साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लबस्तराको ओखती

आज दुनियाँमा जति छन् सब लबस्तरा छन् । समस्या छ एउटै- यसको ओखती छैन । सबको ओखती छ, लबस्तराको ओखती छैन ।

Nepal Telecom ad

झेल-झगडा र झन्झट-झमेलाको कारणमा कोही हातहतियारलाई दोष दिन्छन्, कोही भात-भतियारलाई । कोही साँध-संधियारलाई गाली गर्छन्, कोही ऐन-इस्तिहारलाई । कोही समाज-नमाज र पुरान-कुरानलाई धारे हात लाउँछन्, कोही भने धन र जहान भाग्य र भगवानलाई । तर दिन दुना रात चौगुनाका हिसाबले भदौका भटमासबारीमा झुसिल्कीरा बढेझैँ विश्वमा कुल्सिदै झुल्सिदै गएको झेल-झगडा र भन्झट-झमेलाको टुपी कारणचाहिं के हो कसैलाई पत्तो छैन । हुन त मेरो कुरालाई चुरोटको पूजा उडाएझैँ फुस्स उडाइदिनुहोला तपाईंहरू । तर वास्तवमा म किरिया खाएर भन्छु- यी सबको कारण एउटा रोग छ । अचम्मको रोग- टी.बी. र क्यान्सरजस्तो मामुली रोग होइन । ‘घटघटवासी हे अविनाशी’ भनी पुकारिने भगवानजस्तो सबैका घटघटमा व्यापक एउटै रोग, जसलाई आजसम्मन् न एलोप्याथीले खुट्टयाउन सक्यो न होमियोप्याथीले, न वैद्यका प्याङपाथीले झार्न सके न धामी-झाँक्रीका मानुपाथीले । साँच्ची नै, यस फेटका धन्वन्तरि बूढादेखि लिएर उस फेटमा नाडुलाजत्रा हेडकभर लाउने बडेबडे वैज्ञानिकको गिदीमा समेत घुस्न नसकेको यो सङ्क्रामक रोग के हो त ?

झर्रो नेपालीमा यसलाई कुन्नि के भन्छन् मलाई थाहा छैन । तर टर्रो नेपालीमा भने यस रोगको नाम छ- तबस्तऱ्याइँ । यो न आयु घटाउने रोग हो, न वायु बढाउने । न पाउ सुन्याउने रोग हो, न घाउ लगाउने । अचम्म त के छ भने लवस्तऱ्याइँको रोगले रोगीको केही खती हुन्न, हद भए नाम जाला । तर रोगीसित सङ्गत गर्नेजति सबैलाई यसले सताउँछ । चरक सुश्रुतहरूले जानेको भए यसको लक्षण यसरी बताउँथे होलान्-

“लाज नास्ति, घिन नास्ति, नास्ति नैतिकता अपि
कामे एक, मुखे एक लबस्तर्याइँति स्मृतम् ।
यो भलाद्मी शिक्षितश्च धनवान् यश्च शक्तिवान्
ते सर्वे पीडिताः सन्ति लबस्तर्याणा सदा ।“

हुन पनि समाजका सभ्य, शिक्षित, शिष्ट, सुशील, सम्पन्न, सामन्त, सरदार, साहू, साधु, सरकारी, सरोकारी, साहेव, सर, श्रीमानजी यी वर्गमा जति लबस्तऱ्याइँले सताएको हुन्छ त्यति गरिब, गुरुवा, गाउँले, गँवार, गाइने, गैमडू इत्यादि सबैले हेपेको वर्गमा हुँदैन । तर अपसोच त यहाँ यही छ लबस्तऱ्याईं लाग्छ धनीमा, दुःख पाउने हुन्छ गरिब, लबस्तऱ्याईं लाग्छ बलियामा, दुःख पाउँछन् निर्धाहरू ।

