सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘नैकापे काका’ को त्यो चलन थाहा थिएन

सार्वजनिक समारोहहरूमा सम्मिलित नहुने उहाँको बानी रहेछ । झण्डावाल र डण्डावालदेखि टाढा रहने काकाको जीवन-शैली, बोलीचाली र व्यवहार साँच्चै अद्भूत थियो ।

Nepal Telecom ad

‘नैकापे काका’ (वासुदेव शर्मा लुइटेल) बहुआयामिक व्यक्तित्व हुनहुन्थ्यो । उहाँका कुरा हास्य-व्यङ्ग्यात्मक, उट्पटयाङ जस्ता लागे पनि ती ओजपूर्ण एवम् मार्मिक हुन्थे, उपदेशात्मक ठहरिन्थे । उहाँका विलक्षण प्रतिभा र तीक्ष्ण बुद्धिबाट प्रभावित हुनेहरूमा म पनि पर्दछु ।

माडसाप आफू जन्मेको यो भेगमा काँठेप्रति विशेष स्नेहभाव राख्नुहुन्थ्यो । मलाई ‘मच्छेगाउँले’ वा ‘खत्री काजी’ भन्दै अर्ती दिनुहुन्थ्यो । लेखक, साहित्यकारलाई प्रोत्साहन गर्नु उहाँको प्रथम धर्म थियो । किताव प्रकाशन गरिदिएर, किताब किनेर निःशुल्क वितरण गरी सहयोग गर्ने गरेको उदारता बिर्सन सकिँदैन । उहाँबाट प्रशस्त सिक्ने र जान्ने अवसर पाउँदा त्यसलाई सदुपयोग गर्न नसकेकोमा थकथक लागेको छ ।

काकाको अगुवाइमा २०२३ सालमा कौवा प्रकाशन स्थापना भयो । त्यसपछि २०५० सालसम्म अन्य सातवटा प्रकाशनको हर्ताकर्ता बन्नुभयो । मैले २०२१ सालदेखि हास्यव्यङ्ग्य विधामा ‘औतारे’, रे, खत्री, धृतराष्ट्र नामबाट लेख्ने गरेको कुरा काकालाई अवगत थियो । त्यसैले, उहाँले मेरो रचनाको सङ्कलन प्रकाशन गरिदिने कुरा गर्नुभएको थियो । तर आफ्नै अल्छ्याइँले भनौँ वा योग्य नठानेर कितावको रूपमा प्रकाशनमा ल्ःयाइनँ ।

कौवा प्रकाशनले २०२५ सालमा धेरै कविहरूका हास्यव्यङ्गात्मक कविताहरूको सङ्कलन ‘छ्याकन’ (खेस्रा संस्करण) प्रकाशनमा ल्याएको थियो । त्यसमा उहाँलगायत केही कविका धेरै कविता समावेश गरिएका तर केही कवि छुटेको देखेकोले प्रतिनिधिमूलक भएन भन्ने प्रतिक्रिया उहाँलाई व्यक्त गरेको थिएँ । आगामी संस्करण सुधार गरिने र त्यसमा ‘प्रतिध्वनि’ (पाक्षिक) को २०२४ बैशाख दोस्रो पक्षमा प्रकाशित मेरो ‘कलियुगीप्रार्थना’ शीर्षकको कविता पनि राख्नुपर्ला भन्नुभएको थियो । पछि के भयो, सोधखोज गरिनँ ।

नैकापे काकाले स्थापित गर्नुभएका छात्रवृत्ति, विद्यावृत्ति आदि कीर्तिका लहरमा वासुदेव लुइँटेल पुरस्कार उल्लेखनीय छ । वासुदेव-विद्यादेव लुइँटेल गुठीको नाममा २०५० सालमा दर्ता भएको गुठीले २०५१ सालदेखि नेपाली व्यङ्ग्य साहित्य, नेपाली व्यङ्ग्य चित्र र नेपाली व्यङ्ग्य श्रव्य-दृश्य विधामा पालैपालो प्रत्येक वर्ष एक लाख एक रुपियाँको पुरस्कार प्रदान गर्दै आएको प्रशंसनीय छ । व्यङ्ग्यमहर्षि वासुदेवको इच्छाअनुसार उक्त पुरस्कारा कार्टुन विधाबाट थालनी गरियो र २०५१ को पुरस्कार पहिलो पटक कार्टुनिष्ट बलराम थापालाई दिइयो ।

