लक्ष्मण अर्यालकिरिया
‘अब म रक्सी खाँदै खान्न । जाँडरक्सीले मेरो जीवनको आधा भाग नै खाइदियो । यसले मेरो ठुलो मान्छे बन्ने आकाङ्क्षाभित्र सुटुक्क पसेर कुटुकुटु टोकिसकेछ । मैले जीवन बुझिन । जीवन बुझ्ने समयलाई मैले सोमरसका घुड़काहरूसँग साटें । थुक्क ! थुक्क !! थुक्क !!!’ उसलाई आफ्नो जीवनप्रति घृणा लाग्यो । यो दिव्यज्ञान उसलाई आजै मात्र खुल्यो जब सानी छोरीले सर्टको फेरमा झुण्डिएर कापी र कलम मागी जतिवेला ऊ होसमै थियो, तब उसलाई अचानक चतुर्मुखी ब्रम्हालाई वेदका मन्त्र फुरेझैं, न्यूटनमा गुरुत्वाकर्षणको नियम उद्भव भएझैं रक्सी नै आफ्नो लघुताको कारण हो भन्ने खुट्याउन बेर लागेन । उसले तत्कालै मनमनै केही निर्णय गर्यो । उसले श्रीमतीलाई अक्षता मुछ्न लगायो । आफ्नो आश्चर्यको गाँठो फुकाउनै नपाई श्रीमतीले आज्ञा पालन गरिन् । उसले छोरीलाई पश्चिमतिर फर्कायो । आफू पूर्वतिर फर्किएर छोरीको निधारमा अक्षता टाँस्यो र गोडामा ढोग्यो । ‘आजदेखि जीवनको पतेरारूपी जाँडरक्सीलाई छुँदै छुन्न’ आदि भन्दै खान सकिने जति किरिया खायो । श्रीमतीमा हर्षको सीमा रहेन । उसका बाबु र आमाले बुढ्यौलीमैं भए पनि चार अम्मल तन्किएको सम्झे । उसमा ठुलै परिवर्तन भएको कुरामा कसैको दुई मत भएन ।
उसको जीवनको ठुलो वहाड ठानिएको सातै दिनपछि सुकुनीको कुटीभित्र उसको प्रवेश भयो । कुटीभित्र उसले सोमरसपान गर्यो । उदरभित्र सोमरसले आसनग्रहण गरेपछि ऊ ढल्मलाउँदै उठ्यो । एक सातासम्म मौनता छाएको सडक एकाएक सन्कियो । उसको बटारिएको जिब्रोबाट चकार र लकारका वर्षा भए । आकाशमा बेताल हाँस्यो । अन्ततः आमा, बाबु र श्रीमतीले उसको किरिया कहिल्यै नपत्याउने किरिया खाए ।
धादिङ
Subscribe
Login
0 Comments
Oldest







