अस्ति भर्खरको कुरा हो, हामी दुई-तीन जना साथी सर्वोत्तम रेस्टुराँमा चिया खान गएका थियौं । ढोकाबाट पस्नेवित्तिकै देखियो, त्यहाँ एउटै सिट खाली रहेनछ । मेचमेचमा टनाटन बसेर दनादन खाजा खाइरहेका सज्जन सज्जनीहरूलाई देख्दा मलाई लाग्यो- नेपाललाई पुगीसरी आउँदो रूपमा हेर्न रहर लाग्यो भने होटल, बार र सिनेमालय गए हुन्छ । जताततै हाउसफूल, कतै ह्वाइट हर्सको सुवास, कतै चाउचाउको बास, कतै पुतलीहरूसंँगको सहवास । यति भएर पनि हाम्रो नेपाललाई गरिब, असभ्य भनेर कोही नाक खुम्च्याउँछन् भने तिनको दिमागको औषधि गर्न पारसको बारमा लगेर सारसको सुरुवा ख्वाइदिनुपर्छ ।

अँ, बल्लबल्ल हामी पनि खान बस्यौं, आफ्नो पैन्ट, टाईको इज्जत राख्न भ्याउने गरी खाएर आखिर सभ्यताबमोजिम चुरोटको सर्कोसितको चियाको तुर्को लिन थाल्यौँ । त्यसै बीच हाम्रा एक साथीले अन्तर्राष्ट्रिय कुरा झिके “त्यही अमेरिका एकातिर हातहतियारमाथि प्रतिबन्ध लगाउनुपर्छ भनेर न्वारनदेखिको बल भिकीझिकी चिच्च्याउँदै छ, त्यही अमेरिका अर्कोतिर परीक्षण गरेको भनी दिनको दुई पटक बम पड्काउँदै छ, अब यो लबस्तऱ्याईंको ओखती के ?” उनको कुरोको चुरो मार्ने गरी अर्कोले भन्यो- “अरूलाई भूसजति नगन्ने तिम्रा रूस मामाको भूस उम्रेको लबस्तयाईं कसले देखोस् नि ! एउटा मामुली कारिन्दाले अनुशासन भङ्ग गर्‍यो भने यमपुरी- रेलवेको टिकट काट्नुपर्छ, तर उहींका सन्त महाराज दुनियाँको बडा पञ्चायतमा गएर जुत्ता फुकालेर टेबिल ठटाउँछन् ।” अर्को साथीले उनीहरूको चर्को कुरालाई काट्तै भने- “दुनियामा आज सबभन्दा बलिया नै लबस्तऱ्याइँका रोगी छन् । मुखले भन्छन् शान्ति, कामले पड्काउँछन् बम । यदि यी र यिनका पुच्छरहरूलाई लबस्तऱ्याईं नलाग्दो हो त बर्लिन, कङ्गो, अल्जेरिया, लाओस इत्यादि ठाउँमा रगतको मूल फुट्दैनथ्यो, भयो ?” उनका कुरामा म पच्चीसै आना सहमत भएर उठ्ने प्रस्ताव गरेँ ।

हामी सबैको अगाडि तीन रुपियाँको बिल लिएर केटो खड़ा थियो । पारिसके मुन्टो इमानसिंह सुप चपाउँदै अघि लागिहाले, धर्मदास चरोट सल्काउने निहुले निहुरेको ठ्याम्मै चार मिनेटको समय र चौधोटा सलाई खतम कुरा उठाउने होइनन् । आफूसित थियो एक सुकी मात्र । पाँच मिनेटको अलमलपछि मैले भन्नै पर्‍यो- “मसित पैसा छैन” भनेर । उनले पनि अङ्ग्रेजीमा उही दोहोऱ्याए । कत्रो आपत् ! तै केटोसित उनले सानोसानो मित्रता गरेर मात्र, नत्र । बाहिर निस्केपछि मैले बिस्तारै भनें- “हेर यत्रो हाउसमा सम्मिलित भलादमीहरूको लबस्तर्‍याईं ?” मेरो साथी भने होटल ब्वाइलाई फस्ल्याङफुस्लुङ पार्न सकिएको कुरामा मक्ख पर्दै गए । भलै, हाम्रो लबस्तर्‍याईं रूस र अमेरिकाको जस्तो नहोस्, आखिर लबस्तऱ्याइँ हुँदै होइन भनेर डब्बल लबस्तऱ्याईं व्यथै किन देखाउनु ?

