म फर्केर आएँ युएस्ए पुगेर
त्यहाँ देख्न पाइन्न मान्छे हिँडेको
जथाभावी संसाझ टाउको गिंडेको
यहाँझैं धुलो सुँघ्न पाइन्न लेस
म फर्केर आएँ त्यसैले स्वदेश ।
कुहेको सडेको छुनै हुन्न जान
न पूर्वीय सप्र्याङ् गरी हुन्छ खान
भने के गरी खानु मैले भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ पिउन पाइन्छ पाइन्न मात्न
जथाभावी पाइन्न स्वास्नी समात्न
त्यही लोकतन्त्रे खडेरी बुझेर
म फर्केर आएँ युएस्ए पुगेर ।
न नारा उरालेर सातो लगार्छन्
न गाडी डढाई त्यहाँ भस्म पार्छन्
भने क्रान्तिमा देश तन्नं रहेछ
भनी फर्किआएँ युएस्ए पुगेर ।
त्यहाँ पढ्दछन् शास्त्रभित्रै डुबेर
त्यसैले ठगी चीट शून्यै रहेछ
यतै ज्ञान पाइन्छ पुस्तक सुँघेर
भनी फर्किआएँ म आफ्नै स्वदेश ।
त्यहाँ घूसलाई सबै भूस मान्छन्
सधैँ आफूलाई इमान्दार ठान्छन्
बरू देश खाने यतै छन् भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
उता भोटमा नोट साटिन्न कत्ति
जहाँ ढाँटको खेत रोपिन्न रत्ति
यतै यी कुरा गर्न मिल्ने भएर
म फर्केर आएँ युएस्ए पुगेर ।
मिसेको दुई नम्बरी वस्तु मिल्छ ?
भनी सोधियो खोजियो यत्रतत्र
नपाए पछि व्यग्र सारै भएर
म फर्केर आएँ युएस्ए पुगेर ।
न ता लड्न पाइन्छ त्यो देशभित्र
इराकै पुगी भीड्नु पर्ने विचित्र
घरैभित्र लड्ने र भीड्ने यतै छ
भनी फर्किआएँ युएस्ए पुगेर ।
म ता भोकमा रोगमा रत्तिएको
विदेशी रिनैले सबै पोतिएको
बसूँ के गरी त्यो डलर्मा डुबेर
भनी फर्किआएँ युएस्ए पुगेर ।
म चम्चे भरौटे भई लिम्छु दाम
भनी खोजिहेरेँ कतै छैन काम
त्यता चाकरी चाप्लुसी शून्य रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
लफङ्गा र झल्ला कतै भेटिदैनन्
जुवातास खेल्ने त झन् देखिँदैनन्
भने के गरी दिन् बिताऊँ भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
छ बत्ती बलेको अहोरात्र नित्य
दिवा सूर्यझैं निभ्न जान्दैन सत्य
त्यहाँ लोडसेडिङ् सधैं जेलमा छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
हुँदैहुन्न खाई अघाई डकार्न
न पाइन्छ इच्छानुसारै खकार्न
कता छाड्नु संस्कार आफ्नो भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ छैन कानून नानी हकार्न
कडा रेछ बन्देज स्वास्नी भकुर्न
त्यसैले प्रजातन्त्र एतै रहेछ
भनी फर्किआएँ युएस्ए पुगेर ।
कदाचित् त्यहाँ बन्धुको घात हुन्न
यहाझैं अनेकौं जहाँ जात हुन्न
यतै जातिको युद्ध बढ्दैछ धेर
भनी फर्किआएँ युएस्ए पुगेर ।
फुटानी लडाएर केही कथुर्ने
अरूको सबै भाग आफैं हसुर्ने
प्रथाको खडेरी परेको बुझेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ खान पाइन्न सिन्की र ढिंडो
न ता धानको भातले थाम्छ बींडो
पिजाले गिजा सुन्निएला भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
न जाँतो न ढिक्की न लिप्ने न पोत्ने
पटक्कै त्यहाँ गर्नु पर्दैन रे’छ
बुहारीहरू बिग्रलान् पो भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
अहा श्वान त्याहाँ बडो भाग्यमानी
सधैं गोरिनीसाथ बित्ने जवानी
दुधे बाल कोक्रो कठै रुङ्छ राती
सदा बोतलै मात्र उस्को छ साथी ।
बिछट्टै त्यहाँ श्वानको हुन्छ मान
यहाँ झैं छि भन्ने हुँदैहुन्न जान
डलर् तिर्नु पर्ला कि आच्चे भनेर
छिटै फर्किआएँ युएस्ए पुगेर ।
त्यहाँ एक लोग्ने प्रथा लागु छैन
चितायो बितायो कसैले छुँदैन
मलाई त्यही रोग सर्ला भनेर
छिटै फर्किआएँ युएस्ए पुगेर ।
म छक्कै परें, ओठ चुम्छन् चरीले
कटाक्षै गरी वाण हान्छन् परीले
बुढो व्यास आफू नबन्ने भएर
छिटै फर्किआएँ युएस्ए पुगेर ।
यता हेर्छु जोरै ढकुर् छन् घुमेका
उता हेर्छु त्यस्तै चखेबा चुमेका
म एक्लो परेबा बिजोडी भएर
नसक्ने भएँ बस्न, आएँ फिरेर ।
नयाँ माल हेरेर चाखेर किन्छन्
छिटै वाक्क मानेर मिल्काइदिन्छन्
पुरानै बरू टिक्छ धेरै भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यता वस्तु पाल्ने कुरा रे’छ गाह्रो
थलामा सधैं लाजमर्ने चटारो
सधैं कोरली उल्टिंदो मात्र रे’छ
त्यसैले त फर्कें म आफ्नै स्वदेश ।
बतासे फुलैबाट निस्कन्छ चल्ला
त्यसैको त्यहाँ हुन्छ हल्ला र खल्ला
न ता पर्छ कोरल्न ओथ्रा बसेर
त्यसैले म फर्कें युएस्ए पुगेर ।
असाध्यै त्यहाँ वस्तु छाडा रहेछन्
खुलेआम बाली त खाँदा रहेछन्
यतै जोगिएला कि बाली भनेर
म फर्केर आएँ युएस्ए पुगेर ।
त्यहाँ कोरलीका छ मासे बहर् छन्
बिना रोक चर्ने सबैका रहर् छन्
म नामर्द चर्नै नसक्ने भएर
छिटै फर्किआएँ युएस्ए पुगेर ।
डलर्मा पनि श्रीमती साट्न मिल्छ
जथाभावी गाला त्यहाँ चाट्न मिल्छ
कतिन्जेल बसूँ बन्द आँखा गरेर
भनी फर्किआएँ युएस्ए पुगेर ।
नपुग्ने सधैँ किन्न चोलो र साडी
त्यसैले त्यहाँ किन्नुपर्ने कवाडी
नयाँ किन्न सक्ने हुती शून्य रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
कतै देख्छु नारी लँगौटी कसेका
कतै कट्टु मात्रै लगाई बसेका
धनी देश भन्ने कुरै मात्र रे’छ
म फर्केर आएँ त्यसैले स्वदेश ।
झापा