साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुक्तकबारे पोखरा घोषणापत्र जारी

Nepal Telecom ad

काठमाडौंँ, २० माघ । नेपाली साहित्यमा लोकप्रिय रहँदै आएको मुक्तकको विकास र विस्तारका लागि पोखरा घोषणापत्र जारी गर्दै तीनदिने बृहत् मुक्तक कार्यशाला पोखराको नदीपुरमा सम्पन्न भएको छ ।
नेपाल मुक्तक प्रतिष्ठान आयोजक तथा मुक्तक मञ्च पोखरा सहआयोजक रहेको सो कार्यशालाद्वारा जारी घोषणापत्रमा चार पङ्क्तिको मुक्तकलाई मानक मुक्तक शैली मान्ने, हाइकु, तान्का आदि कविताका लघुत्तम रुपलाई मुक्तकको वर्गीकरणमा समावेश नगर्ने, यसको विकास र विस्तारका लागि संस्थागत प्रयास निरन्तर जारी राख्ने लगायत प्रतिबद्धता समावेश गरिएका छन् ।
मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा आयोजित कार्यशालामा डा. लक्ष्मणप्रसाद गौतमले मुक्तकका विविध पक्ष विश्लेषण गरिएको कार्यपत्रमाथि मुक्तक विषयमै विद्यावारिधि गर्नुभएका डा. मुरारी पराजुलीले टिप्पणी गर्दै अर्थ र आशय पूर्ण रहेको छ भने चार पङ्क्तिभन्दा कमको लघुतम काव्यलाई पनि मुक्तकका रुपमा स्विकार्न सकिने विचार व्यक्त गर्नुभयो ।
कार्यशालामा सहभागीलाई चार समूहमा विभाजन गरी मुक्तकबारे सुझाव लिइएको थियो । मुक्तक स्रष्टाका रुपमा समेत सुपरिचित रत्नशम्शेर थापा, चेतन कार्की, राजेन्द्र थापा, सरुभक्त, घनश्याम परिश्रमी, विष्णुबहादुर सिंह, नवराज कार्की, रमेश पौडेल आदिको सक्रिय सहभागिता रहेको सो कार्यशालामा विभिन्न जिल्लाबाट आएका मुक्तकप्रेमी सहभागी हुनुुहुन्थ्यो ।
घोषणापत्र जारी गर्नुअघि विभिन्न स्रष्टाले आफ्ना मुक्तक वाचन पनि गर्नु भएको थियो । नेपाली साहित्यमा भीमदर्शन रोका, हरिभक्त कटुवाल, शङ्र लामिछाने, भूपी शेरचन आदिका मुक्तक विशेष चर्चित छन् भने हिन्दीमा महादेवी वर्मा, हरिवंश राय बच्चनका मुक्तकलाई उत्कृष्ट मानिन्छ ।
अक्सर चार पङ्क्तिमै वा न्यूनतम दुईदेखि अधिकतम सात पङ्क्तिसम्ममा रोचक र प्रभावकारी अभिव्यक्ति दिन सक्षम लघुत्तम काव्यात्मक रचनालाई मुक्तकका रुपमा चिनिने गरिन्छ ।
–रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x