भोलिपल्टदेखि त्यस होटलमा खुट्टै नहाल्ने सुर थियो, तर… । एक पटक चोरीमा पटके लागिसकेको चोरलाई फेरि चोरको बात लाग्ला भन्ने केको डर ? लबस्तऱ्याइँको श्रीगणेश एक पटक भइसकेपछि ऊ जीवनभर लबस्तरो हुन लाज मान्दैन भन्ने कुरा मलाई त्यतिखेर पक्का लाग्यो, जब उही होटलमा उही केटोसित पर्सिपल्टै आमलेट माग्न पुग्नुपर्‍यो ।

यस्ता लबस्तराहरू हामी फोर्थ क्लासका भलादमीहरूमध्ये सबै नै छन् भनिदिए बात लागोइन । कसैलाई पुस्तकालयबाट लगेका पुस्तक फर्काउन बिर्सने बानी लागेको हुन्छ, कसैलाई उधारो खाएको पैसा तिर्न बिर्सने बानी । कसैलाई ’साथीको माल खल्तीमा हाल’ भन्ने बानी बसेको हुन्छ त कसैलाई सरकारी धन आफ्नै भन’ भन्ने बानी । कोही ’एक पटकको घच्चा, प्यार भयो सच्चा’ भन्ने विश्वासका हुन्छन् भने कोही फुटपाथमा उभिएर ’दिलका पर्दा खोलदो’ भन्ने गीतमा मग्न हुने हुन्छन् । लबस्तर्‍याइँको प्रथम स्तर (फस्ट स्टेज) यहीँदेखि सुरु हुन्छ र टी.बी.को विकास भएकै क्रमिक गतिले स्टेज चढ्दै जान्छ । फरक यत्ति हो कि टी.बी. मा रगत सुक्तै जान्छ, लबस्तऱ्याईंमा लाज फुक्तै जान्छ ।

लबस्तऱ्याईंको दोस्रो स्तरको चर्चा गर्न लाग्दा मलाई भवाट्ट उनै त्रिकाली ब्रह्मचारीको सम्झना हुन्छ । उनको दुर्वासाको जस्तो दाह्री, अगस्तिको जस्तो त्रिपुण्डुक, वामनको जस्तो धोती, अनि कामदेवको जस्तो आँखा देख्ता
उनलाई आधुनिक ऋषि नै भनिदिए हुन्थ्यो भने बिहानभरको पाठपूजा. एक छाक भुजा र तीन तालिको नुहाइधुवाइको नित्यकर्म सुन्दा उनीलाई नढोग्ने त कोही थिएन । त्यसैले बृहत्सभामा पनि उनी सभासद हुन पुगेका थिए । पोहोरका वर्ष एक दिन सभामा ब्रह्मचर्यबारे उनको गम्भीर भाषण चल्दै थियो, अकस्मात् एउटी अधवैसे महिला कताकताबाट भगवती प्रकट भए झैं प्रकट भइन् र ब्रह्मचारी महाराजको साँढेको पुच्छरजत्रो टुपीमा समातिन् । “तिमीलाई लवस्तरा बाहुन । मलाई त मार्‍यौ मार्‍यौ, यो प्यूसालाई पनि मार्छौ ?” भन्दै महिलाले आफ्नो पिठ्यूँको बालक ब्रह्मचारी महाराजको माइक राखेको टेबिलमा सुताइदिइन् । सबै सभासद्हरू मुखामुख गर्न थाले । प्रवचन भोलिसम्मको लागि स्थगित भयो । त्यसपछि हामीजस्ता लखरे श्रोता सारालाई पुलिसदाइले लघारिहाल्यो, कहाँ केके भो पत्तै भएन । भोलिपल्ट आफू जाँदा त ब्रह्मचारीजी झन् जोडतोडका साथ ब्रह्मचर्यको व्याख्या गरिरहेका रहेछन् । यसबाट प्रस्ट हुन्छ जब लबस्तर्‍याईं दोस्रो स्टेजमा पुग्छ, तब भलादमीको व्यक्तित्व दुइटा हुन्छ- एउटा राख्ने, एउटा फार्ने ।

