सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अँजुलीमा एक पित्को आगो, दुई थान अरिमट्ठे तिघ्राहरू

फास्नर क्यार्र तान्दै उसले भन्यो- “स्वर्गबाट चोरेर ल्याएको आगाको फिलिङ्गोमा सु निगाह बक्स गर्ने म पहिला महानायक हुँ ।”

Nepal Telecom ad

धरतीका सम्पूणर् मान्छेहरूले भने- “हामीसँग आगो छैन अब के गर्ने ?” आगो जीवनको आधार हो । गाउँ, सहर र बस्तीहरू निन्याउरा र अँध्यारा भए । मानिसहरू काँचो पिँडालुको कोक्याइ मार्न काँचो कोदाको फाँको हाल्न थाले । बच्चादेखि बूढाबूढीसम्म रुन र कराउन थाले । आगाको अभावमा अँध्याराले ग्वाम्लाङ्ग गाँजेपछि हत्या, बलात्कार, डकैती, चोरी र बर्मलुटका अनगिन्ती घटनाहरू घटे । यो अवस्था खप्न नसकी एक दिन सम्पूणर् सहर र बस्तीका मान्छेहरू एक ठाउँ उभिएर जुक्तिबुद्धि खियाउन थाले । भीडबाट एउटा नायक निस्कियो । उसले आफ्नो परिचय दिँदै भन्यो- “म कञ्चनजङ्घा हिमालको फेदी याम्फुदिन बस्ने प्रमिथस हुँ ।” उसले हात उठायो र सबैलाई आश्वस्त पार्दै भन्यो- “तपाइँंहरू निश्चिन्त हुनुहोस् । म स्वर्गबाट आगो ल्याइछाड्छु । बीचमा कसैले प्वाक्क बोल्यो- “के यो सम्भव छ ?” प्रमिथसले घाँटीसम्म झरेको कालो कपाल झट्कार्दै भन्यो- “म अविदितको यात्री हुँ, असम्भव भन्ने कुराको बैरी ।”

नभन्दै संसारबाट हराएको केही वसन्तपछि आगाको सानो फिलिङ्गो अँजुलीमा झिलिल्ल पार्दै प्रमिथस पृथ्वीमा आयो, दोर्जे हिमालजस्तो नझुक्ने शिर लिएर बरा ! उसले त्यो आगाको फिलुङ्गो स्वर्गबाट चोरेर ल्याएछ- जीवनलाई जोखिममा साँटेर ।

त्यसपछि मानिसको अनुहारमा शीतको निखार पाएको घिऊकेवराको फूल फुल्यो । सबैले एक स्वरले भने – “हाम्रो सपना पूरा हुने भो ।” हर्कले बुर्कुसी मार्दै जनसागर कुँडुलो परेर प्रमिथसको फिलिङ्गो फुः फुः गर्दै फुक्न थाल्यो । फिलिङ्गो के पुत्पुताउन लागेको थियो । एउटा कोही लाठेले हत्तपत्त हनुमान जाँघे कट्टुु खोल्यो र छ्वाल्ल सु गर्‍यो । यसलाई सु निगाह बक्स भो भने पनि फरक पर्दैन । आगाको फिलिङ्गो भासभुस निभेपछि किच्च हाँसेर हनुमानजाँघे कट्टुको फास्नर क्यार्र तान्दै उसले भन्यो- “स्वर्गबाट चोरेर ल्याएको आगाको फिलिङ्गोमा सु निगाह बक्स गर्ने म पहिला महानायक हुँ ।”

अर्कोपल्ट लोमान्थाङतिरको प्रमिथसले स्वर्गबाट फेरि आगो चोरेर ल्यायो । आगाको झिलिक्क उज्यालो देख्नासाथ एक्कासि कतैबाट दुई थान बटारिएका तिघ्रा टुप्लुक्क देखा परे । फेरि जाँघेको फस्नर ख्वार्र खुल्यो सु अर्थात् लघुशङ्का बिसर्जनको महान् कार्य सुसम्पन्न भयो । यसरी बहादुर प्रमिथसले पटक-पटक स्वर्गबाट आगो चोरेर हाम्रो धरतीमा ल्याए, हरितन्नम रैती दुनियाँले बालेर आफ्ना सपना पूरा गर्न खोजे । तर, जब फिलिङ्गो झुलुल्ल बल्न खोज्छ, एक्कासि कहीँबाट दुई थान तिघ्रा आउँछन् र छ्वाल्ल लघुशङ्का सम्पन्न हुन्छ । कसै कसैले यस्तो निगाह बक्स भएकोमा चरणकमलमा भक्ति र कृतज्ञता पनि टक्याउँछन् ।

यसपल्ट पनि लालीगुराँस ढकमक्क फुल्यो वनैभरि, मनैभरि । स्वर्गको आगो चोर्न अविदितको यात्रामा हिँडिरहेछ । मेरो देशका सबभन्दा सुन्दर र सबभन्दा बहादुर मान्छेहरू अँजुलीमा एक पित्को आगाको झिल्को बोकेर ती अवश्य भोल्टेयरको पाइला टेक्दै यस धरतीमा आउनेछन् । यसपल्ट दुई थान डाइनोसर तिघ्राहरूलाई फास्नर खोल्न नपाउँदै डाँडो कटाउनुपर्छ । हामीलाई लघुशङ्का निगाह बक्सप्रति कृतज्ञ हुनु पनि छैन । यसपल्ट पनि त्यसले आगाको फिलिङ्गामा सु गर्न भ्यायो भने हाम्रो शान्ति र प्रगतिमा लोदर लाग्छ । त्यसकारण एक स्वरले खबरदारीको नारा लगाऔँ । प्रमिथसको आगाको फिलिङ्गोमा सु गर्ने चोर, खबरदार देश नछोड् !

प्रहरी तालिम केन्द्र, महाराजगञ्ज
३/१/०६३
(‘फित्कौली’ अङ्क ९, २०६३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नयाँ वर्ष

नयाँ वर्ष

भूपी शेरचन
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
ए मान्छे !

ए मान्छे !

वासुदेव लुइँटेल