उक्त पुरस्कार हस्तान्तरणको कार्यक्रम २०५२ साल भदौ २३ गते राष्ट्रिय सभागृहमा आयोजना गरिएको थियो । यो दिन वासुदेव लुइँटेलको जन्मदिन हो । उहाँको जन्म १९७४ साल भदौ २३ गते भएको हो । सो पुरस्कार प्रदान समारोहको कार्यक्रममा मलाई पनि निम्त्याइएको थियो । आदरणीय काकाको शुभजन्मोत्सव सम्झेर उहाँप्रति सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको शुभेच्छा प्रकट गर्न बिहान उहाँको निवास नैकाप ढुङ्गाअड्डा पुगेँ । उहाँलाई जन्मदिनको सामान्य उपहार पनि लगेको थिएँँ- कार्ड, एउटा ढाकाटोपी र एकजोर मोजा । शुभकामनापछि उपहार दिँदा उहाँले ‘दान-दक्षिणा नलिने गरेको’ बताउनुभयो । यो दान दक्षिणा नभई सद्भावनापूर्ण उपहार भएको बताएँ । ‘लौ, पहिलो र आखिरी’ भनेर राख्नुभयो । उहाँको यस्तो चलन मलाई थाहा थिएन । अनिच्छापूर्वक लिनु भएको मेरो उपहार के गर्नुभयो होला । उत्सुकता छ ।

उहाँको नामबाट त्यत्रो पुरस्कार प्रदान गरिएको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उहाँ उपस्थित हुनुभएन । उहाँको तस्विरमा रुद्राक्षको माला लगाएर रामनामी अङ्कित कपडा ओढाएर राखिएको थियो । सार्वजनिक समारोहहरूमा सम्मिलित नहुने उहाँको बानी रहेछ । झण्डावाल र डण्डावालदेखि टाढा रहने काकाको जीवन-शैली, बोलीचाली र व्यवहार साँच्चै अद्भूत थियो ।

२०६३ साल भदौ २५ गते ९० वर्षको उमेरमा काकाको देहवसानको खबरबाट स्तब्ध भएँ, मर्माहत भएँ । उहाँको निधनबाट नेपाली हास्यव्यङ्ग्य विधामा अपूरणीय क्षति भएको सोचँे । उहाँका छोरा डा. विद्यादेव शर्मा लुइँटेललाई भदौ २६ गते हार्दिक समवदेना प्रकट गर्न जाँदा शोक-पुस्तिकामा यस्तो लेखेको सम्झन्छु- “नैकापे काकाका कृतिहरूलाई संरक्षण, सम्बद्र्धन र प्रकाशनद्वारा उहाँलाई जीवन्त राख्नु ‘बाँच्नेहरूको कर्तव्य हो ।” के यस्तो कर्तव्य पूरा गर्न हामी तत्पर छौँ त ?

०००
स्युचाटार-४ कलङ्की, काठमाडौँ
२०६३ माघ ५, शुक्रबार
‘फित्कौली’ अङ्क १२, हास्यदेव वासुदेव स्मृति विशेष- २०६३ फागुन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दशैँ दशा भो

दशैँ दशा भो

विदुर केसी
बाटुले घर र पिँडाली बा

बाटुले घर र पिँडाली...

माधव पोखरेल गोज्याङ्ग्रे
पिँडालीलाई यथोचित

पिँडालीलाई यथोचित

डा. तारानाथ शर्मा
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
कोपनहेगनमा “खै खै”

कोपनहेगनमा “खै खै”

डा. अभि सुवेदी