बडेबडे जुँघावाल सुब्बा, सरदार, सेकेटरीहरू आफूभन्दा मुनिका बहिदार, मुखियालाई एउटा चुरोट खाएको देखे भ्रष्टाचार लगाइदिन्छन्, आफू सित्तैं पाए भने तीन पाथी चूक अमिलो पनि तन्काउन बेर लाउन्नन् । कर्मचारीको कर्तव्यबारे बोल्नुपर्‍यो भने स्वामी विवेकानन्दलाई बिर्साएर सत्य र सादगीको व्याख्या गर्छन् तर ऐनको एउटै दफालाई मुख हेरेर अर्थ लगाउने यस्ता महानुभावहरूलाई मुखले के भन्दैछु, कामले के गर्दैछु भन्ने कुराको पत्तै हुँदैन । धोक्रो ओसार्दाओसार्दा बाँसको बोक्राको कोक्रामा कुर्मुरिंदा पनि यस्तालाई एक चखेन्ची लाज लाग्दैन भनी मलाई यस्तैमध्येका एक जना स्वर्गीय सुब्बाले बताएका थिए । यिनका अतिरिक्त दोस्रो स्टेजका लबस्तराहरू मैले छ्यासछ्यासती नै देखेको छु । एक जना प्रोफेसर रातभर खेलबाडमा मग्न हुन्छन्, बिहान स्वास्नी ठटाउन घर आइपुग्छन् । दाउ हेरी भाउ गर्ने साहू-महाजनको त कुरै छाडूँ, उनका एक-एक कुरामा र काममा लबस्तर्‍याईंका कीटाणुहरू कोदोको जाँडमा परेका कीराजस्तै ठसठसी गनाएर चलमलाइरहेका हुन् कि भन्ने जस्तो लाग्छ ।

अं, जब लवस्तऱ्याइँले दोस्रो स्टेज पनि पार गर्छ, तब रोगीमा लाजको लेसै हुँदैन । एउटै व्यक्तिका बाह्र रूप हुन्छन् । अहिले कालोबजार गर्दै रहेको मान्छे एकछिनपछि भाषण छाँटिरहेको हुन्छ । उही एकछिनपछि साम्यवादको गुरु हूँ कि भने आर्थिक समानताको उपदेश दिन्छ । उसैलाई घरमा हेर्न जानू, ‘म जमिनदार हुँ बुझिस् भनी रैतीको टाउकोमा नोल बजारिरहेको देखिन्छ । बोलेको बिर्सने बानी त छँदै छ । हामी कुनै नेतालाई नै लिऊँ, आफ्नो अगाडि ‘माननीय’ नलागुन्जेल उनीहरू यति गुड्डी हाँक्छन्, मानौ यिनले काम गर्न पाए त माटोलाई मह गराइदिन्थे, ढुङ्गोलाई सुन । तर जब माननीयको पदले विभूषित हुन्छन्, तब दाउरा बाल्न पाइएन भनेर कराउँदा ‘रूख रोप्नुपर्छ’ भन्ने जबाफ पाइन्छ । आज फाटेको पतलुङ लाएर केरुङको भन्ज्याङतिर भेडा च्याङ्ग्रा ब्ल्याकमार्केट गर्न जाने मान्छे कुनै त्यस्तै माननीयको शब्द गाँस्न पायो भने भोलिपल्टदेखि आफ्नो मुखमा ७७ हातको सुँड गाँसिएको हो कि भनेझैँ गजधम्म भई फुल्छ । सिद्धान्त र नैतिकता भन्ने कुरा उसको निम्ति गहतको झोलको पूजाजति पनि मूल्यवान् हुँदैनन् । लबस्तऱ्याइँको प्रकोपले गर्दा उसलाई भर्खर के बोलेको थिएँ भन्ने यादै रहँदैन । ‘तपाईले यसो गरिदिन्छु भन्नुभएको थियो नि त’ भनेर सम्झायो भने मैले कहाँ भनेको थिएँ र’ भनी सके न्यायालयमा नालिस दिन जालान् ।

