमा
दाइजोको गण्डकी नै भित्रिएछ
सहिदको कोटाको दुरुपयोगले मात्र पुगेन
त्यसैले बुहारी मात्र होइन सुनबुढी नै ल्याएछौ
देश जनताको मुक्ति यात्रामा लागेर
आफ्नो सात पुस्ता नै सुधारेछौ ।

हिजो तिमी सामन्तवादको विरोध गर्दथ्यौ
पूँजिवादको विरोध गर्दथ्यौ
तर आज तिमी नै सामन्त भएका छौ
तिमी नै पूँजिपति भएका छौ
त्यसैले तिमी अहिले हेर्दै खाइलाग्दो छौ
रहर लाग्दो छौ
भरस लाग्दो छौ
बोली बचनमा गहकिलो भएका छौ
रबाफिलो भएका छौ
अनि हिजो गाँस काटेर
पसिना साटेर
तिम्रो घ्याम्पे पेट भरिदिनेहरूलाई
देख्नै नचाहने भएका छौ
चिन्दै नचिन्ने भएका छौ ।

हिजो तिमी विस्तारवादको विरोध गर्दथ्यौ
सीमा मिचिएकोमा आगो ओकल्थ्यौ
तर आज तिमी
विस्तारवादको सिरानी हालेर
मस्त निदाउन थालेका छौ
उनीहरूबाट आशिर्वाद पाउनका लागि
फूलमाला चढाएर भजन गाउन थालेका छौ
पञ्चेश्वरको नक्कली धितोमा
टनकपुर बुझाए झैँ
कर्णाली बुझाउन किलाकाटा बुन्दै छौ
स्याटालाइट बाजे र खरबी बाजे त अभ्यस्त नै छन्
अब जनमत सङ्ग्रह बाजे र बिप्पा बाजे पनि
त्यही हुलमा सामेल भएका छन्
महाकाली वारि रहेका हवल्दार कामरेड पनि
त्यही विस्तारवादी संसारमा
नाटकीय विचरणमा छन् ।

कामरेड !
हिजो सिटामलसम्म पनि नपाएका जनता देखेर
तिमी कति भावुक बन्थ्यौ
तिमी कति विद्रोही बन्थ्यौ
तर आज यो तिमीलाई सानो घटना भएको छ
किनकि
आज तिमी सिंगान आए सिंगापुर
दाँत दुखे दिल्ली
पेट दुखे पटना
नाइटो चस्किए चेन्नाई जान थालेका छौँ
तिम्रो यो हैसियत देखेर
हिजो तिमीलाई लेभी बुझाउनेहरू
साह्रै खुसी छन्
किनकि
देश जनताको मुक्ति नभए पनि
तिमी र तिम्रो परिवारलाई मुक्ति मिलेको छ ।

कामरेड !
भन्ने कुरा असङ्ख्य थिए
सुन्न सक्ने हिम्मत पनि हारी सक्यौ जस्तो लाग्यो
अहिलेलाई यत्ति नै भनौँ
तर जानी राख
मुक्ति योद्धाहरूले खनेको
सफा पानीको तलाउलाई
तिमीले हिलाम्य बनाएका छौ
त्यसैले
इतिहासले तिमीलाई
धिक्कार्ने छ
तर त्यही हिलोमा
एकदिन फूलको विरुवा हुर्कनेछ

एक सुन्दर फूल फुल्नेछ
जुन फूल मुक्तिकामी जनताको
आफ्नो फूल हुनेछ
आशावादी छौँ
विश्वस्त पनि छौँ
तलाउको हिलोबाट फूल फुल्नेछ
अवश्य फुल्ने छ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x