एवंक्रमले विकसित हुँदाहुँदै लबस्तऱ्याइँ जब चौथो स्टेजमा पुग्छ, मानिस मानिस नरहेर पशु बन्दछ । उसका सारा क्रियाकलाप मानवतादेखि बाहिर पुग्छन् । मुखमा सबैको हुन्छ- सत्यता, समता, सहअस्तित्व, सहयोग, सद्भावना, सहकारिता, तर काममा पच्चीसै आना ठीक त्यसको विपरीत सबैमा हुन्छ- जुधाजुध, रिसारिस, हानाहान, मिचामिच, थिचाथिच, किचाकिच, कुटाकुट, चुटाचुट ।

आजको सभ्यताको चरमचुलीमा पुगेको दुनियाँमा हेर्नोस् जताततै यस्तै छ । मैं हुँ भन्ने महानमहान् भुँडे र टाउके शक्तिको तन, मन, धन जम्मैमा लबस्तर्‍याईका कीटाणुहरू थुप्रेका छन् । कसैले कसैलाई पुच्छर बनाएका छन्, कसैले कसैलाई सिङ । मान्छेका बुद्धि र सीप, सभ्यता र विकास सारा कुरा केवल झेल-झगडा र झन्झट झमेलाको अभिवृद्धि गर्नमा मात्रै उपयोग हुन पुगेका छन् । करवीर मसानमा जस्तै आजको दुनियाँमा कतै क्याक्याँ रुवाबासी छ, कतै भ्याँभ्याँ बाजा बजेको छ । कति ङ्याउङ्याउ गरेर शान्ति माग्दै छन्, कति ढ्याम्ढ्याम् गरेर बम पड्काइदिन्छन् ।

ल भन्नोस्, अब झेल-झगडा र झन्झट-झमेलाको कारण लबस्तऱ्याई नभए के हो ? मैले माथि नै भनिहालेँ नि, म किरिया खाएर भन्न सक्छु यी सबैको कारण लबस्तर्याईको रोग हो । आज दुनियाँमा जति छन् सब लबस्तरा छन् । समस्या छ एउटै- यसको ओखती छैन । सबको ओखती छ, लबस्तराको ओखती छैन । त्यसकारण आज निरस्त्रीकरण सम्मेलन गर्नुभन्दा पहिले लबस्तर्याई उन्मूलन सम्मेलन गर्नुपरेको छ । अन्तरिक्षको अन्वेषण गर्नुभन्दा पहिले लबस्तराको ओखतीको अन्वेषण गर्नुपरेको छ । त्यसैले सम्पूणर् अणुशक्ति, सम्पूणर् धनशक्ति र जनशक्तिलाई लबस्तराको ओखती पत्ता लगाउने काममा उपयोग गर्नु बीसौं शताब्दीको जेठो माग हो भन्ने विचार छ । तपाई आफू लबस्तरो हुनुहुन्न भने भन्नोस् तपाईलाई कस्तो लाग्छ ?

‘काउकुति’ (२०१९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हराम पाँडे हजुर

हराम पाँडे हजुर

भैरव अर्याल
वेदजात्रा

वेदजात्रा

भैरव अर्याल
साँढे

साँढे

भैरव अर्याल
कन्याकेटी खोज्दा

कन्याकेटी खोज्दा

भैरव अर्याल
ककटेल नेपाल

ककटेल नेपाल

चूडामणि खनाल
गुडबाई वासुदेव दाइ !

गुडबाई वासुदेव दाइ !

राजेन्द्र सुवेदी
मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए...

हरिभक्त कटुवाल
0
Would love your thoughts, please comment.x
()
x